
News Summary
Generated by OK AI. Editorially reviewed.- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि योगपीठको जग्गा सट्टापट्टा गर्दा भ्रष्टाचार गरेको अभियोगमा ९३ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
- अख्तियारले योगगुरु बाबा रामदेव र आचार्य बालकृष्णलाई मुद्दामा प्रतिवादी बनाएको छैन।
- सञ्चालक समितिले आश्रम निर्माण र सम्पत्ति कारोबारको जिम्मेवारी शालिकराम सिंहलाई तोकेको र उनी नै सबै कामकाजको जवाफदेही भएको निष्कर्ष निकालेको छ।
२२ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हदबन्दी छुटमा पाएको पतञ्जलि योगपीठको जग्गा सट्टापट्टा गर्दा भ्रष्टाचार गरेको अभियोगमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
त्यस क्रममा अख्तियारले पतञ्जलि योगपीठलाई पनि मुद्दामा प्रतिवादी बनाएको छ । तर योगपीठका संरक्षक योगगुरु बाबा रामदेव एवं सञ्चालक आचार्य बालकृष्णमाथि भने भ्रष्टाचार मुद्दा दायर भएको छैन ।
दुवैजना पतञ्जलि योगपीठसँग आवद्ध भए पनि नेपालको हकमा भने उनीहरूले शालिकराम सिंहलाई आफ्नो आधिकारिक प्रतिनिधि तोकेका थिए । सबै निर्णय गर्ने अख्तियारीसहित सिंहलाई नै कम्पनीको नेपालसम्बन्धी कामकाज गर्ने जिम्मेवारी तोकिएको थियो ।
जग्गा सट्टापट्टा अनियमितताको उजुरीपछि अख्तियारले सार्वजनिक सूचना नै निकालेर रामदेव र आचार्य बालकृष्णलाई बोलाएको थियो । तर उनीहरू नेपाल आएनन् ।
अख्तियारले उनीहरूले सबै अधिकार शालिकराम सिंहलाई दिएको र नेपालमा हुने सबै काम-कारबाहीमा सिंह नै जवाफदेही हुने निष्कर्षसहित रामदेव र बालकृष्णमाथि कुनै मुद्दा चलाउन नपर्ने निर्णय गरेको हो ।
अख्तियार स्रोतका अनुसार, पतञ्जलि योग पीठ तथा आयुर्वेद कम्पनी नेपालका संस्थापकहरू स्वामी रामदेव, आचार्य बालकृष्ण र शालिकराम सिंहको उपस्थितिमा बसेको सञ्चालक समितिले आश्रम निर्माण, सम्पत्ति खरिद एवं सबै कारोबारको जिम्मेवारी शालिकराम सिंहलाई दिने निर्णय गरेको थियो ।
अख्तियारको निर्णय उदृत गर्दै स्रोतले भन्यो, ‘निज स्वामी रामदेव, आचार्य बालकृष्ण, राजेन्द्र दास र राजेन्द्र सिंहसमेत माथि विवेचना गरेबमोजिमको प्रस्तुत भ्रष्टाचारजन्य कसुर अपराधमा संलग्न रहेको पुष्टि हुने प्रमाणको अभाव रहेको देखिएको हुँदा हाल निजहरूको हकमा केही गरिराख्न परेन ।’
प्रतिक्रिया 4