२८ मंसिर, नेपालगञ्ज । यसपटक दशैं–तिहार जस्ता प्रमुख चाडपर्वमा कर्णालीको प्रांगारिक स्याउ नेपालीको घर–घरमा पुग्यो । आयातित भारतीय र चिनियाँ स्याउ भन्दा सस्तो, स्वादिलो र लामो समय भण्डारण गर्न सकिने भएकाले धेरैको रोजाइमा पर्यो यो ।
१५ भदौदेखि १५ कात्तिक २०८१ सम्म झण्डै तीन महिना जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोटमा उत्पादन भएको स्याउले नेपाली बजारमा एकछत्र राज गर्यो । यसपटक कर्णालीको स्याउ उपहार दिने वस्तु समेत भयो ।
मूलधारका मिडिया र सामाजिक सञ्जालमा जुम्लाको अर्गानिक स्याउको चर्चा बढेसँगै उपभोक्ताको पहिलो रोजाइमा यो पर्यो । २५ वर्षदेखि स्याउको कारोबार गर्दै आएका सुर्खेतका बाबु एन्ड शाही मण्डीका सञ्चालक प्रबल शाहीले यसपटक कर्णालीको स्याउको माग ह्वात्तै बढेको बताए ।
यो वर्ष जुम्लाका किसानले स्याउ बिक्री गरेर ६६ करोड ४६ लाख ३१ हजार रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख खेमराज शाहीका अनुसार यो वर्ष ८३७ कृषक तथा व्यापारीले ९ हजार ३९१ मेट्रिक टन स्याउ निर्यात गरेका थिए ।
निर्यात भएको मध्ये ८ हजार ८२० मेट्रिक टन स्याउ उन्नत जातको हो भने ५७० मेट्रिक टन उच्च घनत्व प्रविधि अनुसार उत्पादित स्याउ हो । साउन २९ गतेदेखि कात्तिक ६ गतेसम्म सडक नाका, विमानस्थलबाट लिइएको रेकर्ड अनुसार यो वर्ष ५७ करोड ३३ लाख १९ हजार बराबरको उन्नत जातको र ९ करोड १३ लाख १२ हजार बराबरको उच्च घनत्व जातको स्याउ जुम्लाबाट सुर्खेत हुँदै देशका अन्य शहरमा निर्यात भएको प्रमुख शाही बताउँछन् ।
कर्णाली प्रदेशका जुम्ला लगायत मुगु, डोल्पा, हुम्ला र कालीकोटका किसान स्याउ खेतीतर्फ आकर्षित हुँदै गएका छन् । तर, स्याउ खेतीको प्रवर्द्धन र बजार विस्तारका लागि नेपाल सरकारले प्रभावकारी काम गर्न सकेको छैन । जस्तो कि स्याउ खेती हुने कर्णाली प्रदेशको जुम्ला लगायत जिल्लामा एक जना स्याउ विज्ञ समेत छैनन् ।
स्याउ सुपरजोन कार्यालय जुम्लामा कार्यरत स्याउ विज्ञलाई प्रदेश कार्यालय सुर्खेत सरुवा गरिएपछि चार वर्षदेखि किसानले स्याउ विज्ञसँग आमनेसामने भएर अन्तरक्रिया र परामर्शसम्म गर्न पाएका छैनन् । स्याउ विज्ञ नहुँदा उन्नत जातका स्याउका बिरुवाको उत्पादन, स्याउ बगैंचाको व्यवस्थापन, रोग–कीरा नियन्त्रण लगायत समस्या खेप्नु परेको गुनासो किसानको छ ।
बगैंचामा उत्पादन भएको स्याउ बिक्री हुने सुनिश्चित नहुँदा किसानले राम्रोसँग तयार नहुँदै स्याउ बजार पुर्याउने प्रवृत्ति पनि देखिएको छ । खासगरी भारत र चीनबाट आयात हुने स्याउ बजारमा आउनु भन्दा पहिले आफ्नो स्याउ बजार पुर्याउँदा राम्रो मूल्य पाउने आशामा किसान छन् ।
