
News Summary
Generated by OK AI. Editorially reviewed.- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २६ जेठमा पतञ्जली जग्गा प्रकरणमा ९३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्यो।
- अख्तियारले मुद्दा दायर गरिसकेकाले अबको प्रक्रिया विशेष अदालतले अघि बढाउनुपर्छ ।
२६ जेठ, काठमाडौं । पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोप लगाउदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बिहिबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहित ९३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्यो ।
मुद्दा दायर भएसँग पूर्वप्रधानमन्त्री नेपालको सांसद पद निलम्बित भएको छ । अख्तियारले मुद्दा दायर गरिसकेकाले अबको प्रक्रिया विशेष अदालतले अघि बढाउनुपर्छ ।
‘मुद्दा दर्ता भइसकेपछि काठमाण्डौं उपत्यकाभित्रका प्रतिवादीहरुको हकमा विशेष अदालतबाट नै म्याद तामेल हुन्छ’, विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले भने, ‘उपत्यका बाहिर गएर म्याद तामेल गर्ने हाम्रो जनशक्ति छैन, सम्बन्धित जिल्ला अदालतको सहयोग लिनुपर्छ ।’
तर, दैनिकजसो मुद्दा दायर भइरहेको, सीमित जनशक्ति लगायतका कारण पतञ्जलिको मुद्दामा म्याद तामेल गर्ने काम शुरु हुन नसकेको र त्यसका लागि केही दिन लाग्ने रेग्मीले बताए ।
अदालतले आरोपितहरुको घर पत्ता लगाएर सम्बन्धित व्यक्ति वा उनी नभए परिवारको सदस्यलाई म्याद बुझाउँछ । अदालतले म्याद बुझाउनु भनेको मुद्दाको बारेमा सम्बन्धित पक्षलाई औपचारिक रुपमा जानकारी दिएको प्रमाण समेत हो ।
घरमा कसैले म्याद बुझ्न नमानेमा वडा कार्यालयको रोहवरमा सार्वजनिक स्थानमा म्याद टाँसिन्छ । मुद्दा लागेको व्यक्ति स्वयं विशेष अदालतमा पुगेर पनि म्याद बुझ्न सक्छ । घरमा तामेल वा अदालतमा म्याद बुझेको १५ दिनसम्म आरोपितले अदालत उपस्थित हुने सहुलियत पाउँछन् ।
विशेष अवस्थामा थप १५ दिन त्यस्तो सुविधा उपलब्ध हुन्छ । अनि अदालतले प्रारम्भिक सुनुवाईपछि आरोपितलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने निक्यौल गर्छ । सबै आरोपितहरुकोमा म्याद तामेल भएपछि मात्रै मुद्दाको प्रक्रिया अघि बढ्छ ।
प्रतिक्रिया 4