+

शरीरमा आइरनको कमी हुन नदिन के गर्ने ?

२०८१ साउन  १६ गते १२:३२ २०८१ साउन १६ गते १२:३२
शरीरमा आइरनको कमी हुन नदिन के गर्ने ?

आइरन हाम्रो शरीरलाई आवश्यक पोषक तत्त्व हो, जसले शरीरका विभिन्न भागमा अक्सिजन पुर्‍याउन र हेमोग्लोबिन (रातो रक्तकोषिकाहरुमा पाइने एक प्रकारको प्रोटिन) बनाउन मद्दत गर्छ । हेमोग्लोबिनले फोक्सोको माध्यमबाट शरीरका अन्य भागमा अक्सिजन पुर्‍याउने काम गर्छ । तर यदि हाम्रो शरीरमा रगतको कमी भयो भने हामीले धेरै स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुनसक्छ ।

शरीरमा आइरनको कमीका कारण रातो रक्तकोषिकाहरु ठीकसँग बन्न सक्दैनन् । जसकारण मानिसलाई कमजोरी र थकान पनि लाग्न थाल्छ । यति मात्र होइन, यदि आइरनको कमीलाई बेवास्ता गरियो भने यसले गम्भीर समस्या पनि निम्त्याउन सक्छ ।

शरीरमा आइरनको कमी हुँदा देखिने लक्षण

थकान महसुस हुने

पर्याप्त मात्रामा निद्रा पुग्दा पनि थकित वा कमजोर महसुस हुन्छ भने आइरनको कमी भएको हुनसक्छ । आइरनको कमीले हेमोग्लोबिनको स्तर कम हुन थाल्छ, जसकारण शरीरमा अक्सिजनको आपूर्ति ठीकसँग हुन सक्दैन । यही कारणले थकान महसुस हुन्छ । आइरनको कमीले मुटुको धड्कन पनि बढाउन सक्छ ।

टाउको दुख्ने

शरीरमा आइरनको मात्रा कम हुँदा मस्तिष्कमा पर्याप्त मात्रामा अक्सिजन पुग्दैन, जसले गर्दा टाउको दुख्ने र चक्कर लाग्ने समस्या बढ्छ । आइरनको कमीले छिटो उभिएर वा कुनै शारीरिक परिश्रम गर्दा अचानक टाउको दुख्ने आइरनको कमीको लक्षण हो ।

सास फेर्न गाह्रो हुने

आइरनको कमीले रगतमा अक्सिजन बोक्ने क्षमता कम भएकाले धेरैलाई विशेषगरी शारीरिक क्रियाकलाप गर्दा सास फेर्न समस्या हुनसक्छ ।

ध्यान केन्द्रित गर्न गाह्रो हुने

मस्तिष्कलाई राम्रोसँग काम गर्न अक्सिजन चाहिन्छ । कम आइरनको स्तरले संज्ञानात्मक कार्यलाई कमजोर पार्न सक्छ, यसले चीजहरूलाई ध्यान दिन वा सम्झिन गाह्रो बनाउँछ ।

हातखुट्टा चिसो हुने

शरीरमा आइरनको कमीले रक्तसञ्चारमा समस्या ल्याउन सक्छ, जसले हात-खुट्टा चिसो हुनसक्छ । शरीरका यी भागमा अक्सिजनको मात्रा नपुगेको कारण चिसोको अनुभूति हुनसक्छ ।

बच्चामा लक्षण फरक हुनसक्छ

बच्चामा आइरनको कमी भयो भने ध्यान केन्द्रित गर्न नसक्ने, सानो सानो कुरामा पनि झर्किने, पढ्न मन नगर्ने आदि लक्षण देखा पर्छ । साथै उचाइ तथा तौल नबढ्ने जस्ता लक्षण देखिन्छ ।

आइरनको कमी हुनुको कारण

पौष्टिक तत्त्व पर्याप्त नखानु, आइरन खानु तर आन्द्रामा समस्या भएर वा प्रतिरोधात्मक क्षमता कम भएर शरीरले सोस्न नसक्नु, कुनै दुर्घटना वा रोगले अत्यधिक रक्तस्राव हुनु, महिनावारी हुँदा अत्यधिक रक्तस्राव भई रहनुजस्ता कारणले आइरनको कमी हुन जान्छ ।

यस्तै पेटमा जुका पर्दा, पेटमा घाउखटिरा हुँदा, खानेकुरामै पोषणको कमी हुँदा रगतको मात्रा कम हुँदा शरीरमा आइरनको कमी हुन्छ ।

गर्भावस्थाको समयमा त अझ बढी आइरनको कमी हुन्छ, त्यसैकारण त्यस अवधिमा आइरन चक्की खान दिइन्छ । मिर्गौला र क्यान्सरको समस्या हुँदा पनि आइरनको कमी देखिन्छ ।

आइरन कमी हुँदा के खाने ?

