+
+
Shares
कर्णाली विकास बैंक घोटाला प्रकरण : :

अभियुक्त राय लखनउको अपार्टमेन्टमा बस्थे, एमालेबाट सांसद उठेका थिए

लखनउको अपार्टमेन्टमा बस्दै आएको सूचना आएपछि सीआईबीको टोली राजेन्द्रवीर रायलाई लिन भारत पुगेको थियो । भारतीय प्रहरीको सहयोगमा उनलाई पक्राउ गरी नेपाल ल्याइएको हो ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ जेठ १८ गते २१:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली विकास बैंकका मुख्य अभियुक्त राजेन्द्रवीर रायलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो।
  • उनी कर्णाली विकास बैंकको घोटाला प्रकरणका मुख्य अभियुक्त हुन् र ४ अर्ब ९० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ।
  • रायले २०७९ सालको प्रतिनिधिसभा चुनावमा एमालेबाट उम्मेदवार बनेका थिए र उनलाई बैंक घोटालामा संलग्न भएको पाइएको छ।

१८ जेठ, काठमाडौं । कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय भारतको लखनउमा अपार्टमेन्ट भाडा लिएर बस्ने गरेको खुलेको छ । पछिल्लो ८/९ महिनादेखि उनी लखनउमा अपार्टमेन्ट भाडामा लिएर बसेको खुलेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लामो अनुसन्धानपछि उनलाई लखनउबाट पक्राउ गरी शनिबार नेपाल ल्याएको छ ।

अपार्टमेन्टमा बस्दै आएको सूचना आएपछि सीआईबीको टोली उनलाई लिन भारत पुगेको थियो । भारतीय प्रहरीको सहयोगमा रायलाई पक्राउ गरी नेपाल ल्याइएको हो । यद्यपि, सीआईबीका एसएसपी होविन्द्र बोगटीले भने उनलाई नेपाल–भारत सीमा क्षेत्र रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बलेहिया नाकाबाट पक्राउ गरिएको बताए ।

राय कर्णाली विकास बैंक घोटाला प्रकरणका मुख्य अभियुक्त हुन् । उनलाई म्याद थपका लागि बाँके लगिएको छ । बाँकेमै राखेर अनुसन्धान गरिने सीआईबीले बताएको छ ।

उनी कर्णाली विकास बैंकका संस्थापक अध्यक्षका साथै प्रमुख कार्यकारी अधिकृत एवं पटक–पटक सञ्चालक समिति अध्यक्ष पदमा रहेर काम गरेका थिए । यो बैंकमा अहिलेसम्म २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेको छ ।

यो प्रहरीमा आएको उजुरीको रकम मात्रै हो । प्रहरी स्रोतका अनुसार यो कर्णाली विकास बैंकबाट ४ अर्ब ९० करोड रुपैयाँभन्दा बढी घोटाला भएको पाइएको छ । बाँकी उजुरी आउने क्रम जारी नै रहेको सीआईबीले बताएको छ ।

पक्राउ परेका रायविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता युवराज खड्काले बताए ।

कर्णाली विकास बैंक २०६० सालमा स्थापना भएको थियो । अपचलनमा संलग्न मुख्य व्यक्ति रायको कर्णाली विकास बैंकमा करिब ८० प्रतिशत संस्थापक सेयर छ । उनी बैंक स्थापनादेखि नै कार्यकारी अध्यक्ष तथा सीईओका रूपमा करिब १५ वर्षसम्म कार्यरत थिए । प्रमुख सेयर होल्डरका रूपमा रायले नै बैंक चलाउँदै आएका थिए ।

एमालेबाट उठेका थिए चुनाव

४ अर्ब ९० करोड रुपैयाँ घोटाला आरोपमा पक्राउ परेका राय नेकपा एमालेबाट प्रतिनिधिसभा चुनावमा उम्मेदवार बनेको पाइएको छ । सल्यानको शारदा नगरपालिका भुजिया गाउँ स्थायी ठेगाना भएका राय २०७९ सालको प्रतिनिधिसभा चुनावमा सल्यानबाट नेकपा एमालेका उम्मेद्वार थिए ।

६५ वर्षीय राय उक्त चुनावमा पराजित भएका थिए । एकीकृत समाजवादी पार्टीका प्रकाश ज्वाला ३५ हजार ७०७ मतसहित निर्वाचित भएका थिए । १९ हजार ७९२ मतसहित स्वतन्त्र उम्मेद्वार राजेन्द्रबहादुर शाह दोस्रो हुँदा राय भने तेस्रो भएका थिए ।

उनले १३ हजार ३९ मत पाएका थिए । एमालेबाट चुनाव उठेकै बेलामा उनी बैंक घोटालामा संलग्न भइसकेका थिए ।

कर्णाली विकास बैंक लिमिटेडको विशेष छानबिन समितिको प्रतिवेदनअनुसार २०७९ सालभन्दा अघिदेखि नै रायले रकम घोटाला गरेको खुलेको थियो । बैंक घोटालामा संलग्न उनै राय एमालेबाट टिकट लिएर प्रतिनिधिसभाको उम्मेद्वार बनेका थिए ।

सल्यानको शारदा नगरपालिका भुजिया गाउँ स्थायी ठेगाना भएका राय २०७९ सालको प्रतिनिधिसभा चुनावमा सल्यानबाट नेकपा एमालेका उम्मेद्वार थिए ।

