+
+

बस्ताकोटीको ‘पानीको रङ’ कविता संग्रह विमोचन

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ३० गते १९:१०

३० कात्तिक, काठमाडौं । साहित्यकार डा. ऋषि बस्ताकोटीको कविता संग्रह ‘पानीको रङ’ विमोचन गरिएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, प्राज्ञहरू बाबा बस्नेत र डा. कृष्णराज अधिकारी र नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बलले कविता संग्रह विमोचन गरेका हुन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्रवासमा रहेर आफूभित्रको कविलाई निरन्तरता दिँदै कविता सङ्ग्रह निकाल्नु सुखद् रहेको बताए । कुलपति राईले प्रवासी जीवनमा रहेका नेपालीले देशलाई गर्ने मायाले कवि बनाउने बताए ।

उनले भने, ‘विदेश भ्रमणको क्रममा मैले त्यहाँ नेपालीमा देखेको देशप्रतिको प्रेमले नै कविलाई जीवित राखेको पाएको छु । प्रवासमा रहेर पनि नेपाल आएर कविता सङ्ग्रह निकाल्ने जमर्को गर्नुभएकामा धन्यवाद ।’

उनले अगाडि थपे, ‘कवि भएपछि कविता कोर्न छाड्न हुँदैन र सकिंदैन पनि, यसकै परिणाम हो ‘पानीको रङ’ ।’

साहित्यकार बस्ताकोटीले आफूले ३० वर्षदेखि कोरेको कवितालाई सङ्ग्रह गरेर पुस्तकको रूप दिएको बताए । ‘म आफैँ पर्यावरणसम्बन्धी पेसामा आबद्ध भए पनि मेरो परिवारको सहयोग र साथीभाइको हौसलाले यो सङ्ग्रह निकाल्न सकेको हुँ । मैले विभिन्न समय र कालखण्डमा लेखिएका कवितालाई अबचाहिँ पुस्तकको स्वरूप दिनुपर्छ भन्ने लागेर सङ्ग्रह निकालेको हुँ । यसले मलाई कविको रूपमा अगाडि बढाउन मद्दत गर्छ भन्ने विश्वास छ’, उनले भने ।

कविता संग्रह ‘पानीको रङ’ का विषयमा हरिहर तिमिल्सेना, राजकुमार बानियाँ र राधिका कल्पितले समीक्षा गरेका थिए । यस्तै, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ बाबा बस्नेत, डा कृष्णराज अधिकारीले कविता सङ्ग्रहको चर्चा गर्दै शुभकामना दिएका थिए ।

शिखा बुक्सले प्रकाशन गरेको कविता संग्रहमा ४० वटा कविताहरू संग्रहित छन् । बस्ताकोटीका कवितामा जीवन दर्शन, प्रकृति प्रेम, प्रवास लगायतका विषय समेटिएका छन् ।

सामाजिक यथार्थवादी धारका लेखक बस्ताकोटी प्रकृति संरक्षणका एक अभियन्ता पनि हुन् । कवि, गजलकार तथा मुक्तककारको परिचय बनाएका उनका दर्जन बढी गीतहरू रेकर्ड भइसकेका छन् ।

क्यानडाको क्यालगेरी विश्वविद्यालयबाट क्यानडा सरकारको प्रतिष्ठित भ्यानियर छात्रवृत्तिसहित वातावरणीय नीति विषयमा विद्यावारिधी गरेका बस्ताकोटी अहिले अमेरिकाको नर्थ क्यारोलाइना सरकारको वातावरण विभागमा वरिष्ठ वातावरण विज्ञका रूपमा कार्यरत छन् ।

यसअघि उनका ‘ज्वालाका रापहरू’ गजल संग्रह, ‘स्पर्श गजल’ एल्बम र ‘विसंगत बस्ती’ मुक्तक संग्रह प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?