+
+
Shares

उपत्यका उपप्रमुख सञ्जाल बैठकमा नीति तथा कार्यक्रमबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते १९:०५

२१ वैशाख, काठमाडौं । स्थानीय तहमा उपप्रमुख र उपाध्यक्षहरूका अधिकार, प्राप्त अधिकारको प्रभावकारी कार्यान्वयन, आपसी सहकार्य, समन्वय, सम्बन्ध र साझा कार्यक्रमका विषयमा विगत अभ्यासलाई बृहत र सूक्ष्म समीक्षा गर्ने निर्णय भएको छ ।

यस्तै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे साझा रूपमा छलफल पनि भएको छ ।

कीर्तिपुर नगरपालिकाले आयोजना गरेको ‘काठमाडौं उपत्यका उपप्रमुख/उपाध्यक्ष सञ्जाल’ बैठकले विगतको प्रारम्भिक समीक्षा गर्दै यस्तो निर्णय गरेको हो ।

हरेक बैठकमा उपप्रमुखको कार्य क्षेत्रसँग सम्बन्धित एउटा विषयमा विज्ञको प्रस्तुतीकरण सहित छलफल गर्ने गरिएको छ । यसरी गरिएको छलफलको प्रभावकारिता र अधिकार प्रयोगसँगै आगामी वर्षको बजेट, नीति तथा कार्यक्रमका साझा विषय बैठकमा छलफल हुनेछ । त्यो बैठक काठमाडौं महानगरपालिकाले आयोजना गर्ने छ ।

३० फागुन २०७९ मा काठमाडौं महानगरपालिकाले आह्वान गरेको पहिलो बैठकबाट प्रारम्भ भएको सञ्जालले आज प्रारम्भिक समीक्षा सहित १०औं बैठक सम्पन्न गरेको छ ।

हरेक महिना फरक पालिकाका उपप्रमुख/उपाध्यक्षको अध्यक्षतामा बैठक आयोजना हुने गरेको छ । हरेक बैठकले आगामी बैठक आयोजना गर्ने पालिका र बैठकमा छलफल गर्नुपर्ने विज्ञ प्रस्तुति सहित विषय निर्धारण गर्ने गरेको छ ।

यस क्रममा आजको बैठकको अध्यक्षताका लागि गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यलाई बैठकको निर्णय पुस्तिका हस्तान्तरण गरेकी थिइन् ।

कानुनले उपप्रमुख/उपाध्यक्षलाई दिएका अधिकारका बारेमा समान बुझाइ निर्माण गर्ने, कार्य प्रणालीमा एकरूपता ल्याउने, साझा सवालमा सहकार्य तथा समन्वय गर्ने, समस्या र चुनौतीलाई साझा संयन्त्र मार्फत समाधान गर्ने, असल अभ्यास र सिकाइ आदान–प्रदान गर्ने सञ्जाल गठनको उद्देश्य हो ।

बैठकमा कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोलले, सञ्जालमा आपसी ज्ञान, सिप र क्षमता आदान–प्रदान गरेपछि अधिकारको व्यवस्थित प्रयोगलाई पूर्ण बनाउन मद्दत हुने धारणा राखे ।

उपत्यकाको एकीकृत र समन्वयात्मक विकासका लागि साझा बुझाइ निर्माण गर्न, उपप्रमुख र उपाध्यक्षलाई निक्षेपण गरिएको अधिकारबाट नगरवासीलाई अधिक लाभ दिने क्षमता विकास गर्ने कार्यका लागि सञ्जालको प्रयोग गर्नुपर्ने काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले बताइन् ।

अघिल्लो बैठकका अध्यक्ष गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले नेपाल भाषा र तामाङ भाषालाई कामकाजी भाषाका रूपमा प्रयोग गर्ने विषयमा अघिल्लो बैठकले दिएको पृष्ठपोषण लाभदायक भएको उल्लेख गरिन् ।

सञ्जालमा उपत्यकाका २ महानगरपालिका सहित १८ नगरपालिका र ३ गाउँपालिका गरी २१ स्थानीय तहका उपप्रमुख/उपाध्यक्ष सदस्य छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?