+
+
Shares

तरुण दल खुकुरी काण्ड : ज्यान मार्ने उद्योगमा ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी

घटना भएको तीन दिनपछि घाइतेका परिवारले दिएको जाहेरी दर्ताका आधारमा ४ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ७ गते १३:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तरुण दल लमजुङ अधिवेशनमा आपसी विवादका क्रममा खुकुरी प्रहारबाट घाइते भएकाका आफन्तले दिएको उजुरीको आधारमा ४ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
  • जाहेरी दर्ता नभएको भन्दै पीडितले दबाब दिएपछि पक्राउ पुर्जी जारी भएको र अनुसन्धान भइरहेको छ।
  • घटनाका कारण गम्भीर घाइते भएका व्यक्तिहरू चितवन मेडिकल कलेजमा उपचार गराइरहेका छन् र घटनालाई राजनीतिक विवादको रूपमा हेरिएको छ।

७ जेठ, पोखरा । नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दल लमजुङको शनिबार भएको अधिवेशनमा उत्पन्न विवादपछि खुकुरी प्रहार गर्ने ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । घटना भएको तीन दिनपछि घाइतेका परिवारले दिएको जाहेरी दर्ताको आधारमा ४ दिनपछि ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

पीडितले जाहेरी दर्ता नगरेको भन्दै चौतर्फी दबाब भएपछि जाहेरी दर्ता भएर जिल्ला अदालत लमजुङबाट खुकुरी प्रहार गर्ने मध्यनेपाल नगरपालिका–७ का ३८ वर्षीय धनसुब्बा तामाङ (धन), राइनास नगरपालिका–६ का ४० वर्षीय गणेश गुरुङ, मर्स्याङ्दी गाउँपालिका–५ का ४२ वर्षीय कुमराशी गुरुङ (भूपेश), दोर्दी गाउँपालिका वडा नम्बर ४ बस्ने होमराजघले विरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।

‘सोमबार जाहेरी दर्ता भएर मंगलबार पक्राउ पुर्जी जारी भएको हो । उनीहरूको खोजी भइरहेको छ,’ लमजुङ प्रहरी प्रमुख रोशन बोहोराले भने, ‘ज्यान मार्ने उद्योगमा उनीहरूलाई पक्राउ गरेर बाँकी अनुसन्धान अगाडि बढ्छ ।’

उनीहरूलाई अपराध संहिता २०७४ को १८३ बमोजिम पक्राउ पुर्जी जारी गरिएको हो । यसमा ज्यान मार्ने उद्योग गर्न नहुने व्यवस्था छ । ‘कसैले कसैको ज्यान मार्ने नियतले त्यसको उद्योग गर्न हुँदैन,’ उक्त दफामा भनिएको छ । त्यसैको उपदफा १ बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ ।

तरुण दलको आन्तरिक विवादका कारण गत शनिबार भएको खुकुरी प्रहारबाट घाइते भएका ४ मध्ये गम्भीर घाइते बन्न पुगेका बेसीशहर नगरपालिका–९ का वडाध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजंग गुरुङ, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारीको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत र नेपाल तरुण दलका सदस्य शंकर सापकोटाको लमजुङमै उपचार भइरहेको छ ।

नेपाली कांग्रेसको १३औं महाधिवेशनपछि शक्ति संघर्ष गर्दै र प्रतिष्ठाको लडाइँ लड्दै आएका गण्डकीका अर्थमन्त्री डा. टकराज गुरुङ र वन तथा वातावरण मन्त्री भेषबहादुरको टकरावकै कारण तरुण दलको पाँचौ जिल्ला अधिवेशन विवादले हिंसात्मक रूप लिएको थियो ।

घटनापछि पनि प्रहरीले खुकुरी प्रहार गर्नेलाई संरक्षण गरेको, जाहेरी दर्ता नगरेको र उनीहरूलाई सुरक्षित स्थानमा पुर्‍याउने काम गरेको घाइतेहरूले गुनासो गरेका थिए । घटनालाई आन्तरिक राजनीतिक विषय बनाएर मिलापत्र गराउने तयारीसमेत भएको नेताहरूले बताएका थिए ।

आँखै अगाडि खुकुरी, रड र दियो बाल्ने पानसलगायत हतियारले प्रहार गर्दा पनि पक्राउ गनरी छोडिएको भन्दै प्रहरीमाथि प्रश्न उठेको थियो । बेसीशहर मूल बजारकै सार्वजनिक चोकमा कुखुरी प्रहार गरेर हिंसात्मक गतिविधि गर्नेलाई छुट दिन नहुने कांग्रेस नेता शेखर कोइराला पक्षले समेत दबाब दिँदै आएको थियो ।

राष्ट्रिय सभा सदस्य तथा दरुण दलका निवर्तमान अध्यक्ष जीतजंग बस्नेत, तरुण दलका अध्यक्ष विद्वान गुरुङ, गण्डकीका मन्त्रीसमेत सहभागी अधिवेशनमा खुकुरी प्रहार नै हुँदा अधिवेशन मात्रै भाँडिएको थिएन, गुटको नाममा भएको हिंसात्मक गतिविधिको उजागरसमेत भएको थियो ।

घटनापछि पनि अधिवेशन जारी रहिरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवाको फोनपछि अधिवेशन रोकिएको नेताहरूको भनाइ थियो ।

तरुण दलको जिल्ला अधिवेशन लमजुङबाट सुरु भएको थियो । अधिवेशन थालिएको पहिलो जिल्लामै हातहतियार प्रहार हुँदा नेताहरूले भने घटनालाई सामान्यीकरण गरिरहेको गुनासो थियो ।

घाइतेहरूले आक्रमणकारीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

नेताहरूको गुटगत समूहकै संरक्षण र उक्साहटमा घटना भएको समेत केही नेताहरूले बताएका छन् ।

देउवा समूहका भनिएका जिल्ला सभापतिसमेत रहेका अर्थमन्त्री गुरुङको समूहले अधिवेशनमा असन्तुष्टि व्यक्त गरिरहेको अर्का निवर्तमान कांग्रेस सभापतिसमेत रहेका भेषबहादुरको समूहलाई आक्रमण गरेको भिडियो र तस्वीरहरू सार्वजनिक भएको थियो ।

पूर्णकालीन सदस्यताबाटै हटाइदिने, प्रतिनिधि आउनै नदिएर उम्मेदवार नै हुन नदिने काम डा. गुरुङ पक्षधर समूहका तरुणहरूले गरेको अर्को समूहको अरोप छ ।

प्रतिनिधि छनोटमै निषेध गरिएको भन्दै अधिवेशन रोक्नुपर्ने माग गर्दै एउटा समूह पुगेको थियो । उनीहरूले कार्यक्रममै नाराबाजी गर्न थालेपछि बाहिर निकालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?