यसो हुँदा उनीहरू भदौ महिनाको पहिलो साता नहुँदै कलिलैमा स्याउ टिपेर बिक्री गर्ने गरेका छन् । स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख खेमराज शाहीका अनुसार, स्याउमा गुलियोपनको मात्रा करिब १२ प्रतिशत पुगेपछि मात्रै स्याउ टिप्न योग्य हुन्छ । सामान्यतया कर्णाली प्रदेशका जिल्लाहरूमा भदौ १५ पछि मात्रै स्याउ टिप्नु उपयुक्त हुन्छ ।
जोन प्रमुख शाहीका अनुसार यो वर्ष मालवाहक ट्रकबाट मात्रै ९ हजार ९९३ मेट्रिक टन स्याउ जुम्लाबाट बाहिर निर्यात भएको छ भने बसबाट १ हजार ६६० मेट्रिक टन निर्यात भएको देखिन्छ । यस्तै जीप तथा हाइसबाट ७४ र प्लेनबाट ७४ मेट्रिक टन स्याउ बाहिरिएको तथ्याङ्क छ । उक्त विवरण उत्पादन भएको स्याउको तुलनामा निकै कम रहेको जोन प्रमुख शाहीको भनाइ छ ।
यो वर्ष जुम्लामा मात्रै २० हजार ५११ मेट्रिक टन भन्दा बढी स्याउ उत्पादन भएको छ । जसमा उन्नत जातको १९ हजार ८४० र उच्च घनत्व प्रविधि अनुसार उत्पादन हुने जातको ६७१ मेट्रिक टन स्याउ फलेको थियो । उत्पादन भएको परिणाम अनुसार १४ हजार मेट्रिक टन अर्थात् ७० प्रतिशतसम्म स्याउ निर्यात हुनुपर्ने हो तर ९ हजार ९९३ मेट्रिक टन मात्रै निर्यात भएको तथ्याङ्क छ ।
स्थानीय तहले स्याउमा लगाउँदै आएको कर छल्नका लागि निकासी हुने स्याउको परिमाण कम लेखाएको हुनसक्ने प्रमुख शाही बताउँछन् । महेन्द्रनगर, धनगढी, नेपालगञ्ज, बुटवल, नारायणघाट, पोखरादेखि काठमाडौंसम्म यो वर्ष कर्णालीको स्याउ पुगेको छ ।
कर्णालीको स्याउले यो वर्ष नेपाली स्याउ बजारको मागलाई करिब ३ महिना धानेको उनले बताए । चीन र भारतबाट आएको भन्दा कम मूल्य र स्वादिलो बढी भएकाले कर्णालीको स्याउले बजार पाएको शाहीले बताए । कर्णालीको स्याउ १०० देखि १५० रुपैयाँ प्रतिकिलोसम्म बिक्री भयो । जबकि भारत र चीनबाट आयात हुने स्याउको मूल्य कम्तीमा पनि २०० रुपैयाँ पर्छ ।
कर्णाली प्रदेशका जिल्लाहरूमा सबैभन्दा धेरै रोयल डेलिसियस स्याउ फल्छ । त्यसपछि दोस्रोमा गोल्डेन स्याउ रहेको छ । फुजी स्याउ पनि कर्णालीको माथिल्लो क्षेत्रमा उत्पादन हुन्छ । फुजी स्याउको माग काठमाडौं लगायत ठूला शहरमा छ ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार कर्णाली प्रदेशका ९ जिल्लाको ९ हजार ३७७ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ । जसमध्ये ३ हजार ४१९ हेक्टर जमिन स्याउ खेतीका लागि उर्बर छ । उर्बर क्षेत्रमा प्रतिहेक्टर औसतमा ९ मेट्रिक टन स्याउ उत्पादन हुन्छ ।
