१८ माघ, काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलामा थाइल्याण्डले पहिलो जित हासिल गरेको छ । शुक्रबार भएको खेलमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई ८ विकेटले हराएको हो ।
नेदरल्याण्ड्सले दिएको १२३ रनको लक्ष्य थाइल्याण्डले २ ओभर अगावै २ विकेटको क्षतिमा पूरा गर्यो । थाइल्याण्डका लागि नानपत कोन्चारोन्काईले अविजित ५६ रनको पारी खेलिन् । त्यस्तै अफिसरा सुवान्चोनराथीले २८ रन बनाउँदा नथकन चन्थम २३ रनमा अविजित रहिन् ।
नेदरल्याण्ड्सका आइरिस विलिङ र कारोलिन डे लाङले १-१ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले कप्तान बाबेट डे लिडेको अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १२२ रन बनाएको थियो । बाबेटले ५२ रन बनाइन् । आइरिस विलिङले २८ रन बनाइन् ।
थाइल्याण्डका लागि थिपात्चा पूथावोङले २ विकेट लिँदा ओनिचा कामचोम्फुले १ विकेट लिए ।
शृंखलामा शनिबार नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । बिहीबार भएको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो ।
प्रतिक्रिया 4