६ वैशाख, काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा रेफ्रीको गलत निर्णयको ललितपुर सिटी एफसीले अपिल गर्ने भएको छ ।
पहिलो क्वालिफायर खेलमा रेफ्रीको गलत निर्णयका कारण दुई रातो कार्ड ब्यहोरेको ललितपुरले निर्णयविरुद्ध अपिल गर्ने भएको हो ।
‘प्रतियोगिताको स्तर बढाउन टिमको हिसाबले हामीले धेरै मेहनत गर्यौं । तर एनएसएस खेलाउने रेफ्रीको स्तर नै भएन,’ ललितपुर सिटीका प्रबन्ध निर्देशक आलोक जोशीले भने ।
‘रेफ्रीको गलत निर्णयका कारण हाम्रा दुई महत्त्वपूर्ण खेलाडीले रातो कार्ड पाएका छन्,’ जोशीले भने, ‘यो गलत निर्णयको विरुद्धमा हामीले कडा अपिल गर्नेछौं ।’
रेफ्रीको गलत निर्णयको कारण खेलको सुरुवातबाटै दश खेलाडीमा सिमित बनेको ललितपुरले धनगढीलाई हराउँदै प्रतियोगिताको फाइनल पुगेको छ । तर पहिलो क्वालिफायर खेलमा दुई रातो कार्डका कारण फाइनल खेल अघिनै टिमलाई ठूलो झट्का लागेको छ ।
खेलको सुरुवातमा धनगढीका मोहमद अल जाउनीबाट खराब ट्याकल ब्यहोरेका ललितपुरका मणिकुमार लामाले उल्टै रातो कार्ड पाएका थिए । छातिमा कडा ट्याकल खाएका मणिलाई खेलको १६ औं मिनेटमा मुख्य रेफ्री उमेश बिडारीले मैदान बाहिरको बाटो देखिएका थिए ।
खेलको अन्तिममा समेत खेल सम्हाल्न नसकेका रेफ्री बिडारीले ललितपुरका पापे डिकेटलाई रातो कार्ड देखाएका थिए । खेल सकेर मैदान बाहिर निस्किएका बिडारीले ललितपुरका कप्तान अनन्त तामाङलाई समेत पहेलो कार्ड दिए ।
रेफ्रीबाट गरिएको गलत निर्णयको ललितपुरले विरोध गरेको छ । उसले रेफ्रीको स्तरमाथि गम्भिर प्रश्न उठाउँदै निर्णयविरुल अपिलमा जाने बताएको हो । रेफ्रीकै स्तर र नियतमाथि प्रश्न उठाउँदै एफसी चितवनीले यसअघि आयोजकलाई चेतावनी समेत दिएको थियो ।
चितवनले फ्रेन्चाईज टिमले गरेको लगानीलाई रेफ्रीको गलत निर्णयले जोखिममा पारेको भन्दै प्रतियोगिताबाट बाहिरिन सक्ने सम्मको चेतावनी दिएको थियो ।
विवाद र स्क्यान्डलले घेरिएको नेपाल सुपर लिगको रेफ्रीको निर्णयमाथि पहिलो सिजन देखिनै आलोचना र असन्तुष्टि देखिदै आएको छ । लिगको स्तर बढाउन विदेशी रेफ्री ल्याउने सम्मको बाचा आयोजकले गरेपनि मैदानमा त्यो काम हुन सकेको छैन ।
(तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर)
प्रतिक्रिया 4