शीत भण्डार न ढुवानी सुविधा
तर, कर्णाली प्रदेशको पहाडी जिल्लाबाट स्याउ बजारसम्म पुर्याउन ढुवानी गर्ने कन्टेनरको व्यवस्था छैन । कन्टेनर नहुँदा कार्टुनमा राखेर मालबाहक ट्रक, यात्रुबाहक बसमा हालेर सुर्खेतसम्म पुर्याउने गरिएको छ । ढुवानीका लागि स्याउ सुपरजोन कार्यालयले कार्टुनमा चाहिं ५० प्रतिशत अनुदान दिंदै आएको छ ।
करिब १० केजी स्याउ अट्ने रंगीन कार्टुनको बजार मूल्य लगभग १०० रुपैयाँ पर्ने र यसमा परियोजनाले ५० प्रतिशत अनुदान दिएर ५० रुपैयाँमा किसानहरूलाई उपलब्ध गराउँदै आएको छ । चालु आर्थिक वर्षमा जुम्लामा किसानलाई ९ हजार कार्टुन उपलब्ध गराइएको प्रमुख शाहीको भनाइ छ ।
कार्टुनमा राखेर ढुवानी गर्दा स्याउमा चोट लागेर हुने नोक्सानीको मात्रा धेरै हदसम्म घटे पनि तापक्रम मेन्टेन नगरी ढुवानी गर्दा स्याउको गुणस्तरमा ह्रास आउने गरेको छ । दूध, मासु जस्तै स्याउलाई पनि निश्चित तापक्रममा राख्दा यसको गुणस्तर कायम हुन्छ । स्याउलाई करिब ४ डिग्री सेल्सियसमा राख्दा यसको गुणस्तर राम्रो हुन्छ । त्यसैले स्याउ ढुवानीका लागि छुट्टै कन्टेनरको व्यवस्था हुनुपर्ने प्रमुख शाही बताउँछन् ।
कर्णालीमा उत्पादन भएको स्याउ भण्डारण गर्न यहाँ शीत भण्डारको सुविधा पनि छैन । आलु भण्डारण गर्न, बाँकेको कोहलपुरमा निर्माण गरिएको करिब २५०० मेट्रिक टन क्षमताको भेरी शीत भण्डारमा पछिल्ला दिनमा व्यवसायीहरूले स्याउ पनि भण्डारण गर्न सुरु गरेका छन् ।
भेरी शीत भण्डार कोहलपुरका लेखापाल टंकप्रसाद गिरीका अनुसार, स्याउ व्यापारीहरूले यो वर्ष भदौ १५ देखि कात्तिक १५ सम्म ४२ हजार कार्टुन अर्थात् करिब ५०० मेट्रिक टन स्याउ भण्डारण गरेका थिए । ५०० मेट्रिक टन स्याउ भण्डारण भएपछि पहिलो पल्ट शीत भण्डार पूर्ण क्षमतामा सञ्चालन भएको लेखापाल गिरी बताउँछन् ।
शीत भण्डारले प्रति केजी प्रति महिना २ रुपैयाँ भण्डारण शुल्क लिने गरेको छ । स्याउ भण्डारणका लागि व्यवसायीबाट माग बढ्दै गएपछि भेरी शीत भण्डारले थप १५०० मेट्रिक टन क्षमता विस्तार गरेर यसको क्षमता ४ हजार मेट्रिक टन पुर्याएको छ । आगामी वर्षको सिजनदेखि करिब २ हजार मेट्रिक टनसम्म स्याउ भण्डारण गर्ने लक्ष्य शीत भण्डार व्यवस्थापनको छ ।
बाँके जिल्लाको खजुरामा निजी क्षेत्रको लगानीमा निर्माण भएको ७ हजार ५०० मेट्रिक टन क्षमताको नेपालगञ्ज कोल्ड स्टोरेज एण्ड वेयर हाउसिङ प्रालिको अत्याधुनिक शीत भण्डार छ । नेपालगञ्जका जडीबुटी व्यवसायीहरूको लगानीमा निर्माण भएको शीत भण्डारमा राख्ने कृषि उपजहरू नहुँदा अकुपेन्सी करिब ५० प्रतिशत भन्दा माथि उक्लन सकेको छैन ।
