टाइप-२ मधुमेह भएपछि नियन्त्रण भएन भने एक मात्रै विकल्प रहन्छ । त्यो हो औषधि सेवन । मधुमेहमा औषधि के कस्तो खानुपर्छ भनेर प्रश्न सोधियो भने यसको सूची निकै लामो हुन जान्छ । तीमध्ये दिनहुँ खानुपर्ने एउटा औषधिको नाम लिनुपर्यो भने मधुमेह हुनेहरुको मुखमै झुण्डिने नाम हो, मेटफोर्मिन ।
मेटफोर्मिन मधुमेहको उपचारमा प्रयोग गरिने औषधि हो । शरीरमा ब्लड सुगरको स्तर बढेपछि यो औषधि निरन्तर लिनुपर्ने हुनसक्छ । र, नलिएको खण्डमा मधुमेह अनियन्त्रित भई शरीरका मिर्गौला र मुटु जस्ता अङ्गमा असर पुर्याई ज्यान जाने जोखिम हुनसक्छ ।
त्यसैले मेटफोर्मिन टाइप २ मधुमेह भएकाहरुका लागि अति आवश्यक औषधिको रुपमा लिइन्छ । टाइप वान (वंशाणुगत) मधुमेहमा भने इन्सुलिन (सुईको माध्यमबाट शरीरको ग्लुकोज नियन्त्रण ल्याउने औषधि) दिने गरेमा मात्र मधुमेह नियन्त्रणमा रहन्छ ।
मेटफोर्मिनले शरीरमा कसरी काम गर्छ ?
मेटफोर्मिनले फरक फरक तरिकाले शरीरमा पैदा भएको ब्लड सुगरलाई उच्च हुन दिंदैन । हामीले खाएको खानेकुरा ग्लुकोजमा रूपान्तरण हुन्छ । ग्लुकोजलाई इन्सुलिन नामक हर्मोनले ऊर्जाको रूपमा शरीरका अन्य भागमा लैजान्छ ।
तर मधुमेह भएकाहरूले इन्सुलिनको उत्पादन पर्याप्त मात्रामा गर्न सक्दैनन् । जसकारण शरीरमा ग्लुकोजको मात्रा उच्च हुन्छ । यसलाई होसियारीपूर्वक नियन्त्रण गर्ने काम मेटफोर्मिनले गर्छ । मेटाफोर्मिन औषधिले खानेकुरा र पेय खाएपछि वृद्धि हुने ग्लुकोजलाई सदुपयोग गरी रक्तनलीबाट कोषहरूमा अवशोषित गराउन मद्दत गर्छ । जसकारण ग्लुकोजको मात्रा घट्छ । वयस्क उमेरका मधुमेह भएकालाई यो औषधि र इन्सुलिनसँगै चाहिन सकिन्छ ।
कसरी प्रयोग गर्ने ?
मधुमेह भएपछि यो औषधि अनिवार्य खानुपर्छ । तर घरमा दुई जना मधुमेहका बिरामी छन् भने एउटै औषधि पनि दुवैलाई काम नलाग्न पनि सक्छ । किनकि यसको डोज व्यक्तिगत स्वास्थ्य अवस्था, उमेर, लिङ्ग र सुगरको स्तर अनुसार फरक-फरक हुन जान्छ । जुन चिकित्सकको सल्लाहमा मात्र लिनुपर्छ ।
र, औषधि सुरु गरेपछि चिकित्सकले समय-समयमा फलोअपमा बोलाउन सक्नेछन् । जहाँ सुगरको मात्रा हेरेर औषधिको मात्रा घटबढ हुनसक्छ ।
यो औषधिको मात्रा २५० देखि २ हजार मिलिग्रामसम्म राखिएको हुन्छ । दिनको दुई पटक खाना खाइसकेपछि खानुपर्छ । सामान्यतया मधुमेह स्थिर भएको अवस्थामा ५०० मिलिग्राम चलाइन्छ । अनियन्त्रित भएमा मात्रा बढ्दै जान सक्छ । मधुमेह सन्तुलनमा आएपछि मात्रा पुन: घट्न सक्छ ।
जहाँसम्म औषधिको मूल्यको कुरा छ, यो औषधि सहज र सुलभ छ । मेटफोर्मिनको प्रतिटयाब्लेट दुई रुपैयाँ पर्छ । र, चिकित्सकको सिफारिस पत्र लिएर गएमा सरकारी स्वास्थ्य संस्थामा यो औषधि निःशुल्क रूपमा पाइन्छ ।
सम्भावित साइड–इफेक्ट
यो औषधि मधुमेह भएकाहरूका लागि सुरक्षित छ । तर मेटफोर्मिन प्रयोग गर्दा कतिपयलाई पाचनसम्बन्धी सामान्य साइड-इफेक्ट देखिन सक्छन् ।
