अकुपन्चरले औषधिविना कैयौँ रोग निको पार्ने सम्बद्ध चिकित्सकको दाबी छ । यसमाथि भएका विभिन्न अध्ययन अनुसन्धानले पनि यही भन्छ । अकुपन्चर इतिहास हेर्ने हो भने ५ हजार वर्षअघि सुरु भएको उपचार पद्दति मानिन्छ । तर, नेपालका सन्दर्भमा भने बामे सरेको धेरै वर्ष भएको छैन ।
नेपालमा जनशक्तिकै कुरा गर्ने हो भने औंलामा गन्न सकिने छन् । उपचार संस्था पनि निकै न्यून छ । जसले सहजै अनुमान लगाउन सकिन्छ, नेपालमा यो उपचारले गति लिन सकेको छैन । यही सन्दर्भमा विश्व अकुपन्चर दिवस अवसर पारेर नेपालकै पहिलो न्युरोअकुपन्चरिस्ट डा. सुरज कर्माचार्यसँग अनलाइनखबरका लागि मनिषा थापाले गरेको कुराकानी :
अकुपन्चर कस्तो चिकित्सा पद्दति हो ?
अकुपन्चर दुई फरक शब्दबाट बनेको छ । अकु अर्थात् सुई र पन्चर अर्थात् घोच्नु । शरीरका विशेष बिन्दुहरूमा सियोले घोचेर गरिने उपचार पद्दति हो अकुपन्चर ।
अकुपन्चर कसरी उत्पत्ति भयो ? कसरी विकास हुँदै गयो ?
अकुपन्चर परम्परागत चिनियाँ चिकित्सा प्रणाली हो । यसको उत्पत्ति चीनमै भएको मानिन्छ । भनिन्छ, एक राजा थिए । उनलाई नौलो दीर्घरोग थियो । त्यो रोग कुनै औषधि र चिकित्सकले निको पार्न सकेका थिएनन् । त्यही बेला उनी युद्धमा गएका थिए ।
त्यो लडाइँका दौरान उनलाई तीर लागेर घाइते भए । युद्धबाट फर्किएर आउँदा उनको ठिक नभएको रोग बिस्तारै निको भयो । जुन देखेर सबै चकित थिए ।
एउटा तीरले कसरी रोग निको भयो भनेर पत्ता लगाउन केही सैनिकमा तीर लगाएर हेरियो । तीरले घोचेकामा सकारात्मक प्रतिक्रिया आएपछि उनीहरूले यो घोचाइ अरू रोगमा पनि काम लाग्छ कि भनेर हेर्ने शरीरका विभिन्न ठाउँमा घोचियो । प्रभावकारी नतिजा हात लाग्यो ।
यसरी नै एकपछि अर्को खोज गर्दागर्दै अकुपन्चर प्रयोग र विकास भएको पाइन्छ । त्यो समय सुन र ढुंगाको सुई पनि बनेको इतिहास छ ।
यसले के-कस्तो रोग निको पार्छ ?
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ३ सय रोग निको पार्न सक्ने उल्लेख गरेको छ । यो विधि सही तरिकाले गर्न जान्ने हो भने ३ सयदेखि ५ सय रोग निको हुन्छ । अरू, प्राकृतिक र एलोप्याथिक विधिसँग मिसाएर गर्न सके त्यो संख्यामा थप वृद्धि हुन्छ ।
कम्मर दुखाइ, गर्दन दुखाइ, पारालाइसिस, न्युरोलजिया, माइग्रेन, एन्जाइटी, डिप्रेसन, ग्यास्ट्रिकको समस्या, स्त्री रोग, आँखा र छालाको समस्यामा प्रयोग गर्न सकिन्छ ।
तीमध्ये पनि न्युरोसँग सम्बन्धित हातखुट्टा झमझमाउने, मुख बांगिने, माइग्रेन, कम्मरमा नसा च्यापिने, घुँडा खिइने जस्ता रोगमा बढी प्रभावकारी हुन्छ ।
इतिहास बोकेको यो उपचार पद्दति सन् १९७९ मा डब्लूएचओको मान्यता पछि विश्वका अधिकांश देशमा प्रयोग हुँदै आएको छ । विशेषतः विश्वव्यापी रूपमै अकुपन्चर हाडजोर्नी तथा नसासम्बन्धी समस्यामा प्रयोग हुँदै आएको छ ।
सियोले घोचेकै भरमा रोग कसरी निको हुन्छ ?
हेर्दा सामान्य सियोले छालामा घोचेको जस्तो देखिए पनि यसले शरीरमा भएको अकुबिन्दुहरूमा छोएको हुन्छ ।
चिनियाँ चिकित्सा सिद्धान्त अनुसार शरीरमा विभिन्न अकुबिन्दु हुन्छन् । सुईका माध्यमबाट ती बिन्दु पत्ता लगाइ अकुबिन्दुमा घोचेर त्यसमा बहेको छीलाई रिलिज गर्छ । सिद्धान्त अनुसार छी भनेको ऊर्जा हो ।
शरीरमा छीको प्रवाहविना रोकावट प्रवाह भइराख्नुपर्छ । जसले गर्दा शरीरमा रहेको इङ र याङको सन्तुलन रहन्छ । वmुनै कारणवश यी दुईको सन्तुलन बिग्रिए स्वास्थ्य समस्या आउने हो । यस्तोमा सुइले अकुबिन्दुमा घोचेर रोकावट खुलाउँछ । जसले दुखाइका साथै रोग पनि निको पार्छ ।
अकुबिन्दु भनेको के हो ?
चिनियाँ चिकित्सा पद्दति अनुसार हाम्रोे शरीरमा खुला आँखाले देख्न नसकिने एक प्रकारको जीवनीयशक्ति (क्षी) प्रवाह हुन्छ । त्यो प्रवाह हुने बाटोलाई मेरिडियन भनिन्छ ।
मेरिडियन छालाको सतहमा आउने तल जाने क्रम भइरहन्छ । छालाको सतहमा आउने उर्जा बिन्दुलाई अकुबिन्दु भनिन्छ । भनिन्छ, शरीरमा लगभग ३ सय ६१ अकुबिन्दु छन् । पछिल्लो समय विज्ञहरू हजारौं अकुबिन्दु भएको दाबी गरिरहेका छन् ।
एकै प्रकारको घोचाइले कसरी सबै रोग निको पार्न सक्छ त ?
घोचेरमात्र रोग निको हुने होइन । विज्ञलाई कुन ठाउँमा घोच्दा के हुन्छ भन्ने ज्ञान हुनुपर्छ । कुन रोग लागेको हो ? लक्षण कस्तो छ ? लक्षण अनुसार कुन ठाउँमा घोच्दा ठिक हुन्छ भन्ने पत्ता लगाएर सोही अनुसारको विधि प्रयोगमा ल्याउन र पहिचान गर्न सक्ने अनुभवी विज्ञले मात्र रोग सही तरिकाले निको पार्न सक्छ ।
सियोको एक पटकको घोचाइले दुख्छ, सयौँ सुईले घोच्दा दुख्दैन ? अकुपन्चर गर्दा शरीरमा कस्तो अनुभव हुन्छ ?
विधिपूर्वक अकुपन्चर सियो राख्दा तातो अनुभव हुने, भारी भएको जस्तो हुने र एक प्रकारको करेन्टको प्रवाह भए जस्तै हुन्छ । तर, सुई एकदम मसिनो हुने र अनुभवी व्यक्तिले गरे अलिकति पनि दुखाइको अनुभव हुँदैन ।
कसरी रोग पहिचान हुन्छ ?
परम्परागत यो पद्दतिले आधुनिक उपचार जस्तो रगत परीक्षण र एक्सरे जस्ता उपकरण तयार पारेका थिएनन् । यो पद्दतिले नाडी छाम्ने, जिब्रो हेर्ने, शरीरको छालाको रङ र आँखा हेर्ने गर्थे ।
अहिले पनि बिरामीले लक्षण भनेपछि सोही विधि अपनाएर पहिचान हुन्छ । त्योमात्र नभई रोग पत्ता नलागे एलोप्याथिक परीक्षण गराउन पनि सुझाइन्छ । एलोप्याथिक परीक्षणको रिपोर्ट हेरेर पनि सोही अनुसार उपचार हुन्छ ।
अकुपन्चरले रोग निको पारेको कसरी थाहा पाउने ?
