 
																			११ मंसिर, काठमाडौं । कालीमाटीमा मध्यराति एक महिलाको शव बोकेर फालेको आरोपमा पक्राउ परेका युवक ९ पटक मुद्दा चलेका व्यक्ति रहेको खुलेको छ ।
महिलाको शव बोकेर फालेको आरोपमा पक्राउ परेका बझाङको बित्थडचिर गाउँपालिका– ९ घर भएका २२ वर्षीय कविन्द्र मल्ल यसअघि ९ पटक पक्राउ परेर मुद्दा चलेको व्यक्ति रहेको प्रहरीले जानकारी दियो ।
मल्ललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ८ मंसिरमा कुलेश्वरबाट पक्राउ गरेको थियो । ८ मंसिरको बिहान कालीमाटीस्थित संगीतकारमार्गमा एक महिलाको शव भेटिएको थियो । नाम, थर र वतन नखुलेकी महिलाको शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा सीसीटीभी फुटेजमा युवकले महिलालाई बोकेर त्यहाँ फालेको देखिएको थियो ।
मृतक महिला उदयपुर घर भएकी ४५ वर्षीया जानुका सुर्खेती रहेको खुलेको थियो । सीसीटीभी फुटेजमा एक युवकले सडकबाट ती महिलालाई उठाएर सडक पारिसम्म लगेर फालेको देखिन्छ ।
सीसीटीभी फुटेजमा देखिएको चप्पल, ट्राउजर र ज्याकेटको हुलिया केन्द्रित भएर अनुसन्धान गरेको प्रहरीले मल्ललाई पक्राउ गरेको थियो । पक्राउ परेका मल्लले उक्त फुटेजमा देखिएको व्यक्ति आफू नै भएको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।
अहिले प्रहरी वृत्त कालीमाटीको हिरासतमा रहेका मल्ल ९ पटकसम्म पक्राउ परेर मुद्दा चलेका व्यक्ति रहेको प्रहरीले बताएको छ । उनी पक्राउ परेपछि प्रहरीले क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) हेरेको थियो । सो क्रममा उनी यसभन्दा अघि ९ पटकसम्म पक्राउ परेर मुद्दा चलेको व्यक्ति रहेको खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए ।
उनी ९ कात्तिक २०८१ मा डाँका चोरीको कसुरमा पक्राउ परेर ६ मंसिरमा मात्रै छुटेका थिए । सोही राति मल्लले सडकबाट ती महिलालाई उठाएर पारिपट्टि फालेका हुन् ।
त्यसैगरी २०७७ देखि अहिलेसम्म मल्ल १० पटक हिरासत पुगिसकेका छन् । १२ चैत २०७७ मा मल्ललाई पक्राउ गरेर प्रहरी वृत्त जनसेवाले अभद्र व्यवहारको कसुरमा मुद्दा चलाएको थियो ।
त्यसपछि १३ वैशाख २०७८ मा र २१ भदौ २०७८ मा प्रहरी वृत्त कालीमाटीले दुई पटक पक्राउ गरेर उनलाई मुद्दा चलाएको थियो ।
बझाङ घर भएका उनी विरुद्ध ७ वैशाख २०७९ मा बझाङबाट पनि मुद्दा चलेको प्रहरीको सीआरएसमा देखिएको छ ।
बझाङपछि ५ असार २०७९ कालीमाटीबाट फेरि उनी विरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलेको थियो । त्यसपछि ९ जेठ २०८० मा प्रहरी वृत्तले पक्राउ गरेर उनलाई मुद्दा चलाएको देखिन्छ ।
१२ भदौ २०८० मा र ३ वैशाख २०८१ मा प्रहरी वृत्त कालीमाटीले नै पक्राउ गरेर उनी विरुद्ध मुद्दा चलाएको थियो । उनी हरेक पटक सामान्य धरौटीमा छुट्दै आएका थिए । यसअघि ९ पटकसम्म चोरी, डाँका, अभद्र तथा सार्वजनिक कसुरमा मुद्दा चलेका उनीविरुद्ध अहिले १०औं पटक प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
अहिले भने उनी विरुद्ध ज्यान सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
घटना शंकास्पद
मृतक महिला मदिरा सेवन गर्ने आफूखुसी बसोबास गर्दै हिंड्ने गरेको खुलेको छ । सीसीटीभी फुटेजमा ६ मंसिरको राति ८ बजेदेखि ११ बजे रातिसम्म ती महिला सडकमा वरपर हिंडेको, उभिएको देखिन्छ । ११ बजेपछि भने ती महिला सडकमा सुतेको जस्तो सीसीटीभी फुटेजमा देखिएको छ ।
त्यसको करिब ४ घण्टापछि ७ मंसिरको बिहानीपख ३ बजेर १७ मिनेट जाँदा हाल पक्राउ परेका मल्लले ती महिलालाई बोकेर बाटो पार गरेको देखिन्छ । सो क्रममा एक साइकल चालकसँग समेत मल्ल करिब ठोक्किन पुग्छन् ।
महिलालाई उठाएर करिब ४–५ मिनेटको पैदल बाटोमा पुर्याएर मल्लले छाडेको देखिन्छ । महिलाको शव राखिएको ठाउँको सीसीटीभी फुटेज भने नभएकाले मल्लले शवलाई के गरे भन्नेबारे खुलेको छैन ।
मृत भेटिएकी महिलाको सुरुवाल समेत खुल्लै रहेकाले बलात्कार भएको हो कि भन्ने आशंका अनुसन्धान अधिकृतहरुले गरेका छन् । ‘घटना शंकास्पद देखिन्छ । महिलाको सुरुवाल समेत खुला रहेकाले बलात्कार भयो कि भन्ने आशंका पनि गरेका छौं’ एक अनुसन्धान अधिकृतले भने, ‘मल्लले महिलालाई बोकेर सडक पार गरेकाले पहिल्यै मृत्यु भइसकेको थियो वा पछि मृत्यु भयो भन्ने पनि यकिन हुनसकेको छैन ।’
महिलाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । अहिलेसम्म पोष्टमार्टम रिपोर्ट नआएकाले घटनाबारे यकिन थाहा हुनसकेको छैन ।
सीसीटीभी फुटेजमा देखिएको हुलिया आफ्नै रहेको पक्राउ परेका युवकले बताएका छन् । महिलालाई बोकेर सडक पार गरेको पनि मल्लले स्वीकार गरेका छन् । तर त्यो बाहेक आफूलाई कुनै जानकारी नभएको ती युवकको भनाइ छ ।
त्यस राति आफू मदिराको नसामा रहेकाले अन्य कुराहरु थाहा नपाएको भन्दै प्रहरी समक्ष मल्लले बयान दिएका छन् । मल्ल कालीमाटीस्थित तरकारी बजारमा सामान लोड–अनलोड गर्ने व्यक्ति रहेको खुलेको छ ।
प्रहरीसमक्ष उनले आफू मदिरा र लागूऔषध सेवनकर्ता रहेको पनि बताएका छन् । ‘केही घण्टा काम गरेपछि ५/७ सय आउने, उक्त रकम नसकिएसम्म काम नगर्ने, त्यसपछि पाकेट समेत मार्ने गरेको खुलेको छ’ एक अनुसन्धान अधिकृतले भने ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4