
२९ मंसिर,काठमाडौं । बुधबार समयमै कार्यालय पुग्न ९ः ३०मा टीकाथिलीबाट बबरमहल हिंडेका सुमन शाही कार्यालय पुग्दा ११ बज्यो । उनलाई यत्रो समय लाग्नुको कारण थियो, सवारी जाम र करिडोरको यात्रा । जम्मा साढे ६ किलोमिटर यात्रा गर्न डेढ घण्टा मात्रै लागेन, उनको त्यो दिनको समय तालिका नै बिग्रियो ।
पछिल्लो समय कागेश्वरी मनोहरा करिडोरको बाटो उनी यात्रा गर्ने गरेका थिए, तर करिडोरमा कहिलेकाही हुने जामले कार्यालय समयमा नपुगेको उनको धेरै चोटी उदाहरण रहेको छ । ‘करिडोरमा एउटा ठूलो गाडी छिर्यो भने घण्टौं जाम हुन्छ, कहिले ढल फुटेर भद्रगोल भइरहेको हुन्छ । न यहाँ ट्राफिक छ, न नियम छ । मन लाग्दी छ,’ उनी गुनासो गर्छन् । शाहीले पछिल्लो समय करिडोर खुल्दा मुख्य सडकहरुमा जाम नहुने समस्या कम भएपनि यात्रा जोखिमपूर्ण रहेको बताए । करिडोरका सडक, फुटपाथ लगायतका संरचनाहरु राम्रो नहुँदा समस्या भइरहेको उनको तर्क छ ।
सडक खुले तर असुरक्षा कायमै
उनले भने जस्तै काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा अति जाम र भिडभाड भएपछि सवारी र पैदलयात्रुले करिडोर सडक रोज्न थालेका छन् तर ‘जोखिमयूक्त’ बाटो । उपत्यकाका वाग्मती, विष्णुमती, धोबीखोला, मनोहरा, महादेव खोला, साङ्ले खोला र गोदावरी खोलामा करिडोर सडक खुलेका छन् । करिडोर खुलेपछि नदि किनारका सडकमा सवारी चाप बढ्दा पैदलयात्रु मूल सडकमा जस्तै मारमा परेका छन् । पछिल्लो समय करिडोरमा चाप बढेपनि सरकारका निकायहरु काम नगर्दा पूर्वाधार भने निर्माण हुन सकेको छैन ।
असोजको दोस्रो साता आएको बाढीको कारणले कयौं दिन करिडोर हिँड्न नसक्ने अवस्था थियो । अहिले पनि करिडोरमा एक्लै हिंड्ने डरलाग्दो अवस्था रहेको पैदलयात्रूहरु बताउँछन् । ‘हामी सधैं करिडोरकै बाटो हिंड्छम तर करिडोरका सडकमा न बत्ती छ, न गतिलो फुटपाथ । त्यति मात्रै राम्रो बन्ने हो भने धेरै सजिलो हुन्थ्यो,’ वाग्मती करिडोरको बाटो भएर तीनकुने–च्यासल हिंड्ने शरद विश्वकर्मा भन्छन् ।
उनले भने जस्तै सवारी आवागमनको लागि मात्रै ठिक्क हुने करिडोर निर्माण भएको छ । सवारी साधनको लागि जाम छल्ने करिडोरले अन्य जोखिम बढिरहेको यात्रुहरु बताउँछन् ।
रातोपुलबाट अनामनगर हुँदै बबरमहल आउन लागेकी स्वेच्छा सिंह गत आइतबार ‘फसेको’अनुभव सुनाउँछिन् । ‘सायद फोहोर बोक्ने ठूलो गाडी जस्तो लाग्छ । बाटोमै बिग्रेछ, त्यसले गर्दा जाम भयो, करिडोरमा यति धेरै गाडी हिंड्छ एकैछिनमा पछाडि फर्कनै नसक्ने गरी फसियो, अगाडि जानेबाटो छैन, पछाडि जान सकिंदैन । ५ मिनेटको बाटो क्रस गर्न आधा घण्टा लाग्यो । काठमाडौं भनेर के गर्नु कहिलेकाँही दुर्गम जस्तै लाग्छ,’ सिंह भन्छिन् ।
उनले करिडोरले गर्दा पहिलेको भन्दा सजिलो भएपनि सवारी चाप अनुसार सडक, फुटपाथ र ट्राफिक प्रहरी नहुँदा असुरक्षित महसुस हुने बताउँछिन् । ‘कहिलेकाही सडकमा हिंडिरहेको मान्छेलाई लाग्छ कि भन्ने डर हुन्छ, न जेब्राक्रसिङ छ, न ट्राफिक चिह्नहरू । चालक र पैदलयात्रु दुवै मनलाग्दी हिँड्छन, यसले असुरक्षा बढाएको छ,’ उनले भनिन् ।
उपत्यकाको नदी करिडोरको जिम्मा पाएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति कहिले बजेट अभाव देखाउँदै आएको छ भने कहिले प्राकृतिक प्रकोपलाई देखाउँदै आएको छ । ‘करिडोर सधैं किन भद्रगोल ?’ भन्ने प्रश्नमा समितिका उपनिर्देशक रहेका प्रवक्ता उद्धव नेपाल असोजमा बाढी आउँदा सबैभन्दा धेरै क्षति नदि करिडोरको संरचनामा पुगेको बताउँछन् ।
