
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा कृषिसँग सम्बन्धित २० भन्दा बढी संघले सरकार कृषि क्षेत्रमा गम्भीर नभएको समीक्षा गरे।
- सहभागी संघहरूले नीति स्पष्टता, प्रविधि हस्तान्तरण र सरकारी सहजीकरणको माग गरे।
- उद्योगीहरूले जग्गा, कच्चा पदार्थ र बीमाको अभावको समस्या बताए।
- कृषि लागत र निर्यातमा सरकारको पहल नहुँदा चुनौती आएको उल्लेख भयो।
४ वैशाख, काठमाडौं । आइतबार नयाँ बानेश्वरको एक होटलमा नेपालमा कृृषि उद्यमसँग सम्बन्धित २० भन्दा बढी वस्तुगत संघले एउटै मञ्चमा जम्मा भएर सरकार कृषिप्रति गम्भीर नभएको समीक्षा गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा नेपाल कुचो संघ, रुद्राक्ष व्यवसायी संघ, नेपाल यार्सागुम्बा संघ तथा नेपाल डेरी एसोसिएसनको संयुक्त आयोजनामा ‘कृषि क्षेत्रका चुनौती, सम्भावना र नवप्रवर्तनको खोजी’ कार्यक्रम भएको थियो । तर, अधिकांशले सरकार कृषि उद्यममा निजी क्षेत्रप्रति गम्भीर नहुँदा सम्भावना भन्दा धेरै चुनौतीबारे चर्चा गरेका थिए ।
सहभागी निजी क्षेत्रको कृषिसँग सम्बन्धी उद्यमी, व्यवसायीको संघसंस्थाले कृषि क्षेत्रमा नीतिगत स्पष्टता, प्रविधि हस्तान्तरण, गुणस्तरीय उत्पादन, बीमा, ल्याब परीक्षण, बजारीकरण र सरकारी सहजीकरणका लागि समन्वयात्मक प्रयास अपरिहार्य रहेको साझा धारणा व्यक्त गरे ।
‘कृषि क्षेत्रको लगानीमा सरकारले वातावरण बनाएन’
डेरी एसाोसिएसन अध्यक्ष प्रह्लाद दाहालले उद्योगीलाई सरकारले जग्गा खोज्न गाह्रो पारेको बताए । उनले उद्योग स्थापनाभन्दा जग्गा किन्न धेरै लगानी गर्नुपर्ने बाध्यता भएको बताए ।
‘उद्योगीलाई जग्गा छैन तर औद्योगिक क्षेत्रभित्र गाडीको शोरुम भएको अवस्था छ,’ दाहालले भने । उनले नेपालमा उद्योगको लागि सहज वातवारण नभएको भन्दै कच्चापदार्थ ल्याउन महँगो परेको बताए ।
फ्लोरीकल्चर एसोसिएसन अध्यक्ष राजेशभक्त श्रेष्ठ नेपालले फूलको बिरुवा ल्याउन नपाएको बताए । ‘किट जोखिम विश्लेषण नहुँदा हामीले बिरुवा ल्याउन पाएका छैनौं । जसले गर्दा अवैधानिक फूल आयात भइरहेको छ,’ उनले भने ।
यस्तै यार्सागुम्बा संघ अध्यक्ष निराजन चलाउनेले सरकारले आम्दानी गरेको मात्रै देखे पनि विश्व बजारमा ब्रान्डिङको काम गर्न नसकेको बताए ।
कोल्ड स्टोर संघ अध्यक्ष कृष्णभक्त श्रेष्ठले विद्युत् प्राधिकरणका कारण कोल्ड स्टोर धराशायी बन्न पुगिरहेको बताए । नेपाल प्लाइउड एसोसिएसन अध्यक्ष होमप्रसाद घिमिरेले यस क्षेत्रमा बीमाको व्यवस्था नभएको बताउँदै सरकारले अध्ययन गरेर सहजीकरण गर्नुपर्ने धारणा राखे ।
‘कृषि लागत नघटाए किसान पलायनको डर’
नेपाल बीउ व्यवसायी संघ अध्यक्ष सुरेश गुरुङले सरकारी लापरबाहीका कारण अर्बौंको बीउ विदेशबाट आयात भइरहेको बताउँदै रैथाने बीउ संरक्षण र प्रवद्र्धनमा जोड दिए ।
