
News Summary
Generated by OK AI. Editorially reviewed.- ‘पीडा गीत’ नाटकले नेपालको द्वन्द्वकालीन पीडालाई व्यक्तिगत स्मृतिको माध्यमबाट प्रस्तुत गर्दछ।
- निर्देशक चे शंकरले सामाजिक दस्तावेज प्रस्तुत गर्दै युद्धको व्यक्तिगत प्रभावलाई उजागर गरेका छन् ।
- नाटकले न्याय र शान्तिको आवश्यकतालाई जोड दिन्छ र विस्थापितहरूको पीडालाई स्मरण गराउँछ।
१० जेठ, काठमाडौं । विकल्प आर्ट सेन्टरको सानो कोठामा मञ्चमा घोप्टो परेर सुस्केरा हालिरहेको एक भरिया । द्वन्द्वले उसका आफन्त खोसे । र, सँगसँगै खोसे गाउँमा बस्ने वातावरण पनि ।
उसको आँखामा दशकौंको पीडा छचल्किन्छन् । आवाजमा गहिरो दर्द सुनिन्छ जसले सम्झाउँछन् उसले गुमाएका आफन्त र गाउँले परिवेश । मनोलापहरूले खोतल्छन् द्वन्द्वले निलेको एउटा सुखी परिवारको अतीत ।
पात्र हुन्- दल बहादुर जो द्वन्द्वमा आफन्त गुमाउँछन् । परिवार भताभुङ्ग हुन्छ । गाउँमा बस्न सक्ने अवस्था हुँदैन । ऊ सहर पस्छ । मुग्लान भासिन्छ । तर, उसलाई मुग्लानमै बसिरहन मन लाग्दैन । देशको मायाले स्वदेश फर्काउँछ ।
देशभक्तिले उसलाई मुग्लानबाट स्वदेश नै फर्कायो । राष्ट्रवादी शासकहरूको देशमा देशभक्तको कन्तबिजोगकको कथा हो पीडा गीत ।
सहरमा भरिया बन्छ जहाँ उसले भोंक मेटाउन अनेकौं यत्न गर्छ । तर, सजिलो छैन ।
आकाशमा हेलिकप्टर उड्दा उसका द्वन्द्वका घाउहरू उकल्चिन्छन् । ऊ कभर लिन्छ । घोप्टिएर जीउ जोगाउन खोज्छ ।
उसले सहरमा व्यहोरेको दुःख र पाएको धोकाको प्रतिक्रियामा बोलेका हरेक वाक्यहरू कुनै दार्शनिकको पुस्तकका अंशहरू जस्ता सुनिन्छन् ।
दुःख र पीडाले इस्पात बनेको मान्छे, दार्शनिक बनेको मान्छे तर ऊ आफैंमा निरक्षर छ । शब्द लेख्न सक्दैन तर शब्दको शक्तिहरूबाट आफ्नो कथा बताउन सक्छ कुनै दार्शनिकले जस्तै ।
यो कथा दलबहादुरको मात्र होइन, यो हाम्रो सबैको कथा हो।
‘पीडा गीत’ – खगेन्द्र लामिछानेको एकल नाटकले नेपालको द्वन्द्वकालीन पीडालाई व्यक्तिगत स्मृतिको माध्यमबाट प्रस्तुत गर्छ। निर्देशक चे शंकरको कुशल निर्देशनमा कलाकार निर्भिकले दल बहादुरको भूमिकामा दर्शकहरूको हृदयलाई छुन्छन्।
दलबहादुरले सबै गुमायो । ऊसँग एउटा नाम्लो छ । जसले गुमायो, उसैले सुनाउँछ इतिहास—मौन रहेका हजारौं नेपालीको आवाज ।
कतै हराएका छौं हामी—कसैका सपना युद्धमा झरे, कसैका बुबा फिर्ता आएनन्, र कसैको पहिचानै हरायो। तर जब एकजना रंगकर्मी “दलबहादुर” बनेर मञ्चमा उभिन्छन्, हामी सबैसँग प्रश्न गर्छन्: के हामीले पीडितहरूलाई बिर्सियौँ?