उनले करिडोरमा रहेको संरचना, सडक सुधारको काम गरिरहेपनि प्रत्येक वर्ष वर्षाको क्षतिले असर पुर्याउने गरेको बताए । केही स्थानमा समितिले करिडोर स्थानीय तहलाई हस्तान्तरण गरिसकेको छ । युएन पार्कदेखि बल्खुसम्मको करिडोर समितिले ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । केही स्थानका करिडोरका उपत्यका विकास प्राधिकरणले समेत आफ्नो मातहतमा लिएर काम गरिरहेको छ । उपत्यकाका स्थानीय तहहरु भने करिडोरको सबै जिम्मा सम्बन्धित पालिकालाई नै दिनुपर्ने बताउँदै आएको छ ।
संरचनामा सुधार आयो भने सजिलो हुन्छ
करिडोरमा देखिएको सवारी चाप अनुसार संरचना नहुँदा सवारी चालक र यात्रुलाई मात्रै होइन ट्राफिक प्रहरीलाई पनि समस्या भएको देखिन्छ । करिडोरको सडकलाई व्यवस्थापन गर्न संरचनागत सुधार गर्नुपर्ने ट्राफिक प्रहरी बताउँछन् । उपत्यका ट्राफिक प्रहरीका प्रवक्ता एसपी संजय बहादुर राउत ट्राफिक व्यवस्थापनको दृष्टिकोणले करिडोर खुल्दा मुख्य सडकहरुलाई सहज भएपनि करिडोरको संरचनाले समस्या सिर्जना भइरहेको बताउँछन् ।
‘कतिपय ठाउँमा करिडोर सानो छ, कतिपय ठाउँ खाल्डो छ । सडक नियमित मर्मत नुहँदा धुलो र हिलो सधैं हुन्छ । यसले सवारी चाप भएको बेला जोखिम निम्त्याउँछ,’ राउत भन्छन् ।
उनका अनुसार करिडोरमा बनेको कतिपय संरचना ट्राफिक व्यवस्थापनको दृष्टिकोणले असहयोगी रहेका छन । ‘धोबीखोला करिडोरमै कतिय पुलहरुको उचाई कम हुँदा ठुला गाडी छिर्र्नै नसक्ने अवस्था रहेको छ,’ उनी भन्छन् ।
उनले सवारी चालक र यात्रुको लागि सुरक्षाको दृष्टिकोणले चुनौतीपूर्ण रहेको पनि बताउँछन् । ‘सवारी पास गर्ने कुरामा त करिडोर सडक हुँदा धेरै नै सजिलो भएको छ तर साना सडक, धेरै सवारी हुन्छ । त्यो माथि सडकमा फुटपाथ छैन, जेब्राक्रसिङ र लाइटहरु नहुँदा दुर्घटनाको जोखिम पनि उत्तिकै हुन्छ,’ प्रवक्ता राउत भन्छन् ।
उनले करिडोरको संरचनाहरुमा सुधार गर्ने हो भने उपत्यकामा धेरै ट्राफिक सुधार हुने बताउँछन् । ‘अहिले खोल्नको लागि खोलिएको जस्तो भएको छ तर करिडोरहरुमा संरचनागत सुधार भयो भने अहिले भइरहेको कार्यालय समयको ट्राफिक जाम निकै कम हुने थियो । सुरक्षाको दृष्टिकोणलेपनि राम्रो हुने थियो,’ राउत भन्छन् ।
उपत्यकामा डर लाग्दो दुर्घटनाको ग्राफ
काठमाडौंमा सवारी चाप र सडक संरचनाको अवस्था डरलाग्दो दुर्घटनाको तथ्यांकले पनि देखाउँछ । काठमाडौं उपत्यकामा दुर्घटनाको ग्राफ डरलाग्दो रहेको छ । चालु आर्थिक वर्षदेखि यताको ४ महिना अर्थात कात्तिक मसान्तसम्म मात्रै एक हजार ५०० भन्दा बढी दुर्घटना हुँदा ५४ जनाले ज्यान गुमाइसकेका छन् । साउनमा मात्रै ४३३ दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो भने ११ जना गम्भीर घाइते र ६०४ जना सामान्य घाइते भएका थिए ।
भदौमा ४१० वटा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो, यस्तै १९ जना गभ्मीर घाइते भएका छन् भने ५६६ सामान्य घाइते भएका छन् । यस्तै असोजमा ३७१ वटा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो ।
असोजमा १९ जना गम्भीर घाइते भएका छन भने ५०८ जना सामान्य घाइते भएका छन् । यस्तै कात्तिकमा ४०३ वटा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २८ जना गम्भीर घाइते भएका छन् । जसमा ५३१ जना सामान्य घाइते भएका छन् ।
तस्वीर : आर्यन धिमाल
प्रतिक्रिया 4