१९ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत आजको खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई २ विकेटले हरायो । अन्तिम ओभरको पनि अन्तिमसम्मै पुगेको खेल विराटनगरले एक बल बाँकी छँदा जितेको थियो ।
विराटनगरलाई पहिलो जित दिलाउन ओपनर लोकेश बमले शानदार अर्धशतकीय पारी खेले । डिप मिड विकेटमा सन्दीप जोराको हातबाट क्याचआउट हुनुअघि उनले ७१ रन बनाएका थिए जसमा ६ विशाल छक्का पनि सामेल थिए ।
अघिल्ला दुई खेलमा सस्तैमा आउट भएका उनी आजको खेलमा भने सुरूवातदेखि नै आक्रामक रूपमा प्रस्तुत भइरहेका थिए । ओपनिङदेखि १८औं ओभरसम्म ब्याटिङ गरेका उनले आजको खेल जिताउने सोचले नै आएको बताएका थिए । ‘आज मैले विहानैदेखि एउटै कुरा सोचिरहेको थिएँ, म एक्लैले खेल जिताएर आउँछु भन्ने सोच थियो’ खेलपछि पत्रकारहरूसँग कुरा गर्दै उनले भनेका थिए ।
लोकेशले पहिले मार्टिन गप्टिल र पछि बसिर अहमदसँग मिलेर इनिङ उकास्दै जितको आधार तय गरेका थिए । लुम्बिनीका बलरहरूले केही समयको अन्तरमा विकेट निकालिरहेको भएपनि एकतर्फ लोकेश भने क्रिजमा जमिरहेका थिए ।
लुम्बिनीका दुर्गेश गुप्ताले ३ विकेट लिए भने साद बिन जफर र रामोन सिमोण्ड्सले २-२ विकेट लिँदा विवेक यादवले १ विकेट लिए ।
विवेक यादव आजको खेलमा विकेटभन्दा पनि रनबाट बढी चर्चामा आइरहेका थिए । उनले ३.५ ओभरमा ६४ रन खर्चेर १ विकेट लिएका थिए ।
टी२० क्रिकेटमा बलरहरूले धेरै रन खर्चनु स्वभाविक नै हो । रन खर्चिए पनि विकेट भने बलरहरूले निकालिरहेका हुन्छन् । तर ६४ रन खर्चनु टी२० क्रिकेटमा भनेको अति नै मानिन्छ ।
विवेकलाई सबैजसो ब्याटरहरूले टार्गेट गरेका थिए । कप्तान रोहितले उनलाई चारै ओभर दिएका थिए । ३ ओभरमा ४८ रन व्यहोरेका विवेकलाई रोहितले अन्तिम ओभर बलिङ गर्न दिएका थिए जतिबेला विराटनगरलाई १५ रन आवश्यक थियो ।
उनले विराटनगरका कप्तान सन्दीप लामिछानेको विकेट त लिए तर त्यसपछि आएका क्रिस सोलले छक्का र दुई चौका प्रहार गर्दै खेल जिताए । विवेकले व्यहोरेको ६४ रनको स्पेल एनपीएलकै सबैभन्दा महँगो स्पेल पनि हो ।
कहाँनिर चुक्यो लुम्बिनी ?