स्याउको सिजनमा करिब ५ हजार मेट्रिक टनसम्म स्याउ भण्डारण गर्न सकिने शीत भण्डारका सञ्चालक एवं जडीबुटी व्यवसायी संघका केन्द्रीय अध्यक्ष टंकप्रसाद शर्मा बताउँछन् । यो वर्ष करिब २०० मेट्रिक टन स्याउ भण्डारण भए पनि अपेक्षा गरे अनुसार व्यवसायीहरू नआउँदा यो पूर्ण क्षमतामा सञ्चालन हुनसकेको छैन ।
सिजनमा स्याउ खरिद गरेर शीत भण्डारमा राख्ने र बेसिजनमा बिक्री गर्ने हो भने नेपाली स्याउ व्यवसायीहरूले राम्रो मुनाफा कमाउन सक्ने अवस्था छ । तर त्यसतर्फ व्यवसायीहरूले खासै चासो नदिंदा ‘अफ सिजन’ मा भारतीय र चाइनिज स्याउ मात्रै बजारमा पाइने गरेको अध्यक्ष शर्माले बताए ।
प्रति केजी ५ रुपैयाँ कर
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले स्याउमा प्रति केजी ५ रुपैयाँ कर तोकेको छ । स्याउ उत्पादक किसानबाट स्याउ बिक्री गर्दा प्रतिकेजी ५ रुपैयाँका दरले कर लिने निर्णय कार्यपालिकाको बैठकले गरेको वडा नं ४ का वडा अध्यक्ष रन्जित बुढाले बताए ।
यो वर्ष स्याउ कर बापत १ लाख ५० हजार रुपैयाँ संकलन भएको र त्यो रकम स्याउ खेती प्रवर्द्धनमा खर्च गरिने अध्यक्ष बुढाको भनाइ छ । यो वर्ष डोल्पाका किसानको बगैंचाबाटै व्यापारीहरूले प्रति केजी ३५ रुपैयाँमा स्याउ किनेका थिए । ३५ रुपैयाँ प्रति केजी स्याउ किन्दा नगरपालिकालाई प्रति केजी ५ रुपैयाँ कर तिरेर स्याउ खरिद गरेको सुर्खेतका व्यापारी प्रबल शाही बताउँछन् ।
व्यावसायिक स्याउ खेतीतर्फ आकर्षित भएका किसानलाई प्रोत्साहन गर्ने भन्दा किसानबाट कर लिनेतर्फ स्थानीय सरकार केन्द्रित हुँदा किसानहरू मर्कामा परेका छन् । सडक यातायातको भरपर्दाे सुविधा नहुँदा डोल्पाका किसानको बगैंचामा खरिद गरेको स्याउ ढुवानी गरेर सुर्खेतसम्म पुर्याउँदा प्रति केजी ३२ रुपैयाँसम्म खर्च लागेको शाही बताउँछन् ।
२५ वर्षदेखि स्याउको व्यापार गर्दै आएका शाहीले यो वर्ष डोल्पाबाट करिब ४८० मेट्रिक टन स्याउ खरिद गरेको बताए । उनले डोल्पा लगायत कर्णाली प्रदेशका जिल्लाबाट खरिद गरेको स्याउ नेपालगञ्ज, बुटवल, चितवन, पोखरा र काठमाडांैसम्म लगेर बिक्री गरेका छन् ।
केही वर्ष पहिलासम्म बजारमा पुर्याउन नसकेर बोटमै कुहिने डोल्पा र मुगुको स्याउ अहिले नेपालगञ्ज, सुर्खेत, दाङहुँदै काठमाडौंसम्म पुग्न थालेको छ । तर पनि वर्षात्का बेला पटक–पटक सडक अवरुद्ध हुन्छ । सडक अवरुद्ध हुँदा स्याउका कार्टुनहरू एउटा गाडीबाट अर्काे गाडीमा सार्दै व्यवसायीले सुर्खेतसम्म पुर्याउने गरेका छन् ।
