२४ कात्तिक, काठमाडौं । युएईमा हुने एसीसी मेन्स यू-१९ एसिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको हो । चोटका कारण यू-१९ विश्वकप गुमाएका हेमन्तले नेपालको सिनियर टिमबाट समेत खेलिसकेका छन् । उनले गत फेब्रुअरीमा कीर्तिपुरमा भएको क्यानडा विरुद्धको खेलमा ओडीआईमा डेब्यु गरेका थिए ।
नेपाली यू-१९ टोलीको उपकप्तानमा अर्जुन कुमाल छन् । यसअघि यू-१९ टिमबाट आईसीसी यू-१९ विश्वकप खेलिसकेका अर्जुन कुमालसहित आकाश त्रिपाठी र उत्तम रंगु थापा मगर पनि टिममा छन् ।
यस्तै भर्खरै सकिएको यू-१९ राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन गरेका सन्तोष यादव, युवराज खत्री, विपिन कुमार महतो, रञ्जित कुमार पनि टोलीमा समेटिएका छन् । नेपाल ए टिमबाट खेलिसकेका मयन यादव पनि टिममा छन् । यसअघि यू-१९ टिममा रहेका नरेन भट्ट र अभिषेक तिवारी पनि टिममा छन् ।
यू-१९ राष्ट्रिय प्रतियोगितामा सन्तोष बेस्ट प्लेअर र बेस्ट बलर घोषित भएका थिए । यसअघि उनले नेपालको यू१६ राष्ट्रिय टिमबाट समेत खेलिसकेका छन् ।
अन्तिम टोलीमा १४ जना खेलाडी मात्र हुने भएपनि रिजर्भसहित १८ खेलाडीको सूची सार्वजनिक गरिएको क्यान प्रवक्ता छुम्बी लामाले बताए । ‘१८ जनाकै नाम उता पठाउनुपर्छ । तर अन्तिम टोलीमा १४ जना प्लस रिजर्भ ४ जना हुनेछ ।’
बन्द प्रशिक्षणमा राम्रो गर्ने खेलाडीहरु १४ जनामा पर्ने लामाले बताए । टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन छन् भने धिरेन्द्र चन्द सहायक प्रशिक्षक छन् ।
यू-१९ टिममा परेका १८ खेलाडीमध्ये केही खेलाडी नोभेम्बर ३० देखि नै काठमाडौंमा सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) मा पनि विभिन्न टिममा अनुबन्ध भएका छन् । ती खेलाडीले एनपीएलको सुरुवाती केही खेल गुमाउनेछन् ।
क्यान प्रवक्ता छुम्बी लामाले फ्रेन्चाइज टिमहरुसँग सल्लाह गरेर यू-१९ एसिया कपपछि टिममा फर्कने सहमति सहित उनीहरुलाई टिममा राखिएको बताए । ‘अहिले घोषणा गरिएको टोलीमा जुन फ्रेन्चाइजको खेलाडीहरु छन् यू१९ एसिया कि खेलेर आएपछि पुन: फ्रेन्चाइजमा समावेश हुने सहमतिसहित टिममा राखेका छौं’ लामाले भने ।
यू-१९ का कप्तान हेमन्त धामीसहित आकाश त्रिपाठी जनकपुर बोल्ट्समा अनुबन्ध छन् भने उपकप्तान अर्जनु कुमाल र नरेन साउद सुदूरपश्चिम रोयल्समा अनुबन्ध छन् ।
यस्तै नरेन भट्ट विराटनगर किंग्समा, रन्जित कुमार चितवन राइनोजमा, युनिश विक्रम ठकुरी कर्णाली याक्समा अनुबन्ध भएका छन् । यी ७ खेलाडीले एनपीएलको सुरुवाती केही खेल गुमाउने छन् ।
प्रतिक्रिया 4