७ माघ, काठमाडौं । मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप २०२५ को आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डसँग जितनजिक पुगेर पराजित भयो । लो स्कोरिङ थ्रिलरमा स्कटल्याण्डले एक विकेटले बाजी मारेको थियो ।
यस नतिजा त्यसमाथि पनि ‘एक’ शब्द नेपाली क्रिकेटमा परिचित कुरा हो । चाहे त्यो पहिलो एकदिवसीय जितका बेला होस, वा विश्वकपमा व्यहोरेको हारको बेला होस्, ‘एक’ शब्द नेपाली क्रिकेटको वरपर घुमेकै छ ।
आज व्यहोरेको जस्तो हार नेपाली क्रिकेट इतिहासमा नौलो कुरा थिएन । पुरूष विश्वकप होस् वा महिला, रन होस् वा विकेट, अन्तर केवल एक कै छ र त्यो नेपालको पक्षमा भने आएको छैन । जितको नजिकसम्म लडेर भाग्यको साथ नपाउनु नेपाली खेलकुद इतिहासमै चल्दै आएको कुरा हो ।
यसअघि सन् २०२४ को पुरूष टी-२० विश्वकपमा नेपालले दक्षिण अफ्रिकासँग १ रनको हार व्यहोरेको थियो । त्यस घाउको दाग नेपालीहरूको मष्तिष्कमा अझै ताजै रहिरहँदा यस खेलको नतिजाले उक्त हारको फेरि याद दिलाइदिएको छ ।
ब्याटिङमा बलियो योगफल बनाउन नसकेपनि नेपालले कसिलो बलिङ गर्दै स्कटल्याण्डलाई दबाबमा राखेको थियो । यद्यपी भाग्यको साथ फेरि एकपटक नमिल्दा हार व्यहोरेको नेपालको सुपर सिक्सको सम्भावना पनि कमजोर बनेको छ ।
मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा भएको खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको थियो । पहिले ब्याटिङ गर्न कठिन देखिएको बाङ्गीको पिचमा पहिले ब्याटिङको निर्णय गर्नुको पछाडि एउटा राम्रो योगफल खडा गरेर डिफेन्ड गर्ने भन्ने बुझ्न सकिन्थ्यो ।
यसका लागि नेपालले आज एक्स्ट्रा पेसर खेलाएको थियो । उपकप्तान सोनी पाख्रिन र स्पीन बलिङ अलराउण्डर तृष्णा बिकलाई बाहिर राख्दै नेपालले ज्योत्सनिका मरासिनी र पेसर कृष्मा गुरुङलाई मौका दिएको थियो । यद्यपी नेपालका लागि केही रन कम भएको देखियो ।
स्कटल्याण्डलाई सुरूवातदेखि नै दबाबमा राखेको नेपालले लगातार रूपमा विकेट निकाल्दै गएपछि स्कटल्याण्ड दबाबमा आएको थियो । अन्तिम विकेट बाँकी छँदा स्कटल्याण्डलाई जितका लागि १६ रन आवश्यक थियो । त्यसपछि नेपालले दुई चौका व्यहोरेको थियो । मोमेन्टम प्राप्त गरिसकेको नेपालले अन्तिम विकेट निकाल्न सकेन ।
कहाँ चुक्यो नेपाल ?
नेपालले पहिले ब्याटिङ गर्दा फेरि पनि २० ओभर खेल्न सकेन । नेपाल १८.५ ओभरमा अलआउट भएको थियो । पूरै २० ओभर खेलेर थप १० देखि १५ रन हाराहारीमा जोड्न सकेको भए नेपाल बलियो अवस्थामा हुने थियो । ब्याटिङमा कप्तान पुजा महतोबाहेक अन्यबाट उल्लेख्य योगदान हुन सकेन ।
अर्कोतर्फ नेपालले फिल्डिङमा दुई महत्वपूर्ण क्याच छाडेको थियो । एउटा क्याच सेट ब्याटर पिपा स्प्रोलको थियो । १४औं ओभरको अन्तिम बलमा अगाडि बढेर ठुलो शट खेलेकी उनको ब्याटको तल्लो भागमा लागेको थियो । बल सिधै किरण कुवँर भएको ठाउँमा गएको थियो तर उनको हातबाट क्याच छुट्यो ।
त्यसपछि १७औं ओभरको दोस्रो बलमा अर्की ब्याटर ग्याब्रियला फोन्टेनाको क्याच साबित्री धामीको हातबाट छुटेको थियो । त्यसपछि स्प्रोलको विकेट गएको भएपनि फोन्टेन्ला अन्तिमसम्मै अविजित रहँदै स्कटल्याण्डको जितमा अविजित रहिन् । त्यो दुई क्याच छाड्नु नेपालका लागि महंगो साबित भएको थियो ।
त्यसैगरी नेपालले अन्तिम विकेट लिन सकेन । स्कटल्याण्डको नवौं विकेट जाँदा ५८ रनको स्कोरमा थियो र जितबाट १६ रन अझै टाढा थियो । यहाँबाट पनि नेपालले खेल गुमाएको थियो । स्कटल्याण्डका लागि दुई बाउन्ड्री आएको भएपनि एउटा राम्रो बलले स्कटल्याण्डलाई अलआएट गर्ने थियो । विशेषगरी विकेट टु विकेट बलिङमा स्कटिश ब्याटरहरू फसिरहँदा नेपाली बलरले लाइन मेन्टेन गर्न सकेनन् र अन्तिम विकेट निस्कन सकेन । एज लागेर समेत चौका आइरहेका थिए ।
खेलपछि कप्तान पुजा महतोले पनि बलिङमा धेरै राम्रो गरेको भएपनि पाएको अवसर सदुपयोग गर्न नसकेको उल्लेख गरिन् । ‘हामीले केही अवसरहरू गुमायौं । पाएका अवसरहरूलाई सदुपयोग गर्न सकेको भए हामीले जित्न सक्ने थियौं। बलरहरूले धेरै राम्रो गरे । केही रन बढी बनेको भए जित्ने सम्भावना हुन्थ्यो’ पुजाले भनिन् ।
अबको यात्रा कस्तो ?
नेपालले समूह डी मा दुई हार व्यहोरिसकेको छ । पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपालले यस खेल जितेर सुपर सिक्समा बलियो सम्भावना बनाउने अवसर थियो तर त्यसमा चुक्दा अब सुपर सिक्स पुग्न निकै कठिन हुनेछ ।
नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार बलियो टोली अस्ट्रेलियासँग खेल्नेछ । नेपाललाई उक्त खेलमा जितको आवश्यकता हुनेछ भने स्कटल्याण्ड पनि बंगलादेशसँग पराजित हुनुपर्नेछ ।
अस्ट्रेलिया टेस्ट राष्ट्र पनि भएकाले निकै बलियो टोली हो । अस्ट्रेलियालाई हराउन नेपाललाई सहज हुनेछैन । अस्ट्रेलियालाई जितेको खण्डमा नेपाली क्रिकेटकै लागि ऐतिहासिक उपलब्धि हुनेछ ।
प्रतिक्रिया 4