विस्थापितको कथा
नेपालको द्वन्द्वकालमा १७ हजारभन्दा बढी मानिसको मृत्यु भयो, हजारौं बेपत्ता भए। तर यी संख्याहरूभित्र लुकेका छन् व्यक्तिगत पीडाका कथाहरू। दल बहादुरको माध्यमबाट नाटकमा सुन्न पाइन्छ- विस्थापनको पीडा – जब घर छोडेर सहर आउनुपर्छ कुनै नागरिकलाई ।
नागरिकले व्यहोर्नुपरेको पहिचानको संकट – न गाउँको, न सहरको । यस्तोमा मान्छे स्मृतिको बोझले थिचिन्छ जसको दिन रातजस्तो हुन्छ र रात पनि रात जस्तो हुँदैन किनकि उसको हरेक रातको निद्रा खोसिएको हुन्छ ।
ऊ अभावका बीचमा भोकले सेकिंदा पनि दुई गाँस अन्न होइन, न्याय खोजिरहेछ, आफ्नो अतित फिर्ता मागिरहेको हुन्छ यो देशको शासकसँग ।
निर्देशक चे शंकरले नाटकमार्फत् एउटा सामाजिक दस्तावेज प्रस्तुत गरेका छन् जसले आवाज दिन्छ मौन रहन बाध्यहरूलाई । दर्शकलाई महसुस गराउँछ युद्धको व्यक्तिगत प्रभावलाई ।
प्रश्न उठाउँछ संक्रमणकाली न्यायको ढिलासुस्तीप्रति र जोड्न खोज्छ पुस्ताहरूबीचको दूरीलाई ।
नाटक हेरिरहँदा दर्शकको आँसुमा छलकिन्छ सत्य । दल बहादुरको मार्मिक संवादले दर्शकहरूको आँखा भरिन्छ। कसैको घाँटीमा गाँसिएको छ शब्द, कसैको हाजमा कम्पन। यो केवल अभिनय होइन, यो जीवन्त इतिहास हो निर्भीकको ।
शान्ति प्रक्रिया सुरु भएको २ दशक हुन लागिसक्यो । तर अझै पनि हराएकाहरूको ठेगाना छैन ।पीडितहरूलाई न्याय मिलेको छैन । क्षतिपूर्ति अधुरै छ । मुख्य कुरा त सत्य अन्वेषण अलपत्र छ ।
‘पीडा गीत’ले यी सबै प्रश्नहरूको जवाफ माग्छ। यसले फेरि जोड दिएर भन्छ – ढिलो न्याय पनि के न्याय । नाटकले सोध्छ- हाम्रो त्याग र बलिदानलाई भर्याङ बनाएर नेताहरू सत्तामा गए । तर हामी इतिहासमा किन गुमनाम छौं ? वर्तमानमा पनि किन अभावको नारकीय जीवन बाँच्न अभिशप्त छौं ?
नाटकले जोडदार सन्देश दिन्छ- संक्रमणकाली न्यायको विषय अब राजनीतिक बहसको सामग्री मात्र नभएर मानवीय पीडाको प्रश्न बनोस्। हराएकाहरूको खोजी तीव्र पारियोस्। पीडितहरूलाई न्याय मिलोस्।
दल बहादुरका जस्ता हजारौं व्यक्तिहरूको पीडालाई केवल कलाकृतिमा सीमित नराखेर वास्तविकतामा समाधान खोज्नुपर्छ । किनकि न्याय भनेको केवल कानुनी प्रक्रिया मात्र होइन, यो मानवीय गरिमा हो।
यो नाटक एक युद्धपीडितको आत्मस्वर हो, जसले विस्थापित, युद्धका घाउ, स्मृति र संक्रमणकालीन नेपालको राज्यका कमजोरीहरू उजागर गर्छ। नागरिकको ट्रमालाई रंगमञ्चमा उतार्छ, जीवन्त रूपमा ।
यो नाटक हेर्दा, फोटो खिच्दा, मेरो क्यामराले तस्वीर होइन, पीडा कैद गर्यो। ती अभिव्यक्तिहरूले भनिरहेका थिए, ‘द्वन्द्वका विस्थापितहरू अझै हराइरहेका छौँ, सुन्नेहरू छैनन् । राज्य छैन । अभिभावक छैनन् ।’
‘पीडा गीत’ ले हामीलाई स्मरण गराउँछ—शान्ति बिना न्याय अधुरो हुन्छ। र त्यो न्याय केवल कागजमा होइन, व्यवहारमा र सार्वजनिक चेतनामा लेखिनुपर्छ।
प्रतिक्रिया 4