हुम्ला अझै पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन । जसका कारण यहाँ उत्पादन हुने स्याउले अझै राम्रो बजार पाउन सकेको छैन । पछिल्ला दिनमा यहाँका किसानको व्यावसायिक स्याउ खेतीमा आकर्षण बढ्दै गएको छ । व्यापारीहरू बगैंचामै पुग्न थालेपछि पछिल्ला दिनमा किसानको स्याउ बिक्री हुन थालेको छ ।
तर व्यापारीहरूले सस्तो मूल्यमा स्याउ खोज्ने कारणले पर्याप्त आम्दानी गर्न नसकेको गुनासो पनि किसानको छ । २०७५ सालमै राष्ट्रिय सडक सञ्जालमा जोडिए पनि कच्ची साँघुरो र बिच–बिचमा पुल नहुँदा प्रत्येक वर्ष वर्षात्को समयमा जिल्ला भित्रिन र बाहिरिन आधा दर्जन ठाउँमा गाडी परिवर्तन गर्नुपर्ने बाध्यता रहेको व्यवसायी शाहीले बताए ।
यो वर्ष डोल्पामा किसानले प्रति केजी ३५ रुपैयाँ मूल्य पाएका छन् । जुन अघिल्लो वर्ष भन्दा ५ रुपैयाँ बढी हो । भरपर्दाे सडक यातायातको सुविधा नभएको भनेर व्यापारीले सस्तो मूल्यमा स्याउ किन्ने गरेका छन् । डोल्पाबाट ३५ देखि ४० रुपैयाँ प्रति किलो खरिद गरेको स्याउ सुर्खेत पुर्याएर व्यापारीहरूले प्रतिकिलो १५० रुपैयाँसम्ममा बेच्ने गरेका छन् ।
स्याउ जोन कार्यालय मुगुका अनुसार, मुगुमा कुल ३९० हेक्टरमा ३ हजार १०० मेट्रिक टन स्याउ फल्छ तर यो वर्ष १०७ मेट्रिक टन मात्रै निर्यात भएको छ । हुम्लामा २८०० हेक्टरमा स्याउका बगैंचा छन् ।
ती बगैंचाहरूबाट हरेक वर्ष करिब ४ हजार मेट्रिक टन स्याउ उत्पादन हुने गरेको कृषि विकास कार्यालयको तथ्याङ्क छ । सडक सञ्जालमा नजोडिएकाले हुम्लाको स्याउले अझै राम्रो बजार पाउन सकेको छैन ।
हुम्लामा यातायातको प्रमुख साधन भनेको हवाईजहाज हो । उपहारको रूपमा हुम्लाबाट नेपालगञ्ज र सुर्खेत झर्ने व्यक्तिहरूले स्याउ खरिद गरेर लैजाने गरेका छन् । हुम्लामा स्याउको मूल्य प्रति किलो करिब ४० रुपैयाँ मात्रै छ ।
स्याउ जोन कार्यालय हुम्लाले प्रति किलो २० रुपैयाँ ढुवानी अनुदान दिएर हुम्लाको स्याउ बजारसम्म पुर्याउन सहयोग गरेको छ । यो वर्ष ढुवानी अनुदानमा पैदल मार्गबाट करिब २५ हजार केजी स्याउ बजारसम्म पुर्याइएको छ ।
मनाङ र मुस्ताङ : ८५ करोड आम्दानी
मनाङमा चालु आर्थिक वर्ष २०८१/८२ को मंसिरको तेस्रो सातासम्म करिब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कृषि ज्ञान केन्द्र मनाङका प्रमुख मदन रेग्मीका अनुसार, यो आर्थिक वर्षमा मनाङले १२३० टन भन्दा बढी स्याउ उत्पादन गरेको हो । ‘यो वर्ष अहिलेसम्मको हिसाब हेर्दा १५ करोड बढी मनाङले भित्र्याएको देखिन्छ । यकिन विवरण आउन बाँकी नै छ, थपिन पनि सक्छ ।’
