+

बच्चाले बान्ता गर्दा मुखको साथै नाकबाट दूध किन निस्कन्छ ?

२०८१ माघ  १४ गते १७:१९ २०८१ माघ १४ गते १७:१९
बच्चाले बान्ता गर्दा मुखको साथै नाकबाट दूध किन निस्कन्छ ?

साना बालबालिकाले आमाबाबुलाई आफ्नो समस्या मौखिकरूपमा व्यक्त गर्न सक्दैनन् । यस्तो अवस्थामा आमाबाबुले बच्चाको व्यवहारलाई नियालेर उसको समस्या अनुमान गर्नुपर्छ । धेरै बालबालिकालाई आमाको दूध पिउँदा बान्ता हुने गर्छ । यसका धेरै कारण हुन सक्छन् । यो कमजोर पाचन प्रक्रियाको पनि सङ्केत हो । यस समयमा बच्चाको पाचन प्रणालीको विकास भइरहेको हुन्छ ।

कतिपय अवस्थामा धेरै पटक ग्यास्ट्रोएसोफेजियल रिफ्लक्सका कारण बच्चालाई बान्ता हुन्छ । तर, कुनैबेला बान्ता गर्दा बच्चाले मुख र नाक दुवै तिरबाट दूध निकाल्न सक्छ । यसरी बच्चाले नाकबाट दूध निकाल्दा आमाबुबा आत्तिन सक्छन् । यस्तोमा बच्चाले बान्ता गर्दा मुख र नाकबाट दूध निस्कनुको कारण के हो ?

‘ओभरफिडिङ’ एकै पटक धेरै दूध खुवाउँदा

धेरै पटक बच्चालाई आवश्यकता भन्दा बढी दूध खुवाइयो भने यस्तो समस्या देखिन सक्छ । उनीहरूको सानो पेटले त्यति धेरै दूध थाम्न सक्दैन र बच्चालाई बान्ता हुन्छ अनि अतिरिक्त दूध निस्कन्छ ।

‘ग्यासट्रोइसोफिजिक’ रिफ्लक्स

यो एक सामान्य अवस्था हो जसमा बच्चाको पेटको दूध फेरि खानाको नलीमा बग्छ । जसका कारण नाक र मुख दुवैबाट दूध निस्कन्छ ।

सुताएर दूध खुवाउँदा

दूध खुवाउँदा बच्चालाई सुताएर खुवाइयो वा बच्चाको टाउको तल निहुरिएको बेला दूध खुवाइयो भने घाँटीमा अड्किएर नाक र मुखबाट बाहिर निस्कन सक्छ । बच्चालाई सहज हुने स्थितिमा राखेर दूध खुवाउनु पर्छ ।

कब्जियत भएमा

कहिलेकहीँ बच्चाहरूलाई कब्जियतको समस्या हुन्छ र पाचन ठिकसँग हुन सक्दैन, जसका कारण पनि बान्ता हुन सक्छ । दूधको एलर्जी भएमा केही बच्चाहरूलाई दूधको एलर्जी हुनसक्छ, जसले पाचन प्रणालीमा समस्या निम्त्याउँछ र बान्ता हुने हुन सक्छ ।

बच्चाको पाचन प्रणाली कमजोर हुँदा

नवजात शिशुहरूको पाचन प्रणाली पूर्णरूपमा विकास हुँदैन । यसले खाना वा दूध राम्रोसँग पचाउन गाह्रो भएर बान्ता हुने र नाक र मुखबाट दूध निस्कने हुन्छ ।

फ्लु वा भाइरल संक्रमण भएमा

फ्लु र भाइरल सङ्क्रमणका कारण पनि बालबालिकालाई बान्ता हुन सक्छ । यो पेटको भाइरल संक्रमण हुन सक्छ । यसमा बान्ता, पखाला, ज्वरो र पेट दुख्ने जस्ता लक्षण देखिन्छन् ।

नाकबाट दूध निस्क्यो भने के गर्ने ?

बच्चालाई सही स्थितिमा राखेर दूध खुवाउनुपर्छ । साथै जब बच्चालाई दूध खुवाइन्छ, उसको टाउको अलिकतिमाथि उठाउनुपर्छ । बच्चालाई दूध खुवाएपछि हल्लाउनु हुँदैन । हरेक दिन एउटै समयमा दूध खुवाउनु पर्छ ।
बच्चालाई बिस्तारै दूध खुवाउनु पर्छ । एकैचोटि धेरै दूध खुवाउनु हुँदैन । दूध खुवाएपछि हरेक पटक बच्चालाई डकार गराउनुपर्छ ।

कुन अवस्थामा चिकित्सकलाई भेट्ने ?

बान्ता भएपनि बच्चा खुसी छ, खेलिरहेको छ, रोइरहेको छैन, कुनै किसिमको समस्या नपरेको देखिएको छैन भने यो सामान्य हो । चिकित्सककहाँ जानु पर्दैन । तर, यदि बच्चा चिढचिढ हुँदै गएको छ, दूध पिउन मानिरहेको छैन, दूध खुवाउँदा रुन्छ, छिटै तौल घटिरहेको छ भने उसलाई समस्या भइरहेको छ भनेर बुझ्नुपर्छ । यस्तो अवस्थामा अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।

बान्ता स्तनपान
डा. बाबुराम पाण्डे
लेखक
डा. बाबुराम पाण्डे
बालरोग विशेषज्ञ

डा. पाण्डे हाल राप्ती एकेडेमी अफ हेल्थ साइन्सेसमा कार्यरत छन् । बालरोगमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २२७७९ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय