+
+
Shares

पतञ्जलि प्रकरणमा विपक्षी दल : प्रतिपक्ष तर्साउन अख्तियार प्रयोग

विपक्षी दलका नेतालाई तर्साउने नियतले अख्तियार ‘प्रयोग’ गरिएको आरोप प्रतिपक्षको छ । प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका महासचिव देव गुरुङ माधव नेपालमाथि भ्रष्टचार मुद्दा दर्ता हुनुमा आशंका गर्ने ठाउँ रहेको बताउँछन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०८२ जेठ २२ गते २३:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेपछि राजनीतिक दलहरू सशंकित भएका छन्।
  • विपक्षी दलहरूले यसलाई राजनीतिक प्रतिशोधको आशंका गरेका छन्।
  • सर्वोच्च अदालतले २८ जेठमा संवैधानिक नियुक्ति विरुद्धको फैसला गर्न लागेको समयमा यो मुद्दा दर्ता भएको हो।

२२ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टचार मुद्दा दर्ता गरेपछि विपक्षी दलहरू सशंकित भएका छन् । सत्तापक्षले अख्तियारलाई प्रभावमा पारेर नियोजित तरिकाले मुद्दा अघि बढाइएको आशंका गरेका छन् ।

मन्त्रिपरिषद्को निर्णयबाट हदबन्दी छुटको पतञ्जलिको जग्गा सट्टापट्टाको स्वीकृति दिएर भ्रष्टाचार गरेको अभियोग लगाउँदै अख्तियारले नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

विपक्षी दलका नेतालाई तर्साउने नियतले अख्तियार ‘प्रयोग’ गरिएको आरोप प्रतिपक्षको छ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले माधव नेपालमाथि भ्रष्टचार मुद्दा दर्ता हुनुमा आशंका गर्ने ठाउँ रहेको बताए ।

‘सत्तापक्ष र प्रतिपक्षबीच टकराव उत्पन्न भइरहेको बेला मुद्दा अघि बढ्नुमा राजनीतिक प्रतिशोध हो कि भन्ने संसय पैदा भएको छ,’ उनले भने ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको भन्दै प्रतिपक्ष दलले निरन्तर संसद् अवरुद्ध गरिरहेका छन् । गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने विपक्षीको माग छ भने सत्तापक्ष गृहमन्त्रीले राजीनामा दिनु नपर्ने अडानमा छ ।

सत्ता र विपक्षी दलबीच सम्बन्ध टाढिएको बेला माधव नेपालविरुद्ध मुद्दा दर्ता हुनुलाई माओवादी केन्द्रले अस्वभाविक रूपमा लिएको छ । ‘भ्रष्टाचारका धेरै मुद्दा छन् । आवरणमा भ्रष्टाचार देखाएर कसैलाई सिध्याउने, खुइल्याउने दिशातिर गएको हो कि भन्ने लाग्छ,’ गुरुङले अनलाइनखबरसँग भने, ‘प्रतिपक्षलाई निषेध गर्ने दिशामा गएको देखिन्छ । प्रतिशोधको भावनाले काम गरेको त छैन ? समय, परिस्थिति अवस्था हेर्दा शंका गर्ने ठाउँ चाहिँ रह्यो ।’

विपक्षी दललाई तर्साउने नियतले अख्तियारकै दुरुपयोग गरिएको आशंका समेत विपक्षी माओवादी केन्द्र र एकीकृत समाजवादीको छ । त्यही तहको आशंका अर्को विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले भने गरेको छैन ।

भ्रष्टाचारका मुद्दामा पक्ष/विपक्षी नभनी छानबिनको प्रक्रियामा जानुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन बताउँछन् । राप्रपा सुशासन पक्षधर दल भएको बताउँदै अध्यक्ष लिङ्देन भन्छन्, ‘यो भन्दा ठूलाठूला काण्डमा संलग्नहरूमाथि पनि अनुसन्धान र कारबाही गर्नुपर्ने विषयहरू छन् । यसको अर्थ कसै माथि अनुसन्धान हुनु हुँदैन भन्ने होइन । अहिले सत्तामा बसिरहेका र भ्रष्टचारमा मुद्दामा मुछिएका नेताहरूमाथि पनि छानबिन हुनुपर्छ ।

सत्तापक्षमा रहेका नेताहरूले आफूमाथि नै छानबिन गर्न तयार हुनुपर्ने लिङ्देनको जिकिर छ । ‘अहिले नै राजनीतिक पूर्वाग्रहको टिप्पणी गर्नु हुँदैन । गल्ती नगरेको भए सफाइ पाउनुहुन्छ । अनुसन्धान निष्पक्ष हुनुपर्छ । भ्रष्टचारमा मुछिएका जोमाथि पनि कारबाही हुनुपर्छ,’ लिङ्देनले थपे, ‘माधव नेपाल मात्रै होइन, यो भन्दा ठूलाठूला भ्रष्टचारका काण्ड छन् । प्रधानमन्त्री भइसकेका अरु व्यक्तिमाथि पनि ठूलाठूला अभियोग छन् ।’