मनाङमा भन्दा मुस्ताङमा धेरै स्याउ उत्पादन भएको देखिएको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख पद्मनारायण आत्रेयका अनुसार ६० करोड १८ लाख रुपैयाँ स्याउबाट मुस्ताङ भित्रिएको छ । आ
त्रेयका अनुसार मुस्ताङमा ८३० हेक्टरमा स्याउ खेती हुने गरेको छ । जसमा ५६६ हेक्टर उत्पादनशील क्षेत्र रहेको छ भने चालु आर्थिक वर्षको मंसिर तेस्रो सातासम्म ६ हजार ७८ टन स्याउ उत्पादन भएको छ ।
कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार चालु आर्थिक वर्षमा स्याउको औसत आम्दानी प्रति बोट ३५ रुपैयाँ रहेको छ । मुस्ताङमा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, फुजी लगायत स्याउ उत्पादन हुने गरेका छन् ।
मुस्ताङको स्याउ बिक्री हुने मुख्य बजार पोखरा हो । पोखरामा मुस्ताङको स्याउको माग बढ्दो छ । मुस्ताङमा उत्पादित स्याउमध्ये करिब ९० प्रतिशत पोखरामा नै खपत हुने गरेको छ । पछिल्ला दिनहरूमा मुस्ताङ घुम्न जाने पर्यटकहरूले पनि कोसेलीको रूपमा मुस्ताङमा उत्पादन भएको अर्गानिक स्याउ खरिद गर्ने गरेका छन् ।
मुस्ताङका किसानहरूले नेदरल्यान्डबाट ल्याइएको हाइडेन्सिटी प्रजातिको स्याउको बिरुवा समेत उत्पादन गरेर बिक्री गर्न सुरु गरेका छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार मुस्ताङमा स्याउ खेती योग्य जमिन ८९० हेक्टर छ । पछिल्ला वर्षहरूमा करिब ६१६ हेक्टरमा स्याउको उत्पादन भइरहेको छ ।
यहाँबाट गत वर्ष ९१ करोड ८६ लाख रुपैयाँको स्याउ बिक्री भएको थियो । मुस्ताङमा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचा रेड डेलिसियस, फुजी जस्ता स्थानीय जातका स्याउका साथै उन्नत जातका माला मेमा, रेड डेलिसियस किङरोट, गोल्डेन मेमा डेलिसियस स्याउको खेती गरिएको छ । पछिल्ला वर्षमा स्याउको उत्पादन ३० देखि ३५ प्रतिशतले वृद्धि भएको छ ।
स्थानीय जातको स्याउले लगाएको सात र आठ वर्षमा मात्रै फल दिने गर्दछ भने हाइडेन्सिटी प्रविधिबाट लगाइएको बिरुवाले दुई–तीन वर्षपछि नै फल दिने गरेका कारण यसतर्फ किसानको आकर्षण बढेको हो । सामान्यतः स्याउ चैत र वैशाखमा फुल्ने, जेठमा फल लाग्ने गर्दछ भने भदौको दोस्रो सातापछि तयार हुन्छ ।
मनाङ : दक्षिणएशियाकै ठूलो स्याउ फार्म
एग्रो मनाङ प्रालिले मनाङ निस्याङ गाउँपालिका–१ भ्राताङमा करिब ५०० रोपनी क्षेत्रफलमा स्याउ खेती गर्दै आएको छ । २० करोड लगानीमा २०७२ सालबाट स्याउ खेती सुरु गरेको मनाङ एग्रो फार्ममा करिब ६० हजार स्याउका बिरुवा छन् । मनाङ एग्रोको फार्ममा यो वर्ष करिब ५०० टन स्याउ फलेको छ ।
