११ जेठ, चितवन । चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम सुस्त भएको छ । विगत डेढ महिनादेखि रंगशालाको कामको प्रगति खासै छैन ।
प्यारापिट, मैदान तथा भीआईपी टावरसहित निर्माणको जिम्मा लिएको हिमालयन कालिञ्चोक बीबीआर जेभीले विभिन्न बहाना बनाएर क्रिकेट रंगशालाको काममा ढिलाइ गरेको पाइएको छ ।
दुई महिना अघिसम्म २० प्रतिशत हाराहारीमा प्रगति भएको दाबी गरे पनि रंगशालाको प्रत्यक्ष निगरानी गरिरहेको भरतपुर महानगरपालिकाले रंगशालाको कामप्रति असन्तुष्टि जनाएको छ । महानगर प्रमुख रेनु दाहालले शुक्रबार दिउँसो इन्जिनियरहरूसहित आफैँ रंगशाला निर्माणस्थलमा पुगेर निर्माणको गतिप्रति असन्तुष्टि व्यक्त गरिन् ।
उनले ३ दिनअघि आउँदा रंगशालाको काम जुन गतिमा थियो, त्यहीँ गतिमा रहेको भन्दै कामको गति बढाउन ठेकेदार विकास गौतमलाई आग्रह गरिन् । उनले रंगशालाको चालु आर्थिक वर्षको लागि संघीय सरकारबाट प्राप्त बजेट नै फ्रिज हुनसक्नेतर्फ सचेत बन्न ठेकेदार कम्पनीलाई आग्रह गरिन् ।
‘तपाईंहरूको कामको गति नै भएन, यस्तो तरिकाले काम गरेर भएन, यस्तो सुनसान हुन्छ ? कीर्तिपुरमा कसरी काम भइरहेको छ देख्नुभएकै होला । तर हाम्रोमा किन हुन सकेन ?,’ ठेकेदारलाई प्रश्न गर्दै नगर प्रमुख दाहालले भनिन्, ‘तपाईंहरूलाई केही समस्या छ ? महानगरपालिकाले गर्नुपर्ने केही सहयोग छ ? बजेटको अभाव छैन, केही छैन, अनि किन कामले गति लिन सकेन ?’
नगर प्रमुख दाहालले रंशगाला देशकै गौरवको परियोजना भएकोले प्राथमिकतामा राख्न ठेकेदार कम्पनीलाई आग्रह गरिन् ।
रंगशालामा अहिले दैनिक ८० जना कामदारले काम गरिरहेको ठेकेदार गौतमले बताए । उनले रंगशालाका लागि आवश्यक रड, सिमेन्ट र अन्य निर्माण सामग्री अभाव हुँदा सोचेको जस्तो काम गर्न नसकेको बताए । रड उत्पादन गर्ने उद्योग र सिमेन्ट उद्योगले कार्टेलिङ गर्ने तथा शुल्क बढाउने काम गर्दा काममा ढिला भएको उनको दाबी छ । उनले अब १ सय जति कामदार थप गरेर कामलाई गति दिने दाबी गरे ।
भरतपुर महानगरपालिकाका सिनियर डिभिजन इन्जिनियर सन्तोष आचार्यले डेढ महिनादेखि रंगशाला निर्माणले गति लिन नसकेको बताए ।
मैदानसँगै पिचको काम पनि सँगसँगै अगाडि बढ्ने बताइए पनि अहिले कुनै काम अगाडि बढेको छैन । मैदानमा ५ वटा पिच तयार गरिनेछन् ।
गत असार २३ गते ठेक्का सम्झौता भएर काम थालिएको क्रिकेट रंगशालाको काम तोकिएको अवधिभित्र नै सक्ने ठेकेदारको दाबी छ । रंगशालामा दुईवटा भीआईपी टावरको पहिलो तला ढलान गर्ने तयारी गरिएको छ । अझै पनि रडको काम बाँकी नै भएकोले ढलान हुन केही दिन लाग्न सक्ने देखिन्छ । पश्चिमतर्फको प्यारापिटको काममा पनि खासै प्रगति देखिँदैन । पूर्वतर्फको काम बाँकी नै छ ।
ठेकेदार विकास गौतमले आगामी असारसम्म ४० प्रतिशत भौतिक प्रगति सक्ने बताए । उनले असार पहिलो साता नै ३५ प्रतिशतको भौतिक प्रगति निकाल्ने दाबी गरे । आउने बर्खामा पनि संरचनाका भित्री भागका कामहरू गर्ने र काम नरोकिने उनको भनाइ छ ।
महानगरका डिभिजनल इन्जिनियर आचार्यले असारसम्म ४० प्रतिशत भौतिक प्रगति गरे लक्ष्यअनुरूप नै काम भएको मानिने बताए ।
सुरुमा धुर्मुस-सुन्तली फाउन्डेसनले नेतृत्व लिएर बनाउन थालेको रंगशाला बजेटको अभाव भएपछि काम बीचमा नै रोकिएको थियो । फाउन्डेसनले बनाउन सुरु गरेको रंगशाला बजेट अभाव भएको भन्दै २२ साउन २०७८ बाट झण्डै २ वर्ष रोकिएको थियो ।
महानगरले स्वामित्व लिएर संघीय, प्रदेश तथा महानगर आफैंले समेत लगानी गर्ने गरी २०८१ साउनबाट रंगशालाको काम ठेक्कामार्फत अगाडि बढेको हो । ७८ करोड रूपैयाँमा बनाइसक्ने गर्ने गरी ठेक्का लगाएर पहिलो चरणको काम थालेको रंगशालामा पहिलो चरणमा १० हजार जना दर्शक अट्ने प्यारापिट तयार हुनेछ । यसअघि, धुर्मस सुन्तली फाउन्डेसनले ३ हजार जना अट्ने गरी प्याराफिट तयार गरिसकेको छ ।
महानगरका इन्जिनियर आचार्यका अनुसार मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३/३ तलाको भीआईपी टावर बनाइनेछ । एउटामा भीआईपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरू हुनेछन् ।
३० महिनाभित्र निर्माण सक्नेगरी भएको ठेक्का सम्झौताअनुसार अब २० महिना बाँकी छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रंगशाला निर्माणका लागि बजेट अभाव नहुने भन्दै काम फटाफट काम गरी भुक्तानी लिन ठेकेदारलाई अनुरोध गरिन् ।
रंगशालाका लागि संघीय सरकारले चालू आर्थिक वर्षका लागि विनियोजन गरेको २५ करोड, प्रदेश सरकारको १० करोड र भरतपुर महानगरको ५ करोड रकम महानगरसँग रहेको छ । रंगशालाका लागि बागमती प्रदेश सरकारले ५२ करोड ५० लाख रकम दिने निर्णय अघिल्लो वर्ष २३ माघमा गरेको थियो ।
नगर प्रमुख दाहालले दोस्रो चरणमा थप १५ हजार जना अट्ने प्यारापिट, कुर्सी र फ्लड लाइटको काम गरिने बताइन् । रंगशालामा ३० हजार जना अट्ने प्यारापिट बनाउन २८६ वटा पिलर धुर्मस सुन्तली फाउन्डेसनले यसअघि नै उठाएको थियो ।
संघीय मन्त्रिपरिषद्को गत २३ कात्तिकमा बसेको बैठकले गौतम बुद्ध क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको परियोजना भित्र समेटेर बाँकी काम तीनै तहका सरकार मिलेर पूरा गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया 4