ब्याटिङमा सुरूवातदेखि नै आक्रमक प्रदर्शन गर्दै बलियो योगफलतर्फ अग्रसर बनेको लुम्बिनीका लागि एक समय २०० रनभन्दा बढी योगफल सम्भव देखिएको थियो । यद्यपी १५ ओभरपछि रनगतिमा ब्रेक लाग्दा १९१ मा पुगेर इनिङ सकियो ।
तर मुख्य समस्या भने यो होइन । १९१ रनको योगफल बनाइसक्दा कुनैपनि टिम बलियो अवस्थामा हुन्छ । मध्यम खालको बलिङले पनि यो स्कोर डिफेन्ड गर्ने अवस्था रहन्छ । तर लुम्बिनी आफूले खडा गरेको रनको संरचना जोगाउन भने अक्षम रह्यो ।
त्रिवि क्रिकेट मैदानमा दोस्रो सर्वाधिक सफल रन चेज गर्ने क्रममा विराटनगरले पेनल्टिमेट बलमा लक्ष्य भेट्टायो । यो लक्ष्य पूरा हुनुको पछाडि दुई कारण छन- एउटा लोकेशको शानदार ब्याटिङ र अर्को लुम्बिनीको खराब बलिङ ।
त्यसो त लुम्बिनीका कप्तान रोहित पौडेलले पनि बलिङ् कम्बिनेसनमा चुकेको कुरा स्वीकार गरेका थिए । ‘बलिङ युनिट पनि त्यति राम्रो भएन । लोकेश र बसिरले राम्रो ब्याटिङ गरे, बेन कटिङले आफै केही कारण देखाउँदै बलिङ नगर्ने भनेको हो । म आफै पनि बलिङमा आउन सक्थेँ तर त्यो भएन’, उनले खेलपछि भनेका थिए ।
कप्तान रोहितले रामोन सिमोण्ड्स, दुर्गेश गुप्ता, सुर्य तामाङ, साद बिन जफर र विवेक यादवलाई प्रयोग गरेका थिए । उनले पार्ट टाइम पेसर विवेकलाई ४ ओभर नै दिए जुन् कुरा गलत त होइन तर जस्तो अवस्थामा उनले विवेकको प्रयोग गरे त्यसले आजको कप्तानीमा पनि केही कमजोरी देखाएको छ ।
आफ्नो सुरूवाती ओभरमै १६ रन खर्चेका विवेकले त्यसपछिका २ ओभरमा ३२ रन खर्चेका थिए भने विकेट निकाल्न सकेका थिएनन् । विराटनगरलाई अन्तिम ओभरमा १५ रन चाहिँदा रोहितसँग नयाँ बलरबाहेक विवेकको मात्र विकल्प थियो । उनी आफैं अन्तिम ओभरमा आउने अनुमान धेरैको थियो तर उनले विवेकमाथि नै विश्वास गर्दै अन्तिम ओभर दिए ।
१५ रन बाँकी भएको कारणले पनि हुनसक्छ रोहितले महंगो साबित भएपनि विवेकलाई ओभर दिए । सुरूवाती दुई बल वाइड फालेका उनले त्यसपछि कप्तान सन्दीपको विकेट लिएका थिए । त्यसपछि आएका क्रिस सोललाई पनि एक बल डट राखेका थिए । त्यहाँसम्म सबै ठिक थियो ।
अघिल्ला ओभरमा व्यापक रन खर्चिए पनि अन्तिम ओभरमा टिमलाई जिताउन कसिलो बलिङ गर्ने धेरैको अनुमानविपरित क्रिस सोलले उनलाई त्यसपछि ६, ४, ४ रन प्रहार गर्दै खेल जिताए ।
रोहितले प्रयोग गरेका ५ बलरमध्ये सर्य तामाङको इकोनोमी ६ भन्दा तल थियो भने बाँकी सबैले ८ भन्दा बढी रन प्रतिओभर खर्चिरहेका थिए । विवेकको इकोनोमी भने १६ भन्दा माथि थियो ।
बलिङमा अनुशासन नहुँदा लुम्बिनीले बलियो योगफल बनाएपनि डिफेन्ड गर्न सकेन । अघिल्ला दुई खेलमा ब्याटिङ नचल्दा हार व्यहोरेको विराटनगरका लागि आज लोकेशदे ७१ तथा बसिर अहमदले ४० र मार्टिन गप्टिलले २८ रन बनाए ।
यसरी लुम्बिनीले ब्याटिङमार्फत धेरै क्षमता र बलियो दाबेदारी देखाएपनि बलिङले भने समस्या पार्ने देखिन्छ । बेन कटिङले बलिङ गर्ने/नगर्ने द्विविधा रहिरहँदा कप्तान रोहितले आफूले पनि केही ओभर स्पीन गरी अझै बलियो बलिङ चाहेमा एक ब्याटर निकालेर बलर थप्न सक्ने छन् ।
लुम्बिनीले अब आफ्नो दोस्रो खेलमा शुक्रबार पोखरा एभेन्जर्ससँग खेल्ने छ । विराटनगरले शनिबार कर्णाली याक्ससँग खेल्ने छ ।
प्रतिक्रिया 4