+
+
Shares

खोलामा झारा टार्ने अनुगमन : ढुंगागिटी दोहन र चोरी निकासीलाई थप बल

तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरीले सीडीओ र एसपीको असहयोगका कारण अनुगमनमा जाँदा ठेकेदार पक्षबाट असुरक्षित महसुस गरी फर्कनुपरेको गुनासो गरिन् ।

टोपराज शर्मा टोपराज शर्मा
२०८२ जेठ २३ गते १६:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुपन्देहीका नदी र खोलाबाट मापदण्डविपरीत ढुंगागिटी उत्खनन् र चोरी निकासी भएको पाइएको छ।
  • स्थानीय र दलहरूले प्रभावकारी अनुगमन र कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेका छन्।
  • सरकारी निकायले अनुगमन र कारबाहीमा कमजोरी देखिएको र मनोमानी रोक्न आवश्यक रहेको बताएका छन्।

२३ जेठ, बुटवल । नियामक निकायको झारा टार्ने अनुगमनका कारण रुपन्देहीका तिनाउलगायत विभिन्न नदी र खोलाबाट मापदण्डविपरीत ढुंगागिटी उत्खनन् तथा चोरी निकासीलाई थप बल पुगेको छ ।

नियमित रूपमा प्रभावकारी अनुगमन गरी नियमविपरीत कार्य गर्नेलाई कारबाही नहुँदा मापदण्ड मिचेर नदी उत्खनन् र चोरी निकासीले निरन्तरता पाएको हो ।

स्थानीयको गुनासो र केही सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि तीन दिनअघि अनुगमन भएको थियो । अनुगमनमा घाटगद्दीमा लैजानुपर्ने ढुंगागिटी तिलोत्तमा नगरपालिका- ६ को कश्यप रोडा उद्योगमा पुर्‍याएको पाइएपछि प्रशासनले कश्यपको बिक्री बन्द गराएको बताएको थियो । तर त्यहाँ शुक्रबार बिहानसम्म नियमित रूपमा टिपरले ढुंगागिटी भित्र्याइरहेको प्रत्यक्षदर्शी एवम् रास्वपा रुपन्देही-३ का सभापति मधु अर्यालले बताए ।

यस्तै, गोरकट्टा पुल उत्तरतर्फबाट निकालिएको ढुंगागिटी बुटवल उपमहानगरपालिका- १८ स्थित कालिका रोडा उद्योगमा भित्रिने गरेको उनले बताए ।

नियमविपरीत क्रसर उद्योगमा ढुंगागिटी लगेको प्रमाण भेटिएपछि निश्चित अवधिका लागि उद्योग शील गर्नुपर्नेमा राज्य पक्षले छुट दिनु अख्तियारको दुरुपयोग भएको अर्यालले औंल्याए ।

‘खोलाबाट आएका दर्जनौं टिपरले पालिकाले तोकेको ठाउँमा घाटगद्दी नगरी सिंधै क्रसर उद्योगमा ढुवानी गरेका छन् । बिक्री बन्द गरेको भनिए पनि बन्द भएको छैन । हामीसँग भिडियो रेकर्ड पनि छ,’अर्यालले भने,‘यो त नाम मात्रैको अनुगमन र कारबाही भयो । ठेकेदारसामु राज्यपक्ष निरीह बन्दा राज्यको करोडौं मूल्यको ढुंगागिटी चोरी निकासी भएको छ, वातावरणमा गम्भीर असर परेको छ ।’

रुपन्देहीकै सियारी गाउँपालिका-७ को भर्तापुर नाकामा नदीको बहाव तिलोत्तमातर्फ सारेर उत्खनन् भइरहेको स्थानीय रामप्रसाद केवटले बताए । त्यहाँ ठेकेदारले रातको १० बजेसम्म र बिहान ४ बजेदेखि नै खोलामा उत्खनन् गर्ने गरे पनि प्रशासनले नरोकेको उनको भनाइ छ ।

‘यहाँ राति १० बजेसम्म र बिहान ४ बजेबाटै खोला खन्न सुरु हुन्छ, स्थानीयले विरोध गर्दा ठेकेदारका मान्छेले कुटपिट गरेर लखेट्छन्,’केवटले भने,‘खोलाको धार परिवर्तन गराएर व्यक्तिको जग्गामा समेत खन्ने काम भएको छ, तर अनुगमन गरेर रोक्ने काम भएन ।’

तर, सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले केवटको भनाइमा सत्यता नभएको जिकिर गरे । ‘म खोला उत्खनन्‌मा हुने बेथितिबिरुद्ध उभिदै आएको मान्छे हो, उनले कसरी आरोप लगाए ? भेटेर कुरा गर्नुपर्छ।’ घिमिरेले अनलाइनखबरसँग भने ।

‘खोलाबाट आएका दर्जनौं टिपरले पालिकाले तोकेको ठाउँमा घाटगद्दी नगरी सिधै क्रसर उद्योगमा ढुवानी गरेका छन् । बिक्री बन्द गरेको भनिए पनि बन्द भएको छैन । हामीसँग भिडियो रेकर्ड पनि छ।’

तिलोत्तमा- १४ कै बागधुरा नाकामा नगरपालिकाको कार्यादेशविपरीत उत्खनन् गरेको पाइएपछि प्रशासनले उत्खनन् रोकेर घाटगद्दी नापजाँच अघि बढाएको छ ।

