News Summary
Generated by OK AI. Editorially reviewed.- अर्जेन्टिनाले २३ जेठमा चिलीलाई १-० ले पराजित गरी विश्वकप छनोटमा स्थान पक्का गर्यो।
- चिली दक्षिण अमेरिकी छनोटबाट सिधै विश्वकपमा छनोट हुनबाट बाहिरिएको छ।
- ब्राजिल, इक्वेडर, पराग्वे र उरुग्वेले विश्वकपको लागि प्रतिस्पर्धा गरिरहेका छन्।
२३ जेठ, काठमाडौं । जुलियन अल्भारेजको एक मात्र गोलमा फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले चिलीलाई १-० ले पराजित गरेको छ ।
चिलीको घरेलु मैदान सान्टियागोमा भएको खेलमा अल्भारेजले १६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । उनले थियागो अल्माडाको पासमा गोल गरेका थिए ।
बेन्चमा रहेर सुरुवात गरेका लियोनल मेस्सी दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका थिए । दक्षिण अमेरिकी छनोटबाट अर्जेन्टिनाले यसअघि नै अर्को वर्ष अमेरिका, मेक्सिको र क्यानडामा हुने विश्वकपमा स्थान पक्का गरिसकेको छ ।
१० राष्ट्र सम्मिलित दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना १५ खेलबाट ३४ अंक जोडेर शीर्ष स्थानमा छ । चिली भने १० अंकसहित पूछारमा छ । यस हारपछि चिली भने दक्षिण अमेरिकाबाट सिधै विश्वकपमा छनोट हुने होडबाट बाहिरिएको छ ।
दक्षिण अमेरिकाबाट डबल राउण्ड रोविनको खेलपछि शीर्ष ६ मा रहने टिम सिधै विश्वकपमा छनोट हुनेछ भने सातौं स्थानमा हुने महादेशीय प्लेअफ खेल्न पाउनेछ । महादेशीय प्लेअफ खेल्ने सम्भावना कायम राख्न पनि चिलीले बाँकी तीनवटै खेल जित्नुपर्ने चुनौती छ ।
यस्तै छनोटको अन्य खेलमा ब्राजिल इक्वेडरसँग गोलरहित बराबरीमा रोकिएको छ । कार्लो एन्सेलोट्टी नयाँ प्रशिक्षक बनेपछि पहिलो खेलमै ब्राजिल बराबरीमा रोकिएको हो ।
बराबरीपछि ब्राजिल १५ खेलबाट २२ अंकसहित चौथो स्थानमै छ । इक्वेडर भने २४ अंक जोडेर दोस्रो स्थानमा छ र विश्वकपको नजिक पुगेको छ ।
यस्तै अर्को खेलमा पराग्वेले उरुग्वेलाई २-० ले पराजित गरेको छ । जितपछि पाराग्वे १५ खेलबाट २४ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । पाराग्वे पनि यो जितपछि विश्वकपको नजिक पुगेको छ । अब बाँकी तीनमध्ये एक खेल जितले पनि इक्वेडर र पारग्वे विश्वकपमा छनोट हुन सक्नेछ ।
इक्वेडरसँग बराबरीमा रोकिएपछि ब्राजिललाई भने चुनौती बढेको छ । ब्राजिलले अब बाँकी तीन मध्ये बाँकी दुई खेल जित्नैपर्ने अवस्था छ ।
ब्राजिलभन्दा पछि रहेका उरुग्वे १५ खेलबाट २१ अंकसहित पाँचौमा छ । यस्तै १४ खेल खेलेका कोलोम्बिया (२०) छैटौं र भेनेजुएला (१५) सातौं स्थानमा छ । यस्तै १४ खेलबाट १४ अंक नै रहेको बोलियभिया आठौं स्थानमा छ भने पेरु १४ खेलबाट १० अंकसहित नवौँ स्थानमा छ ।
प्रतिक्रिया 4