विपक्षीलाई तर्साउने मनसाय सत्तापक्षको नियत नै रहेछ भने पनि निष्कलंक व्यक्ति आत्तिन नपर्ने लिङ्देन बताउँछन् ।

बहुदलीय व्यवस्थापछि प्रधानमन्त्री पदमा पुगेका व्यक्तिमा पहिलोपटक भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । एकीकृत समाजवादीका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा अख्तियारले मुद्दा दर्ता गरेको आरोप लगाएका छन् ।

प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचारका मुद्दालाई राजनीतिक दृष्टिकोणमा नहेरी गुण र दोषका आधार छानबिन हुनुपर्ने जनाएको छ ।

एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी अध्यक्ष नेपालविरुद्ध अख्तियारले विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दा प्रधानन्त्री केपी शर्मा ओलीको निर्देशनमा भएको आरोप लगाए । ‘यो पूर्वाग्रहपूर्ण छ । यसबारेमा पहिले नै अख्तियारले मुद्दा चलाउन नपर्ने चिठी दिइसकेको छ । अहिले मुद्दा दायर किन गर्नुपर्‍यो,’ पाण्डेले भने, ‘अख्तियारले तामेलीमा लगेको केस हो । ओलीजीको निर्देशनमा भएको हो यो ।’

एकीकृत समाजवादीले यो घटनालाई २८ जेठमा सर्वोच्च अदालतले संवैधानिक निकायका पदाधिकारी नियुक्ति विरुद्धको निर्णयलाई समेत जोडेर हेरेको छ । सर्वोच्च अदालतले २८ जेठमा तत्कालीन ओली सरकार नेतृत्वको बेला भएका संवैधानिक निकायका नियुक्ति विरुद्धको निर्णय सुनाउँदैछ । अख्तियार प्रमुख प्रेमकुमार राई पनि तत्कालीन समयमा नियुक्त भएका थिए ।

एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष पाण्डे भन्छन्, ‘आउँदो २८ गते संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्ध परेको मुद्दाको फैसला आउँदैछ । यही छोटै अवधिमा के-के गरी भ्याउनुपर्ने बाध्यता भएर गरिएको होला । यो राजनीतिक प्रतिशोध नै हो ।’

अख्तियारमा परेको उजुरी तामेलीमा राख्ने निर्णय भइसकेको तर नियतवस यो बेला मुद्दा अघि बढाइएको एकीकृत समाजवादीको बुझाइ छ । ‘हाम्रो अध्यक्षबाट भ्रष्टाचारसँग जोडिने कुनै अपराध भएजस्तो मलाई लाग्दैन । नीतिगत निर्णयलाई यसैगरी भ्रष्टाचार भनेर मुद्दा लगाउने हो भने धेरै सांसद बिदा हुनुपर्छ,’ पाण्डे भन्छन् ।

संसद्‌को चौथो शक्ति एवं प्रतिपक्ष अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भ्रष्टाचारका मुद्दालाई राजनीतिक दृष्टिकोणमा नहेरी गुण र दोषका आधार छानबिन हुनुपर्ने जनाएको छ ।

नेता शिशिर खनालले भ्रष्टाचारका मुद्दामा जोसुकै व्यक्ति जोडिए पनि छानबिन हुनुपर्छ भन्नेमा रास्वपा स्पष्ट रहेको बताए । उनले अनलाइखबरसँग भने, ‘भ्रष्टाचारका मुद्दामा सत्ता र प्रतिपक्ष दलका नेता नभनी अनुसन्धान हुनुपर्छ । भ्रष्टचारका काण्डमा राजनीतिक दृष्टिकोणले भन्दा पनि गुण र दोषका आधारमा कारबाही अघि बढाउनुपर्छ ।’

वर्तमान सरकारमा रहेका र अनियमिततामा जोडिएका नेताहरूलाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने प्रतिपक्ष दलका नेताहरूको माग छ । नक्कली भुटानी शरणार्थी, गिरिबन्धु, बुढीगण्डकी, क्यान्टोन्टमेन्ट, ललिता निवास, वाइडबडी लगायतका अनियमितता प्रकरण चर्चित छन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल सबै ठूला भ्रष्टाचार काण्डमा जोडिएकाहरूमाथि छानबिन हुनुपर्ने बताउँछन् । सुवालले भने, ‘गिरिबन्धु, भिजिट भिसा, सुन काण्ड, नक्कली भुटानी शरणार्थी, जहाँ-जहाँ जसले पैसा खाएको छ, नेपाली जनताले अब यसरी नै नांगेझार बनाउनुपर्छ । भ्रष्टाचारको निर्णय जहाँबाट भए पनि कारबाही हुनुपर्छ ।’

पतञ्जली जग्गा प्रकरण
लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?