१८ चैत, काठमाडौं । नेपाल पुलिस क्लबले लगातार दोस्रोपटक तथा समग्रमा चौथोपटक प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित्यो । शनिबार सम्पन्न फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै साविक विजेता पुलिसले उपाधि रक्षा समेत गर्यो ।
घरेलु क्रिकेटमा विभागीय टोलीकै वर्चस्व रहँदा त्यसमा पनि पुलिसकै दबदबा रहँदै आएको छ । पीएम कपमा चारपटक फाइनल पुगेको पुलिसले चारैपटक उपाधि जितेको छ जसमध्ये एक चाहिँ आर्मीसँग संयुक्त रूपमा जितेको थियो ।
पुलिस पीएम कपमा जति चम्किरहेको छ त्यति नै अभागी आर्मी छ । हरेक संस्करणको फाइनलमा पुगेको आर्मीले उपाधि चाहिँ दुईपटक मात्र जितेको छ ।
एकपटक फेरि पुलिसले आफ्नो दबदबा कायमै राख्दै पीएम कपको उपाधि जितेको छ । समूह चरणका ९ मध्ये ८ खेल जितेको पुलिस अन्तिम खेलमा आर्मीसँगै पराजित भएपनि फाइनलमा आर्मीलाई नै हराउँदै उपाधि रक्षा गर्यो ।
विभागीयबाहेकका बाँकी ७ टोलीमध्ये एक-दुई टोली मात्र शीर्ष ४ को होडमा रहँदा अन्य टोलीका लागि भने यो केवल सहभागिताका रूपमा मात्रै रहँदै आएको छ ।
पुलिसको दबदबा
पछिल्लो समयमा नेपाली घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबको दबदबा छ भन्दा फरक पर्दैन । जुन हिसाबले पुलिसले प्रदर्शन गरिरहेको छ र सफलता हासिल गरिरहेको छ त्यही कुराले यो तथ्य प्रमाणित गर्छ ।
सन् २०१७ को पीएम कप पहिलो संस्करणमै पुलिसले उपाधि जितेको थियो, संयुक्त रूपमा आर्मीसँग उपाधि बाँडेको भएपनि पुलिसको उपाधि यात्रा त्यहीँबाट सुरु भएको थियो । त्यसयता पुलिसले जब जब फाइनल खेलेको छ, तब उपाधि पनि जितेको नै छ ।
सन् २०१८ मा सेमिफाइनलसम्म मात्र पुगेको पुलिसले त्यसपछिको वर्षमा फेरि उपाधि जितेको थियो । त्यसपछिका दुई संस्करणमा भने पुलिसको यात्रा सेमिफाइनलसम्म मात्रै रह्यो ।

सन् २०२४ र २०२५ भने पुलिस फेरि च्याम्पियन बन्यो । संयोगको कुरा के छ भने हरेक संस्करणको फाइनल खेलेको त्रिभुवन आर्मीले २ पटक मात्र उपाधि जित्दा पुलिसले हरेकपटकको फाइनलमा आर्मीलाई नै हराएर उपाधि जितेको छ ।
यहीबीचमा सन् २०२४ को पीएम कपमा शीर्ष चारमा रहेका टोलीबीच हुने जय ट्रफी एलिट कप दुई दिवसीय क्रिकेट प्रतियोगितामा पनि पुलिस नै च्याम्पियन बन्यो । यसरी हेर्दा २ वर्षभित्र पुलिसको नाममा ३ उपाधि रहे । यिनै कुराहरूले पुलिसको दबदबा घरेलु क्रिकेटमा कति देखिन्छ भन्ने प्रमाणित गर्छ ।
क्लबका पूर्वकप्तान तथा हालका प्रशिक्षक रहेका मन्जीत श्रेष्ठले यो दबदबा भन्दा पनि सबैले राम्रो क्रिकेट खेल्नाले सम्भव भएको बताउँछन् ।
‘दबदबाभन्दा पनि खेलाडीहरूले ठीक समयमा राम्रो क्रिकेट खेलेका छन्, माहोल बुझेर खेलेका छन् त्यही कारणले बाहिरबाट हेर्दा दबदबाजस्तो देखिन्छ’ श्रेष्ठले भने ।
कप्तान दिपेन्द्रसिंह ऐरीले पनि सबै खेलाडीहरूबाट धेरै राम्रो प्रदर्शन भएकाले उपाधि रक्षा सम्भव भएको उल्लेख गरे । ‘ब्याटिङ र बलिङ दुवै पक्षमा खेलाडीहरूबाट राम्रो भयो, एक खेल हारेपनि फाइनलमा राम्रो गर्यौं’ उनले भने ।
तालिम र उच्च मनोबल
विभागीय टोली भएकाले अन्य प्रदेशको टिमभन्दा यी टोलीहरूको तालिम अलि विशेष नै हुनेगर्छ । नेपाल पुलिस क्लबले फिटनेस र ट्रेनिङमा पनि निकै मेहेनत गरेको म्यानेजर चित्र विष्ट बताउँछन् ।
‘हाम्रो खेलाडी छनोटदेखि ट्रेनिङसम्म नै विशेष किसिमले ध्यान दिएका हुन्छौं, त्यहीँबाट निखारिएर खेलाडीहरूले राम्रो प्रदर्शन गर्छन् र हामी जित्न सक्छौं’ उनले भने ।
राष्ट्रिय टिमबाट ठुलो अनुभव बोकिसकेका खेलाडीका कारण टिमकै मनोबल उच्च हुने र अन्य खेलाडीहरूलाई पनि सहज हुने विष्टको भनाइ छ ।
यता प्रशिक्षक श्रेष्ठले पनि खेलाडीहरूको जुन लेभलको डेडिकेसन छ त्यसकै कारण यस्तो नतिजाहरू सम्भव भएको बताए । ‘मैदानमा गर्ने प्रदर्शनको पछाडि जुन खेलाडीहरूको पोजिटिभ मोटिभेसन छ, त्यही कुराले गर्दा हाम्रो मनोबल उच्च थियो र सबैकुरा बबाल भयो’ उनले भने ।
अब्बल टिम निर्माण
पुलिसमा राष्ट्रिय खेलाडीको पनि बाहुल्यता रहेको छ । उमेर समूहदेखि नै युवा प्रतिभाहरू छनोट गरेर टिम निर्माण गर्ने पुलिसले लामो समयसम्म राम्रो प्रदर्शन गर्न सक्ने टिम निर्माण गरेको हुन्छ ।
यही क्लबबाट गरेको प्रदर्शनका आधारमा खेलाडीहरूले राष्ट्रिय टिममा समेत स्थान बनाइसकेका छन् । यो टिम कम्बिनेसनको कुरा पनि बलियो पक्षका रूपमा रहेको प्रशिक्षक श्रेष्ठको भनाइ छ । यद्यपी राष्ट्रिय टिमको खेलाडी भएर मात्र पनि सबैकुरा नहुने उल्लेख गर्दै अनुभवको प्रयोगबाट नतिजा सम्भव गराउनुपर्ने कुरा महत्वपूर्ण हुने जनाए ।
‘राष्ट्रिय खेलाडीहरू अन्य टिममा पनि छन्, पुलिस नै किन त भन्दाखेरि खेलाडी, कोच र म्यानेजरहरूको बीचमा एकदम राम्रो तालमेल मिलिरहेको हुन्छ, त्यही अनुसारको टिम बनेको छ सो, हामीले राम्रो पनि गरिराखेका छौं’ उनले भने ।

‘दिपेन्द्र, कुशलजस्ता खेलाडीहरू जसलाई हामीले धेरै पहिलेदेखि नै टिममा ल्यायौं उमेर समूहदेखि नै खेलेका छन्, मैले आफ्नै भाइहरू जस्तो मानेर ब्याक गराउँथे जसका कारण हामी लामो समयसम्म कन्सिस्टेन्ट र कन्फिडेन्ट भएर अगाडि बढ्यौं’ श्रेष्ठले थपे ।
त्यस्तै म्यानेजर विष्टले पनि टिम निर्माणदेखि नै ब्याकअपलाई समेत बलियो बनाउने कुरामा जोड लिइएको उल्लेख गरे । ‘यो सबै हाम्रो कोच, टिम खेलाडीहरूकै कारण सम्भव भएको हो’ उनले भने, ‘हामीले टिममा भर्ती गराउने बेलादेखि नै युवा तथा विभिन्न प्रतियोगितामा राम्रो गरिरहेका खेलाडीहरू छान्ने गरेको छौं। टिमको ब्याकअप पनि राम्रो हुने गरेकाले भविष्यका दिनहरूमा पनि टिम कमजोर नहुने किसिमका खेलाडीहरू समावेश गर्ने उनको भनाइ छ ।
विनिङ मेन्टालिटी
कुनैपनि टिमलाई जस्तोसुकै अवस्थामा पनि खेल जित्नका लागि जितको मानसिकता अर्थात् विनिङ मेन्टालिटी एकदम जरुरी हुन्छ । नेपाल पुलिस क्लब त्यो कुरामा पनि अन्य टिमभन्दा अगाडि देखिन्छ ।
यही क्षमताको कारण पुलिस क्लब जुनसुकै परिस्थिति र जुनसुकै कन्डिशनको वातावरणमा पनि खेल जित्नका लागि सक्षम रहन्छ । प्रशिक्षक श्रेष्ठले पनि टिममा उत्कृष्ट मेन्टालिटी रहेको बताए ।
‘अनुभवी र मेहेनती खेलाडीहरूकै कारण मोमेन्टम कस्तो आयो त भन्दा हामीले कहिल्यै पनि धेरै दबाब लिएनौं, त्यहीकारण जुनसुकै परिस्थितिमा पनि कन्डिशन बुझेर खेल्ने एउटा हाइ मेन्टालिटी चाहिँ कायम नै रह्यो’ उनले भने ।
◊◊◊
नेपाल पुलिस क्लब राष्ट्रिय खेलाडी तयार गर्ने हबमध्येको एक बनेको छ । यहीँबाट धेरै खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाइसकेका छन् । कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, ललित राजवंशी, गुल्शन झालगायतका खेलाडीहरू पुलिसबाटै निखारिएका खेलाडी हुन् ।
भर्खरै सम्पन्न पीएम कपमा यिनै खेलाडीहरूबाट उच्च प्रदर्शन हुँदा पुलिसले उपाधि रक्षा गर्दै चौथोपटक पीएम कपको उपाधि जित्यो । ललित राजवंशी त उत्कृष्ट खेलाडी नै घोषित भएका थिए ।
 
                    










 २०८१ चैत  १८ गते १५:४३
                        २०८१ चैत  १८ गते १५:४३                     
                         
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4