+
+
Shares

कांग्रेस–एमालेले फेरि थाले उपसभामुख हटाउने छलफल

स्रोतका अनुसार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीकै प्रस्तावमा उपसभामुख रानामगरलाई पदमुक्त गर्नेबारे छलफल अगाडि बढेको हो । ती स्रोतका अनुसार उपसभामुख रानालाई पदमुक्त गर्ने प्रस्ताव कांग्रेसको पदाधिकारी बैठकसम्म पुगेको छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८२ जेठ २ गते २३:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्ने विषयमा पुनः छलफल थालेका छन्।
  • कांग्रेसभित्रैबाट पनि यस विषयमा विभिन्न मत र विरोध देखा परेको छ।

२ जेठ, काठमाडौं। प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्नेबारे फेरि छलफल थालेका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीकै प्रस्तावमा उपसभामुख रानामगरलाई पदमुक्त गर्नेबारे छलफल अगाडि बढेको हो । ती स्रोतका अनुसार उपसभामुख रानालाई पदमुक्त गर्ने प्रस्ताव कांग्रेसको पदाधिकारी बैठकसम्म पुगेको छ ।

गत शुक्रबार, (२६ वैशाखमा) बसेको पदाधिकारी बैठकमा गृहमन्त्री रमेश लेखकले यो विषय प्रवेश गराएका थिए । एक उच्च नेताका अनुसार गृहमन्त्री लेखकले पछिल्ला राजनीतिक घटनाक्रम, एमालेसँगको सम्बन्ध, संवैधानिक निकायहरुमा रिक्त पदाधिकारी पदपूर्ति लगायतबारे जानकारी गराएका थिए ।

ब्रिफिङकै क्रममा गृहमन्त्री लेखकले संवैधानिक निकायका पदाधिकारीहरुमा सिफारिस गर्ने संवैधानिक परिषद्‌मा कांग्रेसबाट सदस्य नभएको पनि बताए । र सँगै, सर्वोच्च अदालतमा विचाराधीन ५२ जना संवैधानिक पदाधिकारीहरुको सम्भावित फैसलाबारे पनि कुरा राखेका थिए ।

सर्वोच्चले २८ जेठमा ५२ जना संवैधानिक नियुक्तिमाथि फैसला सुनाउँदा नियुक्ति बदर हुनसक्नेबारे पनि अनुमान बैठकमा प्रस्तुत भएको थियो । यदि ती पदाधिकारीको नियुक्ति बदर भए फेरि राजनीतिक भागबण्डाका आधारमै सिफारिस गर्नुपर्ने अवस्था आउनेबारे पनि बैठकमा छलफल भयो ।

तर संवैधानिक परिषदमा कांग्रेससँग प्रतिनिधित्व नरहेको परिस्थितिबारे कुरा उठ्यो । ‘संवैधानिक परिषद्मा कांग्रेसबाट प्रतिनिधित्व भएन । त्यसैले उपसभामुख हटाऔं । कांग्रेसबाट बनाऔं भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो सभापति शेरबहादुर देउवालाई भनेको भन्यै छन्,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘सभापतिलाई पनि संवैधानिक परिषद्मा आफ्नो प्रतिनिधि भएन भन्ने छ ।’

कांग्रेस बैठकमा गृहमन्त्री लेखकले विस्तारमा कुरा राखेपछि केही नेताले उपसभामुख हटाउनुपर्ने तर्कमा समर्थन जनाएका थिए । उपसभामुख ‘हटाउनु हुन्न्’ भन्ने मत राख्ने नेताहरुले सत्तारुढ दलभित्रै गम्भीर अभियोग लागेका नेताहरुको माथि प्रश्न उठाएका थिए । बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने उपस्थित थिएनन् ।

कांग्रेस बैठकमा गृहमन्त्री लेखकले बिस्तारमा कुरा राखेपछि केही नेताले उपसभामुख हटाउनुपर्ने तर्कमा समर्थन जनाएका थिए । उपसभामुख ‘हटाउनु हुन्न्’ भन्ने मत राख्ने नेताहरुले सत्तारुढ दलभित्रै गम्भीर अभियोग लागेका नेताहरुको माथि प्रश्न उठाएका थिए ।

‘सत्तारुढ दलभित्रै उपसभामुख इन्दिरा रानामगर भन्दा गम्भीर अभियोग लागेका व्यक्तिहरु छन् । उनीलाई पदमुक्त गराउँदा राम्रो सन्देश जाँदैन,’ पदमुक्त गर्न हुँदैन भन्ने नेताहरुको तर्क थियो, ‘गम्भीर अभियोग लागेका कांग्रेस–एमाले भित्रका व्यक्तिहरु कारबाहीको दायरामा आउने अवस्था बन्दै गए त्यस्तै प्रकृतिको अभियोगमा उनी स्वतः तानिन्छन् ।’

संवैधानिक परिषदमा प्रधानमन्त्री, विपक्षी दलको नेता, प्रधानन्यायधीश, सभामुख, उपसभामुख र राष्ट्रिय सभाका अध्यक्ष गरी ६ सदस्यीय हुने व्यवस्था छ । विपक्षी दलको नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् भने राष्ट्रिय सभाको अध्यक्षमा माओवादी पृष्ठभूमिकै नारायण दाहाल छन् । उपसभामुख रानामगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बनेकी हुन् ।

आफूसँगै अमेरिका जान नेपालस्थित अमेरिकी दूतावासमा असम्बन्धित पाँच जनाका अन्तर्वार्ता मिलाइदिन पत्र लेखेर पदीय दुरुपयोग गरेको भन्दै यसअघि पनि कांग्रेस–एमालेले उनलाई हटाउने तयारी गरेका थिए । त्यसबेला सांसदहरुको हस्ताक्षर समेत संकलन गरिएको थियो । ३ असोजसम्म उपत्यका नछोड्न सांसदहरुलाई ह्वीप लगाएका थिए ।

तर कांग्रेसभित्रैबाट विरोध र दुई तिहाई मत नपुग्ने अवस्था बनेपछि त्यसबेला दुई दल पछि हटेका थिए । उपसभामुख रानामगरले अन्जानवश त्रुटी भएको भनी माफी मागेकी थिइन् ।

कांग्रेसका एक नेता भने संवैधानिक नियुक्तिमा २/४ पद बढ्ने लोभले कांग्रेस त्यसतर्फ लाग्न नहुने बताउँछन् । ‘ओलीले कांग्रेसलाई भागवण्डामा माइनस गरेर जान सक्ने अवस्थै छैन। उपसभामुख कांग्रेसको बनेर संवैधानिक परिषदको सदस्य भएपनि बढ्ने २/४ जना होला,’ उनले भने, ‘ओलीको पछि लागेर कांग्रेसले आत्मघाति काममा साथ दिनु हुँदैन ।’

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?