२६ पुस, काठमाडौं । भारतको नयाँ दिल्लीमा आयोजना हुने प्रथम खो खो विश्वकप २०२५ मा प्रतिस्पर्धा गर्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शुक्रबार एक कार्यकमकाबीच नेपालको राष्ट्रिय पुरुष र महिला खो खो टोलीलाई बिदाइ गरेको हो । राखेपका सदस्य सचिव टंकलाल घिसिङले टोलीलाई शुभकामनासहित बिदाइ गरे ।
पहिलो पटक आयोजना हुन लागेको विश्वकपमा नेपालबाट महिला र पुरुष दुवै टोलीले भाग लिन लागेको हो । पुस २९ देखि माघ ६ गतेसम्म हुने खो खो विश्वकपमा नेपालबाट पुरुष र महिलाको १५-१५ जना गरी ३० खेलाडीसहित ४३ सदस्यीय टोली शनिबार भारत प्रस्थान गर्नेछ ।
खो खो विश्व कपमा पुरुषमा २० र महिलामा १९ टिमको सहभागिता रहने नेपाल खो खो संघका अध्यक्ष प्रदीप महर्जनले जनाएका छन् । पहिलो पटक हुन लागेको खो खो विश्वकपमा सहभागी हुन खेलाडीहरु उत्साहित रहेको र राम्रो नतिजा ल्याउने कप्तानहरुको विश्वास छ ।
यसअघि एसियन खो खो च्याम्पियनसिपमा नेपालको कप्तानी गरिसकेका हेमराज पनेरुले पुरुष र सरस्वती कठायतले महिला टिमको कप्तानी गर्नेछन् । दुवै कप्तानले विश्वकप खेल्न उत्साहित रहेको बताए ।
‘पहिलो पटक हुन लागेको खो खो विश्वकपमा प्रतिस्पर्धा गर्न जाँदैछाैं । हामीले एक महिनाको तयारी गरेका छौं, राम्रो नतिजा ल्याउने लक्ष्य छ’ कप्तान हेमराजले भने, ‘विश्वकप खेल्न पाउनु गर्वको विषय हो । यसलाई सम्झनलायक बनाउनेछाैं।’ उनले यसअघि एसियन च्याम्पियनसिपमा प्राप्त नतिजाभन्दा राम्रो नतिजा ल्याउने बताए ।
यस्तै महिला टिमकी कप्तान सरस्वतीले विश्वकप खेल्न उत्साहित रहेको र राम्रो नतिजा ल्याउने बताइन् । ‘हाम्रो तयारी राम्रो छ । सकेसम्म राम्रो नतिजा ल्याउने प्रयास गर्नेछाैं । भारतपछि बंगलादेशसँग हाम्रो टक्कर हो’ उनले भनिन् ।
नेपाल खो खो संघका अध्यक्ष प्रदिप महर्जनले तयारी राम्रो भएको बताउँदै अनलाइनखबरमा प्रकाशित समाचारका कारण सबैतिर खो खोको चर्चा भइरहेको उल्लेख गरे ।
प्रतिक्रिया 4