+
+
Shares

बजेटको ‘टेक एन्ड पे’ पीपीए प्रावधान हटाउन ऊर्जा र अर्थमन्त्रीलाई इप्पानको माग

ऊर्जामन्त्री खड्काले मन्त्रालयले २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन मार्गचित्र बनाएर हिँडिसकेपछि विद्युत् खरिद सम्झौतामा ‘टेक एन्ड पे’ ल्याउनु गम्भीर त्रुटी भएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २१ गते १७:४७

२१ जेठ, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले बजेटमा आएको जलविद्युत् आयोजनाको ‘टेक एन्ड पे’ पीपीए गर्ने प्रावधान हटाउनग ऊर्जा र अर्थमन्त्रीसँग आग्रह गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई ज्ञापनपत्र बुझाउँदै इप्पानले टेक एन्ड पे पीपीए प्रावधानले यो क्षेत्र नै समाप्त हुने भन्दै संसोधनका लागि पहल गरिदिन आग्रह गरेको हो ।

ऊर्जामन्त्री खड्काले मन्त्रालयले २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन मार्गचित्र बनाएर हिँडिसकेपछि विद्युत् खरिद सम्झौतामा ‘टेक एन्ड पे’ ल्याउनु गम्भीर त्रुटी भएको बताए ।

ऊर्जा मन्त्रालयमा भएको इप्पान प्रतिनिधिसँगको भेटमा उनले १५ जेठमा सार्वजनिक बजेटमा ‘टेक अर पे’ पीपीए प्रावधानलाई ‘टेक एन्ड पे’ बनाउनु राष्ट्र निर्माण गर्ने सरकारको उद्देश्य विपरीत काम भएको समेत बताए ।

मन्त्री खड्काले भारत र बंगलादेशमा निर्यात हिसाबले २८ हजार ५ सय मेगावाटसम्मै टेक अर पे पीपीए गर्नुपर्ने र खपतका हिसाबले पनि २०३५ सम्म १३ हजार ५ सय मेगावाट आन्तरिक खपत हुने मन्त्रालयको प्रक्षेपण रहेकाले अहिले नै टेक एन्ड पेमा जानुपर्ने कुनै बाध्यता सरकारलाई नरहेको स्पष्ट पारे ।

प्राधिकरणले सक्दैन भने विद्युत् व्यापारका लागि अर्को कम्पनी बनाउनुपर्ने तर यो विषय जसरी पनि सच्याउनुपर्नेमा खड्काले जोड दिए ।

‘भुलबस बजेटमा आएको हो भने सच्याउनुपर्छ । तर, जानाजान हालिएको हो भने मन्त्रालय पनि निजी क्षेत्रसँगै उभिन्छ,’ मन्त्री खड्काले भने ।

उनले सुक्खायाममा अर्को वर्षदेखि भारतबाट बिजुली ल्याउनु नपरोस् भन्ने आफ्नो सोच रहेको तर यस्ता कुरा बजेटमा आउँदा आफ्नो योजना र सरकारको बाटो ठिक उल्टो भएको उल्लेख गरे ।

मन्त्री खड्काले कि राज्यले प्रसारण लाइन बनाउनु पर्ने, कि निजी क्षेत्रलाई दिनुपर्ने पनि बताए । आफू पनि नगर्ने, अरूलाई पनि नदिने नीतिले देश विकास नहुने उनको भनाइ छ ।

जलस्रोत सचिव सरिता दवाडीले यतिका वर्षमा सम्बन्धित मन्त्रालयको सुझावविना बजेटमा नीतिगत विषय आएको आफ्नो जानकारीमा नभएको बताइन् ।

भेटमा इप्पान अध्यक्ष गणेश कार्कीले भारतमा बिजुली निर्यात दिनानुदिन बढिरहेको, बंगलादेशमा पनि वर्षायामकै लागि निर्यात सुरु भएको र आन्तरिक माग पनि हरेक वर्ष बढिरहेको सन्दर्भमा सरकारले बढिभन्दा बढी विद्युत उत्पादन गर्ने गरी निजी क्षेत्रलाई आकर्षित गर्नुपर्नेमा टेक एन्ड पे प्रावधान ल्याएर यस क्षेत्रका उद्योगी–व्यवसायीलाई पलायन गराउने बाटो रोजेकोमा चिन्ता व्यक्त गरे ।

‘बजेटमा माग र आपूर्तिका आधारमा पीपीए गर्ने र टेक एन्ड पे प्रावधानमा गर्ने भनेर सरकार फेरि टुकी बालेर रमाउन चाहेको हो कि भन्ने भान भएको छ,’ कार्कीले प्रश्न गरे, ‘२८ हजार ५ सय मेगावाट उत्पादन गर्ने भनेर मार्गचित्र ल्याउने अनि पीपीए चाहिँ माग हेरेर टेक एन्ड पेमा गर्ने भनेर के गर्न खोजेको हो ? अब बिजुली पुग्यो भनेको हो सरकारले ?’

यो व्यवस्था नसच्याउने हो भने निजी क्षेत्रसँग रहेका १७ हजार मेगावाट क्षमताका आयोजना ‘किल’ हुने र त्यसमा अहिलेसम्म भइसकेको ६६ अर्ब रुपैयाँभन्दा बढी लगानी पनि डुब्ने कार्कीले बताए । इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले यो व्यवस्था नसच्चिए ऊर्जा क्षेत्र समाप्त गरेको दाग मन्त्री खड्कालाई लाग्ने बताए ।

अर्थमन्त्री भेटेर गराइयो जानकारी

इप्पान टोलीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई समेत भेटेर यसबारे जानकारी गराएको छ । अर्थमन्त्री पौडेलसामु पनि इप्पानले टेक एन्ड पे प्रावधान नसच्याए यो क्षेत्र नै समाप्त हुने भन्दै यसलाई सच्याउन आग्रह गरेका थिए ।

इप्पान अध्यक्ष कार्कीले २८ हजार ५ सय मेगावाट उत्पादन गर्ने मार्गचित्र विरुद्ध बजेटको व्यवस्था रहेकाले त्यसलाई सच्याउन आग्रह गरे ।

इप्पान वरिष्ठ उपाध्यक्ष डाँगीले पनि टेक एन्ड पे पीपीएकै व्यवस्था कायम रहे ऊर्जा क्षेत्र नै ध्वस्त हुने भएकाले सच्याउन आग्रह गरे । भेटपछि अर्थमन्त्री पौडेलले यस विषयमा सल्लाह गरेर मात्रै जवाफ दिने बताए । उनले आफू विद्युत् बेच्नेभन्दा पनि स्वदेशमा खपत बढाउने पक्षमा रहेको भन्दै खपत गरेर बच्यो भने मात्रै निर्यात गर्नतर्फ लाग्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?