बचतकर्ताले बैंकमा जम्मा गरेको रकम रायकै मुख्य योजनामा घोटाला भएको छानबिन समितिले निष्कर्ष निकालेको थियो । राष्ट्र बैंकले अनुसन्धान गर्दा पनि रायको भूमिका शंकास्पद देखिएपछि सीआईबीलाई थप छानबिन गरी कारबाही गर्न पत्राचार गरेको थियो ।

राष्ट्र बैंकबाट गत पुसमा प्रतिवेदन आएको सीआईबीका प्रवक्ता खड्काले बताए । त्यसअघि नै राय भने फरार भइसकेका थिए । कर्णाली विकास बैंक घोटाला प्रकरणमा अहिलेसम्म रायमात्रै पक्राउ परेको खड्का बताउँछन् ।

अहिलेसम्म रायविरुद्ध मात्रै पक्राउ पुर्जी जारी भएको उनको भनाइ छ । ‘अहिलेसम्म रायबाहेक अरुविरुद्ध पक्राउ पुर्जी जारी भएको छैन । अन्यको हकमा थप अनुसन्धान भइरहेको छ,’ प्रवक्ता खड्काले भने ।

यसरी भएको थियो घोटाला

बैंक सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानबिन समितिले ठूलो रकम घोटाला भएको निष्कर्ष निकालेको थियो ।

कर्णाली विकास बैंकको अन्य बैंक खातामा रहेको रकम तथा बैंकको कोर बैंकिङ प्रणाली (सीबीएस) मा प्रविष्ट रहेको रकमबीच अन्तर निकाल्दा ठूलो रकम घोटाल भएको मिश्र समितिको प्रतिवेदनले उल्लेख गरेको छ । विभिन्न बैंकको खातामा रहेको मौज्दातको नक्कली ब्यालेन्स सर्टिफिकेट बनाई केही वर्षदेखि अपचलन लुकाएको समितिले उल्लेख गरेको छ ।

रायका साथै पूर्वसीईओ दिनेशकुमार रावत, पूर्ववित्त विभाग प्रमुख महादेव भनिने वेदप्रकाश सिंह ठकुरी र वरिष्ठ वित्त विभाग प्रमुख तथा सीईओ निरजविक्रम शाहले समेत अपचलन गरेको हुनसक्ने आशंका मिश्र नेतृत्वको समितिले उल्लेख गरेको थियो । तर अहिलेसम्म उनीहरूविरुद्ध भने पक्राउ पुर्जी जारी नभएको प्रवक्ता खड्काको भनाइ छ ।

रायलाई मानबहादुर चौधरी र पवनसिंह थारुले सहयोग गरेको हुनसक्ने बताइएको छ । छानबिन समितिका संयोजक मिश्रले सीईओ निरजविक्रम शाहलाई सोधपुछ गर्दा ठूलो रकम रायले घोटाला गरेको बताइएको उल्लेख छ ।

अपचलन गर्न रायले कर्णाली विकास बैंकको चेकबाट अन्य बैंकमा रहेको मौज्दात निकासा गरी बैंकमा नबुझाई अन्यत्र लगेको बताइएको छ ।

४ अर्ब ९० करोड रुपैयाँ घोटाला आरोपमा पक्राउ परेका राय २०७९ सालको प्रतिनिधिसभा चुनावमा सल्यानबाट एमालेका उम्मेदवार थिए ।

त्यसैगरी, खातामा ब्यालेन्स नभएकै अवस्थामा पनि चेक क्लियरिङमार्फत रकमान्तर–चेक भुक्तानी गरेर घोटाला गरेको पाइएको छ । यसका साथै सोझै भल्ट÷टेलरबाट नगदै पैसा झिकेर पनि अपचलन गरेको बताइन्छ ।

राष्ट्र बैंकमा रहेको कर्णाली विकास बैंकको खाता (सीआरआर) मा ७ पुस २०८१ सम्म २२ करोड ७४ लाख ६१ हजार २ सय ८२ रुपैयाँ मौज्दात रहेको सीबीएसमा प्रविष्ट गरिएको थियो । तर छानबिन समितिको अनुसन्धान क्रममा उक्त खातामा करिब शून्य मौज्दात रहेको भेटिएको थियो ।

राय सहितका व्यक्तिले अन्य बैंकमा रहेको नक्कली ‘ब्यालेन्स सर्टिफिकेट’ बनाएर रकम अपचलन ढाकछोप गरेको पनि छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

बैंक विवरणको कागजपत्रमा फोटोसप गरेर आफूले चाहे बमोजिमको विवरण थप गरी कीर्ते विवरण बनाई त्यसको फोटोकपी गरेर राष्ट्र बैंकको अनुगमन टोलीलाई पेस गर्ने गरेको पनि छानबिन प्रतिवेदनमा उल्लेख छ ।

मंसिर २०८० मा राष्ट्र बैंकको सुपरिवेक्षण टोलीले कर्णाली विकास बैंकको सुपरिवेक्षण गरेको थियो । सुपरिवेक्षण टोलीले साउन २०८१ मा कर्णाली विकास बैंकलाई अन्य बैंकमा रहेको निक्षेप विवरणको सक्कल कागज नै पेस गर्न सुझाव दिएको थियो ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?