तर, ठेकेदार पक्षले तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल र नगर प्रहरी समेतलाई धाकधम्की दिने र सर्वसाधारणलाई कुटपिट समेत गर्दै उत्खनन् खोल्न अनुचित दबाब दिएको उपप्रमुख चौधरीले बताइन् ।

‘नगरपालिकाले मात्रै ठेकेदारको मनोमानी रोक्न सकेको छैन, सीडीओ र एसपीले रोक्न भूमिका बढाउनुपर्ने हो, तर हामीले भनेको बेला सुरक्षाकर्मीहरू आउनुहुन्न,’चौधरीले भनिन्, ‘अनुगमनमा जाँदा हामी जनप्रतिनिधि नै असुरक्षित महसुस गरेर फर्किने गरेका छौं । यसले ठेकेदारहरूको मनोमानी बढेको छ, यो चिन्ताको विषय बनेको छ ।’

ठेकेदार पक्षले उत्खनन्स्थल, क्रसर उद्योग र मान्छेको आवतजावत हुने क्षेत्रमा कर्मचारी परिचालन गरी सरकारी अनुगमन टोलीको सूचना पहिल्यै पाएर बद्‌मासी लुकाउने गरेको स्थानीयको भनाइ छ ।

आफूले कात्तिक-मंसिरबाटै खोलाको ठेक्का लगाउने प्रक्रिया अघि बढाउन पालिकाहरूलाई आग्रह गरे पनि बेवास्ता गरी सबै पालिकाले एकैचोटी जेठमा ठेक्का लगाउँदा मनपरी दोहन र चोरीले प्रश्रय पाएको जिल्ला समन्वय समिति प्रमुख उमाकान्त चापागाईंले बताए । उनले यस्तो बेथिति रोक्न खोलाको ठेक्का प्रक्रियामा आमूल परिवर्तनको राष्ट्रिय बहस आवश्यक भएको बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी प्रदीप क्षेत्रीले वरिष्ठ सई प्रकाश रावतलाई घुमुवाको रूपमा परिचालन गरेर खोलाहरूमा भइरहेको मनपरी र चोरीलाई संरक्षणको भूमिका खेलेको आरोप छ ।

ठूलो परिमाणमा माटो समेत उत्खनन्

तिलोत्तमाको पश्चिम पहुनीस्थित तिनाउ नदीबाट ठेकेदारले ठूलो परिमाणमा माटो खनेर बाहिर थुपारेका छन् । नदीजन्य पदार्थ उत्खनन्को कार्यादेशमा माटो निकाल्न पाइने उल्लेख छैन ।

तर, अनुगमन गर्ने निकाय रमिते बन्दा मापदण्डविपरीत गहिरो खनेर ढुंगागिटी मात्र नभई माटो समेत निकालिएको छ ।

तिलोत्तमा- ४ को तिनाउ नदीमा ठेकेदारले मापदण्डविपरीत गहिरो खाडल हुनेगरी ढुंगागिटी निकालेको देखेपछि प्रमुख जिल्ला अधिकारीले कारबाही गर्नुको साटो खाल्डो पुर्न लगाएर गल्ती ढाकछोप गराएको स्थानीय गणेश दाहालले बताए ।

‘एक त अनुगमन नै छैन, जनताले दबाब दिएपछि एकछिन हुने झारा टार्ने अनुगमनमा समेत गल्ती देखेपछि कारबाही गर्नुको साटो खाल्डो पुर्न लगाएर जोगाउँछन्,’दाहालले भने, ‘राज्य पक्षले नै कडाइ नगर्ने हो भने ठेकेदारको मनोमानी रोकिँदैन ।’

रास्वपाको छुट्टै अनुगमन

रुपन्देहीका नदी र खोलामा जथाभावी उत्खनन् र चोरी निकासी रोक्न समाजवादी मोर्चा, रास्वपा र राष्ट्रिय जनमोर्चाले सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराएका थिए । दलहरूले स्थानीय तह, ठेकेदार र क्रसर उद्योगीको मिलेमतोमा जथाभावी उत्खनन् र चोरी निकासीले प्रश्रय पाएको आरोप लगाएका थिए ।

रास्वपाले प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई ज्ञापनपत्र नै बुझाएको थियो । तर दलहरूको मागअनुसार नियमित र प्रभावकारी अनुगमन नभएको भन्दै रास्वपाले बिहीबारदेखि स्थानीय नागरिकको सहभागितामा जनस्तरको अनुगमन सुरु गरेको रास्वपा रुपन्देही- ३ का सभापति मधु अर्यालले बताए ।

‘खोलामा मनपरी दोहन र चोरी निकासी नरोकिएको स्थानीयको गुनासो थेग्न नसकेपछि प्रदेश उपसभापति शालिकराम घिमिरेको नेतृत्वमा नागरिक सहभागितामा पार्टीले पनि अनुगमन सुरु गरेको छ,’ रास्वपा रुपन्देही-३ का सभापति अर्यालले भने, ‘विपक्षी दल र नागरिकले दबाब नदिएसम्म सरकारी अनुगमन टोली स्वतस्फुर्त नियमित अनुगमन नगर्ने अवस्था देखियो, निरन्तर अनुगमन हुनुपर्छ ।’

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?