जस्तै- पखाला, अपच र पेट दुखाइ । यी लक्षण सामान्यतया औषधिको प्रयोग सुरु गरेको केही हप्तामा सुधार आउँछ । तर यदि छाती पोल्ने, मुटुको धड्कन अनियमित हुने, अत्यधिक टाउको दुखाइ जस्ता गम्भीर समस्या देखिए चिकित्सकलाई तुरुन्त सम्पर्क गर्नुपर्छ । यसको विकल्पमा अन्य औषधि चिकित्सकले सिफारिस सक्छन् ।
यी स्वास्थ्य समस्या भएकाले औषधि खानुअघि सावधानी
मुटु फेल खाएका (कन्जेस्टिभ हार्ट फेलिएर), रक्तअल्पता, कलेजो रोग, हाइपोग्लासियमा (शरीरमा चिनीको मात्रा घटेका), मुटरोग, एलर्जी र मिर्गौला रोग भएकाहरूमा यो औषधि सेवनपछि स्वास्थ्य अवस्था बिग्रिन सक्ने जोखिम हुन्छ ।
त्यसैले चिकित्सकले अनुमति दिएमा मात्र यो औषधि खान सकिन्छ । र, औषधि खान नमिलेको खण्डमा अन्य विकल्प दिन सक्छन् ।
गर्भावस्थामा मेटफर्मिन लिनु कति सुरक्षित ?
गर्भावस्थाको समयमा मधुमेह देखिएमा यसलाई नियन्त्रण गर्न चिकित्सकले यो औषधि सिफारिस गर्न सक्छन् । यो इन्सुलिनको सुरक्षित विकल्प हुनसक्छ तर यसबाट कस्तो प्रभाव छ भनेर जानकारी लिन नियमित जाँच गराउनुपर्छ ।
त्यस्तै, प्रि-डायबिटिज भएकाहरूका लागि पनि मधुमेह हुन नदिन यो औषधि चलाउन सकिन्छ । प्रि-डायबिटिज अर्थात् ब्लड सुगर उच्च भएको तर मधुमेह नभई सकेको अवस्थालाई बुझिन्छ ।
मेटफोर्मिनको इतिहास
कुनै पनि नयाँ आविष्कार जस्तै बजारमा उपलब्ध प्रत्येक औषधिको खोजबारे आफ्नै कथा हुन्छ । मेटफोर्मिनको खोजदेखि प्रयोगसम्म आइपुग्न त्यति सजिलो थिएन ।
यो औषधि गालेगा अफिसिनेलिस बिरुवाको प्रयोग गरी बनाइन्छ । युरोपमा यस बिरुवाको पात धेरैजसो स्वास्थ्य समस्यामा (जस्तै, जुका परेको अवस्था, छारे रोग र ज्वरोमा) प्रयोग हुन्थ्यो । जुन अहिले आएर मधुमेहको औषधि उपचारमा प्रयोग गरिन्छ ।
सन् १९१८ मा सो जडीबुटीमा पाइने तत्व ‘गुआनिडिन’को प्रयोगबाट मधुमेहको उपचार हुनसक्ने सम्भावित कारणको खोजको सुरुवात भयो । सुरुवातमा अध्ययनकर्ताहरुले यो जडीबुटी जनावरमा प्रयोग गरे ।
जनावरमा ग्लुकोजको स्तर घटेको सकारात्मक नतिजा आइसकेपछि सन् १९२० मा सो जडीबुटीमा गालेगाइन र सिन्थेलिन कम्पाउन्ड प्रयोग गरेर औषधि बनाइएको थियो । तर त्यसमा विषाक्त असर देखिएपछि औषधि उत्पादनको काम रोकियो ।
त्यसपछि विषाक्त कम गर्ने लक्ष्यसहित दुई थरीका ‘गुआनिडिन’लाई मिसाएर बाईगुआनिडिन बनाइयो । विभिन्न थरीका बाइगुआनिडिनको जाँचपछि सन् १९९२ मा बल्ल मेटफोर्मिन नाम दिएर मधुमेहको उपचारका लागि प्रभावकारी औषधिको रुपमा प्रयोग गर्न थालियो ।
आविष्कार भएपनि प्रयोगका लागि अनुमतिका लागि निकै समय कुर्नु पर्यो । सो औषधि खोज भएको झण्डै २० वर्षपछि अमेरिकाले यो औषधि चलाउन अनुमति पाएको थियो । सन् २००६ मा फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले औषधि प्रयोग सुरक्षित रहेको बतायो । त्यसलगत्तै यो औषधिको विश्वव्यापी प्रयोग हुन थालेको हो ।
प्रतिक्रिया 4