+
+
WC Series
सुदूरपश्चिम रोएल्स
115/0 (11.3)
VS
सुदूरपश्चिमले टस जितेर ब्याटिङ रोजेको छ ।
जनकपुर बोल्ट्स
0/0
पुस्तक समीक्षा :

पानीको रङ-भावनाको तरङ्ग

‘पानीको रङ’ नामक कविता संग्रहले पानीको रङ मार्फत समाजको बदलिंदो स्थिति र पर्यावरणीय प्रदूषण दुवैको गहिरो चित्रण गरेको छ। 

उमा शर्मा उमा शर्मा
२०८१ पुष ६ गते ११:१८

विज्ञानले रङ्ग, गन्ध अनि स्वादहीन भनेर परिभाषित गरेको तरल पदार्थ हो- पानी। हालै ऋषि बस्ताकोटीको ‘पानीको रङ’ नामक पुस्तक बजारमा आएको छ।

मेरा लागि लेखकको नाम नै यो पुस्तक पढ्नै पर्छ भन्ने मनस्थिति बनाइदिने कारक तत्त्व थियो। ऋषि बस्ताकोटीलाई मैले पहिलो पटक ‘बेलाको बोली’ का लेखकको रूपमा चिनेकी हुँ। उनका साझा पोष्ट र फित्कौलीमा ‘बेलाको बोली’ अन्तर्गत प्रकाशन हुने गरेका छोटा कविताहरूको म नियमित पाठक हुँ। समाजका विसङ्गति, समसामयिक मुद्दाहरू, विशेष गरेर भ्रष्ट राजनीति माथिको उनको प्रहार हामी जस्ता साधारण जनमानसको आवाज नै बनेको प्रतीत हुन्छ र यिनै लेखहरूले उनलाई एक स्थायी पहिचान पनि दिएको छ। निकै चोटिला र गहन हुँदाहुँदै पनि बोधगम्य हुनाले उनका रचना पढ्न म सधैं उत्साहित हुन्छु।

ऋषि बस्ताकोटी विषयवस्तुलाई निकै मिहिन ढङ्गले केलाएर लेख्ने संवेदनशील लेखक हुन्। उनको मुक्तक सङ्ग्रह ‘विसंगत बस्ती’ भित्रका चोटिला मुक्तकहरू पनि निकै नै अब्बल लागेको थियो मलाई। यस बाहेक पर्यावरण साहित्यप्रतिको उनको लगाव र दक्खल पनि सराहनीय मान्नुपर्छ।

कविताहरूको सङ्ग्रह भएको ‘पानीको रङ’ पुस्तक हात पर्ने बित्तिकै मनमा आएको पहिलो कुरा – कविले भावनाका कस्ता कस्ता रङ घोलेर पानीको रङ लेखे होलान्? नीलो रङ, हरियो रङ, रातो रङ वा इन्द्रधनुषको सातै रङ? विलम्ब नगरी पुस्तक पढ्न जुटें।

यो पानीको रङ पुस्तकमा जम्मा ४० वटा कविताहरू रहेका छन्। यस पुस्तकका कविताहरूले सजिलै हृदयलाई छोएकाले होला मैले एकै बसाइमा पुस्तकका सबै कविताहरू पढेर सिध्याएँ। कविताहरूको भावनात्मक गहिराइ र सरलता साथै तिनीहरूले व्यक्त गरेका विचार र अनुभूतिहरूले मलाई तीव्र रूपमा आकर्षित गरिरहे। पुस्तक भित्रका प्रत्येक कविता एक नयाँ अनुभूति र विचारको संसारमा डुबाउने जस्तो लाग्यो। यो एउटा पढाइको प्रक्रिया मात्र थिएन। यो एक प्रकारको आत्मीय यात्रा पनि थियो।

कविताहरू पढिसकेपछि मात्रै मैले भूमिका पढें। म प्रायः पुस्तक पढ्दा भूमिका अन्त्यतिर नै पढ्ने गर्छु। यसको कारण भनेको, यदि सम्बन्धित विषयका विज्ञहरूले लेखेको भूमिका पहिले नै पढें भने, पुस्तक पढ्दा मेरो आफ्नै विचार र धारणा स्वतन्त्र रूपमा विकसित गर्न गाह्रो पर्छ कि भन्ने डर हो। भूमिका पहिले नै पढ्दा त्यसले मेरो सोचलाई पूर्वनिर्धारित र प्रभावित बनाउन सक्ने खतरा हुन्छ कि भन्ने लाग्छ।

