+
+

छठ पर्वका लागि बाँसका भाँडाकुँडा बनाउन भ्याई नभ्याई   

रासस रासस
२०८१ कात्तिक १३ गते १२:२७
Photo Credit : RSS

१३ कात्तिक, महोत्तरी । छठ पर्व नजिकिँदै गर्दा अहिले महोत्तरीका डोम समुदायलाई बाँसका भाँडाकुँडा बनाउन भ्याई नभ्याई भएको छ । छठमा बाँसका डोको, डालोलगायत सामग्रीको माग बढी आउने भएकाले यहाँका डोम समुदाय व्यस्त छन् ।

गाँस, बास र कपासका लागि बाँसका भाँडाकुँडा बनाउने पेसा पुर्खादेखि हस्तान्तरण हुँदै आएकाले यसलाई निरन्तरता दिएको जलेश्वर नगरपालिका–२ का भोगिन्द्र डोमले बताए । छठमा माग बढी हुने भएकाले कात्तिकभरिको कमाइबाट चाडपर्व मनाउने अवसर प्राप्त हुने उनको भनाइ छ ।

जिल्लाको जलेश्वर, मटिहानी, पिपरा, औरही, गौशाला, सम्सी, सोनमा, रामगोपालपुर, एकडारा, मनरालगायत स्थानमा बसोबास गर्ने डोम समुदाय छठ पर्वका लागि बाँस र बेतबाट डालो, नाङ्ग्लो, टालु, टपरीलगायत भाँडाकुँडा बनाउन व्यस्त भएका हुन् ।

बाँसको चोयाबाट डालो, नाङ्ग्लो बुन्दै गरेकी मनरासिस्वा नगरपालिका–१ की ७० वर्षीया बेचनी डोमिनले भनिन्, ‘कात्तिक लाग्नेबित्तिक्कै घरका सबैले बिहानदेखि बेलुकासम्म डालो, नाङ्ग्लो र टालु टपरी बनाउने काम पाएका छौँ । छठमा यी सामग्री बेच्दा मनग्य आम्दानी हुने भएकाले यसलाई अवसरका रुपमा लिएका छौँ ।’

छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतबाट बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच/सात वटा बाँसका भाँडाकुँडाहरु किन्नुपर्दछ ।

छठको आगमनसँगै डोम समुदायका घरआँगनमा पनि छठमाता र सूर्यदेवको प्रत्यक्ष उपस्थिति रहने विश्वास रहेको पिपरा–१ का बिकाउ डोमले बताए । सोही कारण दिनरात व्रतालुहरुका निम्ति बाँसका भाँडाकुँडा बनाउने गरेको उहाँका भनाइ छ ।

सम्सी गाउँपालिका–४ का मनोज डोमले डालो, नाङ्ग्लो र टालु टपरी बेचेर कात्तिक भएको आम्दानीले वर्षभरिको खर्चको जोहो गर्ने बताए । सोनमा गाउँपालिका–३ का विजय डोमले घरका बालकदेखि बुढासम्मले डालो, नाङ्ग्लो बेचेर प्रतिव्यक्ति २० हजारदेखि २५ हजार रुपैयाँ र प्रत्येक परिवारले एक लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका जानकारी दिए । पछिल्लो समय छठ पर्व मनाउनेको सङ्ख्यामा वृद्धि हुँदै जाँदा बजार माग पनि बढी भएको उनको भनाइ छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?