एग्रोले उत्पादन गर्ने स्याउको मुख्य बजार काठमाडांै हो । मनाङबाट सडक मार्ग हुँदै स्याउ काठमाडौं पुर्याउँदा प्रति केजी १२ देखि १५ रुपैयाँसम्म खर्च हुने गरेको छ । एग्रो मनाङको हाइडेन्सिटी प्रविधिबाट फलेका स्याउ हिमालयन फ्रेस ब्रान्डबाट बजारमा बिक्री भइरहेको छ ।
हाइडेन्सिटी प्रविधिबाट लगाइएको उन्नत जातको एउटा बोटबाट मनाङमा औसतमा १७/१८ केजीसम्म स्याउ उत्पादन भइरहेको छ । पछिल्ला दिनहरूमा मनाङका किसानले हाइडेन्सिटी प्रविधि अपनाएर व्यावसायिक रूपमा स्याउ खेती गरिरहेकोे कृषि ज्ञान केन्द्र मनाङका प्रमुख मदन रेग्मीले बताए ।
समुद्री सतहदेखि २९०० मिटर उचाइको भ्राताङमा स्याउ फलेको आठ वर्ष भयो । स्याउलाई भण्डारण गर्न मनाङ एग्रो फार्मले आफ्नै लगानीमा ५०० टन क्षमताको चिस्यान केन्द्र (कोल्ड स्टोर्स) निर्माण गरेको प्रबन्ध निर्देशक गुरुङले बताए ।
हाइडेन्सिटी प्रविधिबाट व्यावसायिक रूपमा स्याउ खेती भइरहेको एग्रो मनाङ फार्म स्याउको बोट र लगाइएको क्षेत्रफलका हिसाबले दक्षिणएशियामै ठूलो भएको दाबी प्रबन्ध निर्देशक गुरुङको छ । स्याउ फार्ममा अहिलेसम्म ३० करोड रुपैयाँ लगानी भइसकेको छ । गुरुङका अनुसार, स्याउ खेतीका लागि सुरुमा हिमाली परियोजनाले २ करोड २४ लाख रुपैयाँ अनुदान दिएको थियो ।
यो बाहेक फार्मले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट मल, बीउ र प्याकेजिङमा अनुदान पाएको छ । बाँकी लगानी बैंकबाट ऋण लिएर गरिएको उनले बताए । फार्ममा प्रत्यक्ष रूपमा ३२ जनाले रोजगारी पाएका छन् । स्याउको बगैंचा व्यवस्थापनका लागि आवश्यक दक्ष जनशक्तिको अभाव भए पनि विदेशी विज्ञहरूबाट परामर्श लिने गरेको प्रबन्ध निर्देशक गुरुङले बताए ।
एग्रो मनाङको स्याउबाट वाइन उत्पादन पनि सुरु गरेको छ । गत वर्ष करिब १ लाख २० हजार लिटर वाइन उत्पादन गरेको प्रबन्ध निर्देशक गुरुङले बताए । मनाङका किसानले इटालीबाट धेरै फल दिने फुजी, गाला, गोल्डेन र रेड डेलिसियस जातका स्याउका बिरुवा ल्याएर व्यावसायिक रूपमा हाइडेन्सिटी प्रविधि अपनाएर स्याउ खेती गर्न थालेका छन् ।
स्याउ उत्पादन र बिक्रीबाटै मनग्य आम्दानी हुने अवस्था सिर्जना हुन थालेपछि मनाङका किसानले परम्परागत स्याउ खेतीलाई परिष्कृत गर्दै व्यावसायिक फार्महरू बनाएर खेती गर्न थालेको मनाङ एग्रोका प्रबन्ध निर्देशक युवराज गुरुङले बताए ।
