
News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस गरेका छन् ।
- उनले ४.६१ प्रतिशत आर्थिक वृद्धिदर र ६१ खर्ब ७ अर्बको अर्थतन्त्रको आकार भएको बताए।
- सर्वेक्षण अनुसार मुद्रास्फीति ४.७२ प्रतिशत रहने र ऋण २६ खर्ब ७६ अर्ब पुगेको छ।
१५ जेठ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेस गरेका छन् ।
उनले यस वर्ष ४.६१ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त हुने जानकारी गराए । मधेश, कोशी, सुदूरपश्चिम बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने उनले जानकारी दिए । अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने उनले बताए ।
कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषिको योगदान २५.१६ प्रतिशत रहेको समेत उनले जानकारी दिए । मुद्रास्फीति ४.७२ प्रतिशत रहने अनुमान गरिएको छ ।
फागुन २०८१ सम्म सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब पुगेको समेत उनले जानकारी दिए । वित्तीय पहुँच बढेको र सबै स्थानीय तहमा बैंकको शाखा पुगेको समेत उनले जानकारी दिए ।
यसवर्ष कुल राष्ट्रिय आय बढेर १ हजार ५ सय १७ अमेरिकी डलर पुगेको छ । औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशत रहेको अर्थमन्त्री पौडेलले जानकारी दिए ।
चालु आव फागुनसम्म संघीय खर्च ४.७ प्रतिशत र संघीय राजस्व १२.६ प्रतिशतले बढेको छ । वैदेशिक सहायता प्रतिबद्धता उल्लेख्य बढेको उनले बताए । यस अवधिमा संघीय सरकारको वित्त घाटा १६ अर्ब १९ करोड रहेको छ । गत आव यसै अवधिमा यस्तो घाटा ७० अर्ब ३६ करोड थियो ।
फागुन २०८१ सम्म संघीय सरकारको तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ४ करोड पुगेको छ, जुन जीडीपीको ४३.८ प्रतिशत हो ।
बैंक तथा वित्तीय संस्थाका प्रतिशाखाबाट औसत २ हजार ५ सय २७ जनसंख्यामा बैंकिङ सेवा उपलब्ध भएको अर्थमन्त्रीले जानकारी दिए । २०८१ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ९.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.७ प्रतिशतले बढेको छ । नेप्से सूचकाङ्क २०८१ फागुन मसान्तमा २७३६.४९ बिन्दु कायम भएको छ । जीवन बीमाको पहुँच ४४.१७ प्रतिशत जनसंख्यामा पुगेको छ ।
चालु आव फागुनसम्म वस्तु निकासी ५७.२ प्रतिशत र वस्तु पैठारी ११.२ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेर १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ । चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा छन् ।
विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च रही १४.३ महिनाको वस्तु तथा सेवाको पैठारी धान्न पर्याप्त रहेको छ । हालसम्म उद्योग विभाग र लगानी बोर्ड नेपालबाट ७ खर्ब ६६ अर्ब बराबरको लगानी स्वीकृत भएको छ ।
वैकल्पिक ऊर्जा सहित ९९ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको छ । कुल जडित विद्युत् क्षमता ३ हजार ६ सय २ मेगावाट पुगेको छ । संघीय सरकारबाट निर्माण भएको रणनीतिक सडक सञ्जाल र स्थानीय सडक सञ्जाल गरी सडकको लम्बाइ ३६ हजार १ सय ३२ किलोमिटर पुगेको छ । इन्टरनेट ग्राहक घनत्व १४४.२३ प्रतिशत पुगेको छ भने ७२ प्रतिशत घरधुरीमा डिजिटल टेलिभिजनको पहुँच पुगेको छ ।
मानव विकास सूचकांक बढेर ०.६२२ पुगेको छ । शैक्षिक सत्र २०८१ मा आधारभूत तह (कक्षा १–८) को खुद भर्ना दर ९४.१ प्रतिशत र माध्यमिक तह (कक्षा ९–१२) को खुद भर्ना दर ५५.८ प्रतिशत पुगेको छ ।
चालु आव फागुनसम्म ३७ हजार ९ सय ८४ विपन्न नागरिकले मुटु, क्यान्सर र मिर्गाैला सम्बन्धी रोगको उपचारका लागि निःशुल्क औषधि सहित स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
यस अवधिसम्म ९६.८५ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानी सेवा पहुँच पुगेको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही संख्या ३७ लाख ६ हजार ३ सय ८९ छ ।
प्रतिक्रिया 4