यस पुस्तकमा प्राध्यापक डा. गीता त्रिपाठीले भूमिका लेख्नुभएको छ। भूमिका एक पटक पढेर मन नै मानेन। पटक–पटक पढें। साँच्चै भन्नुपर्दा पुस्तकको गहन समीक्षा भूमिकाले नै गरिदिएको जस्तो लाग्यो। पुस्तकभित्रका कविताहरूलाई आफ्नो बौद्धिक चेतनाले केस्रा–केस्रा केलाएर निकै मिहिनेत गरेर लेखिएको जस्तो देखिने यो भूमिका नै यो पुस्तकको समीक्षा हो भन्दा कुनै अतिशयोक्ति नहोला। राम्रो कृतिले राम्रो भूमिका लेखक पाएको रहेछ भन्ने लाग्यो।

मलाई मन परेका केही कुरा— यो पुस्तकमा समावेश गरिएका कविताहरूलाई कविले विचारको प्रसारको साधन मात्र बनाएका छैनन्। यी कविताहरूले जीवन र जगतका गहिरा अर्थ र सौन्दर्यलाई वर्णन र विवरण भन्दा माथि उठेर कलात्मक ढङ्गले अभिव्यक्त गरेका छन्। उनले कवितालाई सन्देशवाहक मात्र नबनाएर संवेदनाका सूक्ष्म र गहिरा तहमा प्रवेश गरेर पाठकको हृदय र मनलाई छोएका छन्।

कविताहरूमा आफ्ना विचार, भावना, भोगाइ सबैलाई एक संवेगपूर्ण र सौन्दर्यपूर्ण रूपमा प्रस्तुत गरेका छन्। जीवनका विविध पाटोलाई उजागर गर्ने क्षमता राखेका कविताहरू चिन्ता, रोइलो, पिरलो, आरोप, प्रत्यारोप भन्दा माथि उठेर चिन्तनको तहसम्म पुगेका छन्।

उदाहरण

सूर्यबहादुर तामाङ- यस कवितामा, सूर्यबहादुर तामाङले संघर्षरत श्रमिक वर्गको प्रतिनिधित्व गर्छन्। आफ्नो जीवन कठिन मिहिनेत, संघर्ष र बलिदानमा बिताउने यी श्रमिकहरू प्रायः समाजमा उपेक्षित रहन्छन्। कविले यी सूर्यबहादुर तामाङलाई एक प्रतीकको रूपमा प्रस्तुत गर्दै समाजमा व्याप्त असमानतालाई मार्मिक ढङ्गले उजागर गरेका छन्।

कविताले श्रमिकहरूको श्रम र बलिदानको सम्मान र मूल्याङ्कन केवल उनीहरूको मृत्युपछि मात्र हुने गरेको तितो यथार्थ उजागर गर्दै मृत्यु पछि दिइने सामाजिक मान्यता र सम्मानको औचित्यको बारेमा प्रश्न उठाएको छ।

मूर्ति- यस कवितामा मूर्तिकारलाई श्रमजीवी वर्गको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ। मूर्तिकारले आफ्ना श्रम र कलाकौशलबाट मूर्ति बनाउँछन्, तर जब त्यो मूर्ति पुजिन थाल्छ, तब मूर्तिकारले आफ्नो मिहिनेतको साँच्चो मूल्य र सम्मान कहिल्यै प्राप्त गर्दैन। यो श्रमजीवी वर्गको सङ्घर्ष र त्यागको यथार्थ चित्रण हो।

समयरेखामा हामी – यो कवितामा प्रेम र सहकार्यको जटिल तर सुन्दर यात्रा देखाइएको छ। दुई आत्माहरू एकअर्कामा समाहित भएर जीवनलाई नयाँ दृष्टिकोण र साँच्चो साहचर्यको साथ अघि बढाएको प्रेमास्पद कविता निकै मिठो छ। समयसँगै जब दुई हृदय “तिमी” र “म” बाट “हामी” मा परिणत हुन्छ, तब हरेक पाइला र सङ्घर्ष साझा र सहज हुन्छ। यसैमा जीवनको साँच्चो अर्थ मिल्छ भन्ने कविताको भाव छ।

गाउँको बाटो- यो कवितामा आजको नेपालको कठोर यथार्थ देखाइएको छ। युवाहरू भविष्यको खोजीमा विदेश जानुपर्ने बाध्यतालाई राम्रो ढङ्गले लेखिएको छ। यहाँका नेताहरूका खोक्रा भाषणहरूले केवल आशा र सपना मात्र बाँड्छन् जसको कुनै वास्तविक प्रभाव मानिसहरूको जीवनमा परेको छैन भन्ने कटु यथार्थ देखाइएको कविता अहिलेको समयमा निकै नै सान्दर्भिक छ।