मनाङमा प्रतिहेक्टर २१ मेट्रिक टनसम्म स्याउ उत्पादन हुन्छ । समुद्री सतहबाट १८०० मिटर उचाइभन्दा माथि हाइडेन्सिटी प्रविधिबाट निर्माण गरिएका बगैंचामा फल्ने स्याउ हेर्दा राम्रो मात्र नभएर स्वादिलो र स्वस्थकर पनि हुन्छ । मनाङमा उत्पादित स्याउ लमजुङको बेसीशहर हुँदै पोखरा, चितवन, काठमाडौंदेखि अन्तर्राष्ट्रिय बजारसम्म निर्यात हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
स्याउ खेतीमा आकर्षण बढ्दो
युवा व्यवसायी टंक गिरीले जुम्लाको गुठी चौर गाउँपालिका वडा नं ३ मा १५ हजार उच्च घनत्वका गाला, गोल्डेन, फुजी र रेडकिङ जातका स्याउ रोपेर व्यावसायिक स्याउ खेती सुरु गरेका छन् । २०७९ सालबाट स्याउ खेती सुरु गरेका गिरीले तेस्रो वर्षमै ५५ टन स्याउ उत्पादन गरिरहेका छन् ।
उनले स्याउका बिरुवाहरूको संख्या बढाउँदै लगेर ४० हजार पुर्याउने लक्ष्यका साथ स्याउको बगैंचा विस्तार गरिरहेका छन् । करिब १८ हेक्टर भाडामा र ४ हेक्टर आफ्नै जग्गामा स्याउ खेती गरेका गिरीका अनुसार जुम्लामा व्यावसायिक स्याउ खेतीलाई अर्गानिक मल, औषधि र प्राविधिक जस्ता आधारभूत सुविधा छैन ।
साढे ८ करोडको लगानी गरेर व्यावसायिक स्याउ खेती गरेका गिरीले जुम्लामै ‘ए’ ग्रेडको स्याउ प्रति केजी २००, ‘बी’ ग्रेडको १८० मा बिक्री भएको बताए । त्यही स्याउलाई ढुवानी गरेर काठमाडौं पुर्याउन सक्दा प्रति केजी २८० देखि ३०० सम्ममा बिक्री हुन्छ ।
जुम्लाको स्याउ काठमाडौंमा पुर्याएर कोल्ड स्टोरमा भण्डारण गरेर अफ सिजनमा बिक्री गर्ने उद्देश्यका साथ व्यावसायिक स्याउ खेती सुरु गरेको गिरीले बताए । जुम्ला लगायत कर्णाली प्रदेशका मुगु, डोल्पा, हुम्ला र गण्डकी प्रदेशका मुस्ताङ र मनाङ स्याउका लागि प्राकृतिक दृष्टिले उपयुक्त स्थान भए पनि स्याउ खेती प्रवर्द्धनका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारसँग स्पष्ट नीति र कार्यक्रम नहुँदा व्यावसायिक खेती राम्रोसँग फस्टाउन नसकेको उनको भनाइ छ ।
नेपाल सरकारले स्याउ विकास बोर्ड गठन गरेर बोर्ड मार्फत तीनै तहका सरकारसँग समन्वय गरेर व्यावसायिक स्याउ खेतीलाई प्रवर्द्धन गर्नुपर्ने सुझाव गिरीको छ । स्याउ खेतीका लागि तीन महिनासम्म हिउँ पर्दा चिस्यान पर्याप्त हुन्थ्यो । पछिल्ला दिनहरूमा हिउँ पर्ने क्रम घट्दै गएका कारण स्याउमा सिंचाइ गर्नुपर्ने आवश्यकता बढ्दै गएको छ ।
देशभरि यो वर्ष स्याउ उत्पादन कति भयो भन्ने यकिन तथ्यांक भने अहिलेसम्म सरकारले राख्न सकेको छैन । राष्ट्रिय फलफूल विकास केन्द्र, कीर्तिपुरका सूचना अधिकारी सूर्यप्रसाद बरालले देशभरिको स्याउको बिक्री र आम्दानीको तथ्यांक आइनसकेको बताए । ‘देशभरि स्याउ उत्पादनले कति आम्दानी गर्यो भन्ने तथ्यांक वैशाखपछि मात्रै आउँछ’, बरालले भने ।
प्रतिक्रिया 4