हरियो सागपात

पालुङ्गोको साग, ब्रोकाउली, मेथी, सिमी र हरियो केराउ जस्ता गाढा रङ भएका तरकारीहरू आइरनको राम्रो स्रोत हो । हरियो पात भएको तरकारीसँग भिटामिन सी पनि सेवन गर्नु आवश्यक हुन्छ । किनभने भिटामिन सीले आइरनलाई शोषित गर्न सहयोग पुर्‍याउँछ । त्यसैले हरियो पात भएको तरकारीसँग भिटामिन सीयुक्त खाद्य पदार्थ जस्तै सुन्तला, कागती, रातो क्याप्सिकम र स्ट्रबेरीको पनि सेवन गर्नु राम्रो हुन्छ । यसो गर्नाले शरीरले सजिलै आइरन अवशोषित गर्छ ।

रातो मासु

यदि मांसाहारी हुनुहुन्छ भने खानामा रातो मासुलाई समावेश गर्न सकिन्छ । रातो मासु पनि आइरनको सर्वोत्तम स्रोत हो । आफ्नो शरीरलाई स्वस्थ राख्न र आइरनको कमीलाई कम गर्न रातो मासुको सेवन गर्न सकिन्छ ।

चुकन्दर

चुकन्दर पनि आइरनको राम्रो स्रोत हो । जसले शरीरमा रातो रक्तकोषिकाहरुलाई मर्मत गर्न सहयोग गर्छ । चुकन्दरको सेवन गर्नाले हेमोग्लोबिन बढ्छ ।

अण्डा

अण्डाको पहेंलो भागमा धेरै मात्रामा आइरन हुन्छ । यसलाई दैनिक आहारमा समावेश गरेर पनि आइरनको कमीलाई रोक्न सकिन्छ । साथै यसमा प्रोटिन र भिटामिन जस्ता महत्त्वपूर्ण पोषक तत्वहरू पनि हुन्छन् ।

ड्राइफ्रुट

आइरनको कमीले बच्न ड्राइफ्रुटको सेवन पनि गर्न सकिन्छ । खजुर, ओखर, बदाम र किसमिस जस्ता ड्राइफ्रुट्स खान सकिन्छ । बिहान खाली पेटमा भिजेको किसमिस र त्यसको पानी पिउँदा आइरनको कमी हुँदैन ।

कस्तो अवस्थामा अस्पताल जाने ?

आइरनको कमी भएको लक्षण देखिएमा अस्पताल गएर विशेषज्ञ चिकित्सकलाई भेट्नुपर्छ । त्यहाँ सबैभन्दा पहिले हेमोग्लोबिनको स्तरको जाँच गरिन्छ । त्यसपछि आइरनको कमीको लक्षणअनुसार उपचार गरिन्छ ।

सबैभन्दा पहिला त्यसको मुख्य कारण पत्ता लगाइन्छ । उपचारसँगै आइरनको पनि पूर्ति गर्नुपर्छ । आइरनको कमीको मात्रा हेरेर औषधि चलाइन्छ । आइरनको मात्रा ६, ७ छ र बिरामीलाई खासै कमजोरी महसुस भएको छैन भने खाने औषधि दिइन्छ । कसैमा आइरनको मात्रा ४, ५ छ भने नसाबाट आइरन पनि दिन सकिन्छ । त्यस्तै कसैमा रगत नै चढाउनुपर्ने पनि हुनसक्छ । जुकाले हो भने जुका मार्ने औषधि गरिन्छ ।

आइरन पोषक तत्व
डा. अजयकुमार झा
लेखक
डा. अजयकुमार झा
रगत तथा क्यान्सर रोग विशेषज्ञ

डा. झा काठमाडौं बल्खुस्थित बयोधा अस्पतालमा कार्यरत छन् । उनले एमबीबीएस र एमडीका साथै रगत तथा क्यान्सरमा भारतको चण्डीगढबाट डीएम गरेका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३०२१ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय