९ वैशाख, काठमाडौं । भारतका स्टार पेस बलर जसप्रित बुमराहलाई विस्डेन क्रिकेटर्स अल्मानाक २०२५ मा विश्वकै अग्रणी पुरुष क्रिकेटरको रूपमा सम्मानित गरिएको छ। विस्डेनका सम्पादक लरेन्स बूथले बुमराहलाई ‘सालकै असल खेलाडी’ भन्दै प्रशंसा गरेका छन्।
बुमराहले सन् २०२४ मा २०० टेस्ट विकेट २० भन्दा कम औसतमा लिएर ऐतिहासिक उपलब्धि हासिल गरे। यो उपलब्धि हासिल गर्ने उनी पहिलो बलर बनेका हुन्। उनले सो वर्षमा ७१ टेस्ट विकेट मात्र १५ को औसतमा लिए, साथै भारतलाई वेस्ट इन्डिजमा भएको टी-२० विश्वकप जिताउन निर्णायक भूमिका खेले।
बुमराहले अष्ट्रेलियामा सम्पन्न बोर्डर-गावस्कर ट्रफीमा १३.०६ को औसतमा ३२ विकेट लिएर भारतीय आक्रमणलाई एक्लैले सम्हाले। सम्पादक बूथले लेखेका छन्, ‘उनी यति खतरनाक र अनौठो शैलीका थिए कि उनको अगाडि रन बनाउनु पनि कठिन थियो। उनको बलिङ एक किसिमको संगीतजस्तै लाग्थ्यो।’ बूथका अनुसार बुमराहले आफैंलाई इतिहासकै महान बलरहरूमध्ये एक बनाएका छन्।
महिला क्रिकेटतर्फ भारतकी स्मृति मन्धानाले विश्वकै अग्रणी महिला क्रिकेटर को उपाधि पाइन्। उनले सन् २०२४ मा सबै फर्म्याटमा गरेर १६५९ रन बनाइन्, जुन महिला क्रिकेटमा एकै वर्षको कीर्तिमान हो। उनले चारवटा ओडिआई शतक बनाइन्, जुन अर्को रेकर्ड हो। उनले जुन महिनामा दक्षिण अफ्रिकाविरुद्ध १४९ रनको शानदार टेस्ट पारी पनि खेलिन्।
त्यस्तै वेस्ट इन्डिजका निकोलस पूरनलाई सन् २०२४ को विश्वकै उत्कृष्ट टी२० खेलाडी घोषणा गरिएको छ भने वर्षको उत्कृष्ट प्रदर्शन को उपाधि न्यूजिल्याण्डका मिचेल सान्टनरलाई दिइएको छ।
सान्टनरले भारतविरुद्ध दोस्रो टेस्टमा १३ विकेट लिँदै न्यूजिल्याण्डलाई सिरिज जिताउन मद्दत गरे। यो भारतले २०१२ पछि घरेलु मैदानमा गुमाएको पहिलो सिरिज हो। न्यूजिल्याण्डले सिरिज ३-० ले जित्दै ऐतिहासिक सफलता हात पारेको थियो।
विस्डेनले प्रत्येक वर्ष घोषणा गर्ने “पाँच क्रिकेटर अफ दि इयर” मा यसपटक सरे क्लबका तीन खेलाडी – गस एटकिन्सन, जेमी स्मिथ, र ड्यान वोरल – समावेश छन्। साथै ह्याम्पशायरका लियम डसन र इंग्ल्याण्डकी सोफी एक्लेस्टोन पनि छनोट भएका छन्।
वोरलले सरेलाई लगातार तेस्रो काउन्टी च्याम्पियनसिप जिताउन ५२ विकेट लिए। एटकिन्सनले आफ्नो टेस्ट डेब्यु वर्षमै ५२ विकेट र एक शतक पनि बनाए। डसनले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट योगदान दिए, ९५६ रन र ५४ विकेट सहित। एक्लेस्टोनले टी२० मा इंग्ल्याण्डका लागि सर्वाधिक विकेट लिएर सफल वर्ष बिताइन्।
-एजेन्सीबाट
 
                    










 २०८२ वैशाख  ९ गते ११:०५
                        २०८२ वैशाख  ९ गते ११:०५                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4