‘रासायनिक मल ल्याउँदा शून्य प्रतिशत भन्सार छ तर अर्गानिक मल आयात गर्नुपर्ने अवस्था आउँदा २४.३ प्रतिशत तिर्नुपर्छ,’ उनले भने ।
नेपाल कृषि मेसिनरी व्यवसायी संघ उपाध्यक्ष सुनिता नेम्हाफुकीले सार्वजनिक खरिद ऐनले व्यवसायीलाई अवरोध गरेको भन्दै ऐन सुधारको माग गरिन् ।
दाना उद्योग संघ अध्यक्ष रवि पुरीले मकै, गहुँ लगायत दानाका लागि चाहिने खाद्यान्न वार्षिक ४० अर्बको आयात गर्नुपर्ने भएकाले लागत बढ्ने गरेको बताए ।
पश्मिना उद्योग संघ अध्यक्ष धनप्रसाद लामिछानेले संसारभरि नेपालको चौँरी, भेडाको उनको बजार भए पनि सरकारले वास्तै नगरेको गुनासो गरे ।
‘निर्यातमा सरकारको पहल पुगेन’
निर्यात हुने कृषिजन्य उद्योग संघहरूले निर्यातमा सरकारको पहलकदमी नभएको टिप्पणी गरे ।
नेपाल अलैँची व्यवसायी महासंघ अध्यक्ष निर्मल भट्टराईले जलवायु परिवर्तनका कारण पछिल्लो समय उत्पादनमा ह्रास आएका बताउँदै सरकारले जलवायुमैत्री किरा, उपचार गरिएका बिरुवा उत्पादन गर्नुपर्ने बताए ।
उनले अलैँची क्षेत्रमा बीमा गर्न कम्पनीहरूले वास्ता नगर्दा किसान समस्या परेको र तत्काल सरकारले ध्यान दिन आग्रह गरे ।
नेपाल कफी व्यवसायी महासंघ अध्यक्ष ओमनाथ अधिकारीले मध्यपहाडी क्षेत्रलाई कफी पकेट जोन घोषण गर्न माग गरे । उनले नेपालमा कफीको सम्भावना विभिन्न ठाउँमा रहेका बताउँदै सरकारले त्यसको लागि आवश्यक पहल गर्नुपर्ने बताए ।
नेपाल सुपारी उत्पादक तथा व्यवसायी संघ अध्यक्ष देवीप्रसाद खतिवडाले सुपारीका लागि मुख्य बजार भारत रहेकाले सरकारले निर्यात सहजीकरण गर्नुपर्ने धारणा राखे ।
यस्तै नेपाल छुर्पी व्यवसायी संघ अध्यक्ष रेशम पोखरेलले नेपाल विश्वमै उत्कृष्ट छुर्पी निर्यात गर्ने देश हुन सक्ने भन्दै सरकारले नीतिगत काममा सहयोग गर्नुपर्ने बताए ।
निर्यात व्यवसायी महासंघ अध्यक्ष गोविन्दप्रसाद घिमिरेले किसानको हकहितमा आवाज उठाउने सबै संघसंस्था एक भएर विदेशिएका युवा रोक्न आवश्यक रहेको बताए ।
नेपाल कत्था संघ अध्यक्ष शिवप्रसाद घिमिरेले निर्वाहमुखी कृषिबाट व्यवसायीमुखी कृषिमा रूपान्तरण गर्नुपर्ने र कृषि उपज ढुवानीका लागि ‘कृषि नम्बर प्लेट’ लागु गर्नुपर्ने माग गरे ।
त्यसैगरी नेपाल तयारी पोसाक उद्योग संघ अध्यक्ष पशुपति पाण्डेले अल्लो, केतुकी लगायत बोटबिरुवा कुहिएर गए पनि सरकारले वास्ता नगर्दा समस्या भएको बताए ।
लबिङ गर्छौं : कृषि उद्यम केन्द्र
नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र सभापति डीबी बस्नेतले कृषिसँग सम्बन्धित विषय सम्बोधन गर्न सरकार समक्ष लबिङ गर्ने बताए ।
महासंघ वस्तुगत उपाध्यक्ष हेमराज ढकालले अगामी दिनमा किसानका समस्या समाधान गर्न महासंघले कृषि क्षेत्रसँग सम्बन्धित संघसंस्थासँग छलफल गरेर अघि बढ्ने बताए ।
प्रतिक्रिया 4