मेरा बा- आफ्ना बाबुको जीवनका सङ्घर्ष र बलिदानलाई सम्झँदै र सम्मान गर्दै लेखेको कविता हो, मेरा बा। परिवारको खुशी र भविष्यको लागि अहोरात्र खट्ने बाबुहरूले आफ्नै लागि भने कति बाँच्न पाए होलान्? भन्ने गम्भीर र सोचनीय भाव बोकेको कविता सबै सन्तानको लागि पठनीय छ।

बाका जुत्ता- बाबुको सङ्घर्ष र समर्पणको गहिरो अवलोकनबाट सृजित कविता हो। पुराना जुत्तामा आफ्नो यात्रा तय गरेका बाबुलाई उनको सपना र इच्छाशक्तिले गन्तव्यसम्म पुर्‍यायो। आफूलाई विभिन्न ब्राण्डका जुत्तामा सजाउने लेखकले बाबुको दृढ इच्छाशक्ति र जीवनका संघर्षलाई कदर गरेका छन्। कविताले बाह्य भौतिकता भन्दा जीवनमा उद्देश्य र समर्पणले नै असल गन्तव्यसम्म पुर्‍याउँछ भन्ने सन्देश पनि दिएको छ।

बाका जुत्ताका धसिएका तलुवा देखेका लेखक, जब आफ्नो सफलताको मार्गमा अघि बढिरहेको छोरालाई देख्छन्, तब उनी स्वाभाविक रूपमा खुशी महसुस गर्छन्। तर, जीवनको कठोर यथार्थलाई नकार्न सक्दैनन्। जीवनको सत्य बोधले उनी लेख्छन्– ‘छोरा अभिनव।’ “माथि गएका प्रत्येक वस्तु एक दिन तल झर्नै पर्छ” भन्ने सोचले एकै समयमा आनन्द र विशाद अनुभूत गराउने यो एक सफल कविता हो।

छोरा अभिनव- यो कविता एक आमाले आफ्नो छोराको जीवन यात्रालाई भावनात्मक दृष्टिले हेरेको कविता हो। छोरालाई सधैं अगाडि बढ्न, सफलता र सङ्घर्षका बीच यात्रा तय गर्न प्रेरित गर्ने यो कविता आफू दुई सन्तानको आमा भएको कारणले पनि मेरो लागि प्रिय बनेको छ। भिडमा हिंड्दै आफूलाई स्थापित गर्दै गएको छोरालाई आमा सधैं बालक र ‘अभिनव’— नयाँ सम्भावनाले भरिपूर्ण व्यक्ति देख्छिन्। एउटा पुरुष लेखकले आमाको माया र सङ्घर्षलाई यति गहिरो, संवेदनशील र सजीव रूपमा व्यक्त गर्नुलाई उनको ठूलो सफलता मान्नुपर्छ ।

पानीको रङ- संग्रहको यो प्रतिनिधि कविताले पानीको रङ मार्फत समाजको बदलिंदो स्थिति र पर्यावरणीय प्रदूषण दुवैको गहिरो चित्रण गरेको छ ।

कविले पानीको रङलाई समाजमा रहेका मानिसहरूको मानसिकता र विचारमा आएको विकृति र प्रदूषणसँग तुलना गरेका छन्। अहिलेको समयमा पानी र मान्छे दुवैमा देखा परेको अस्वाभाविक रङको चित्रण गरेका छन्। उनी एक मानवीय दृष्टिकोण र पर्यावरणविद्को दृष्टिकोणबाट पुराना दिनहरू जहाँ पानी र समाज दुवै निर्दोष र शुद्ध थिए, त्यो पुनर्स्थापना होस् भन्ने कामना गर्दछन्।

अन्त्यमा, ‘पानीको रङ’ पुस्तकमा बाल्यकालका सुनौलो सम्झना, देशप्रतिको अटल प्रेम, जीवन संघर्षका कथा, प्रेमका सहयात्रा, भ्रष्ट राजनीतिका पीडादायक यथार्थ, बिग्रँदै गएको वातावरणका कष्टहरू सबै समेटिएका छन्। यी कविताहरूले जीवनका अनगिन्ती रङहरूलाई संवेदनशील र गहिरो तवरले बाँधेर प्रस्तुत गरेका छन्।

लेखकका शब्दहरूले यसै गरी समाजलाई सधैं सचेत र प्रेरित बनाइरहोस्। कलम सधैं सक्रिय र प्रेरणादायक रहोस्! शुभकामना !

विता संग्रह – पानीको रङ 

प्रकाशक – शिखा बुक्स 

कवि – ऋषि बस्ताकोटी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?