उपचारपछि उनीहरूको समस्या दिने लक्षण हराउँछ । दुखाइ कम हुन्छ । दुःख दिइरहेको समस्या कम भएपछि पुनः गरिने शारीरिक परीक्षणले पनि नतिजा सकारात्मक देखाए रोग निको भएको मानिन्छ ।
अवस्था जटिल भई शल्यक्रिया गर्नुपर्ने अवस्था पनि अकुपन्चरले निको पार्छ भन्छन् नि ?
शल्यक्रिया गर्नुपर्ने सबै अवस्थामा अकुपन्चरले ठिक पार्छ भन्न सकिँदैन । तर, नसा च्यापिएको सुरुको र मध्यम अवस्था छ भने शल्यक्रिया नगरिकनै अकुपन्चर र फिजियोथेरापीले निको पार्न सकिन्छ । दिसा, पिसाब नै रोकिने अवस्था वा अवस्था जीणर् छ भने शल्यक्रिया नै गर्न सिफारिस गर्छौं ।
अकुपन्चरमा धाएर गरुन्जेललाई मात्र ठिक, पछि उस्तै हुने रहेछ । वा अकुपन्चरले केही भएन भन्ने गुनासो पनि यताकदा सुनिन्छ नि?
अकुपन्चरले जति पनि निको हुनुपर्ने रोग छन्, अवश्य निको हुनु नै पर्छ । तर, रोग लिएर सुरुवाती अवस्थामा वा अन्तिम अवस्थामा आएको छ । त्यसमा भर पर्छ । त्योमात्र होइन, चिकित्सक कस्तो छ, त्यसमा पनि भर पर्छ । पढेर मात्र पनि हुँदैन । पढेर अनुभव भएको अकुपन्चर विशेषज्ञका हातमा बिरामी परेको छ भने निराश भएर अवश्य बिरामी फर्कंदैन ।
मानसिक स्वास्थ्य अकुपन्चरले ठिक पार्न सक्छ ?
धेरैलाई लाग्छ, अकुपन्चरले नसासम्बन्धी मात्र उपचार गर्छ । कमैलाई थाहा छ, मानसिक रोगमा पनि अकुपन्चर उत्तिकै प्रभावकारी छ । यो उपचार ९५ प्रतिशतमा सफल पारेको मेरै अनुभव छ । जटिल मानसिक रोग नभई एन्जाइटी र डिप्रेसनको समस्या अकुपन्चरले निको पार्न सक्छ ।
कैयौँ रोग निको पार्ने, पुरानो विधि, शुल्क र समय कम लाग्ने भए पनि किन यो पद्दतिको उपचार फस्टाउन सकेन ?
पहिलेभन्दा अहिले अकुपन्चरबारे धेरै चेतना बढेको छ । यसको पछाडिको कारण भनेको पछिल्लो समय यसबारे अध्ययन र अनुसन्धान पनि भएकाले हुन सक्छ । उपचार पाएकाको प्रतिक्रिया राम्रो सुनेर पनि कतिपय लाभ लिन आउनेको संख्या बढेको छ । तर, काठमाडौंको सीमित ठाउँमा मात्रै ।
अकुपन्चर सेवा सीमित जनशक्ति, सीमित उपचार केन्द्र र सीमित ठाउँमा मात्र हुने भएका कारण पनि फस्टाउन सकेको छैन । अकुपन्चर विशेषज्ञ औंलामा गन्न सकिने देशभरि गरेर १५ जना पनि छैनन् । जसका कारण देशभरि सेवा दिन सकिने अवस्था छैन ।
अर्को भनेको योग्यता र अनुभव नभएका पनि अकुपन्चर भन्दै गलत ढंगले उपचार गर्ने र त्यसको प्रभावकारी नतिजा नआउँदा विश्वास कम भएको पनि हुन सक्छ ।
यदि दक्ष विज्ञ प्रशस्त हुने हो भने दिनको ३ लाख बिरामीको उपचार नेपालमै हुन सक्छ । किनकि, यो उपचारको नतिजा एकदमै राम्रो छ ।
प्रतिक्रिया 4