+
+
Shares
क्यानभासमा इतिहास :

देवी कुमारीसित आशीर्वाद माग्ने पृथ्वीनारायण, बेलायतमा महँगी नगरवधु फकाइरहेका जंगबहादुर

प्रदर्शनीमा राखिएका ४५ चित्रहरूले लिच्छवि, मल्ल हुँदै राणाकालीन समयका ऐतिहासिक घटनाक्रम देखाउँछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २४ गते २१:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २४ जेठ काठमाडौंमा नेपाल आर्ट काउन्सिलले हरिप्रसाद शर्माको प्राचीन नेपाली संस्कृतिको चित्र प्रदर्शनी आयोजना गरेको छ।
  • प्रदर्शनीमा ४५ चित्रले इतिहास, परम्परा र जीवनशैलीलाई जीवंत रूपमा प्रस्तुत गरेका छन्।
  • शर्माले जीवनभर सङ्कलित अनुभव र अध्ययनबाट नेपाली सांस्कृतिक दस्तावेज तयार गरेका हुन्।

२४ जेठ, काठमाडौं । यतिबेला बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा नेपालको प्राचीन इतिहास, संस्कार र जीवनशैलीलाई समेट्ने चित्रहरूको प्रदर्शनी चलिरहेको छ।

८२ वर्षीय  कलाकार हरिप्रसाद शर्माले क्यानभासमा उतारेका यी चित्रहरूले पृथ्वीनारायण शाहकालीन युद्धदेखि लिएर काठमाडौं उपत्यकाको पुरातन संस्कृतिसम्मको गहिरो यात्रामा दर्शकलाई लैजान्छन्।

प्रदर्शनीमा राखिएका ४५ चित्रहरूले लिच्छवि, मल्ल हुँदै राणाकालीन समयका ऐतिहासिक घटनाक्रम मात्र होइन, ती कालखण्डमा बाँचिने जनजीवन, परम्परा र आस्थाको संसारलाई पनि जीवित बनाएका छन्।

काठमाडौं उपत्यकाका प्राचीन सांस्कृतिक सम्पदा (मन्दिर, बहाल, गल्लीदेखि लिएर जात्रा, पूजा र समाजका रीतिरिवाज) शर्माका चित्रमा सजीव अभिव्यक्तिका रूपमा झल्किएका छन्। विशेषगरी नेवार समुदायको संस्कृतिको चित्रणमा उनले जीवन्तता थपेका छन्।

उनी चित्रमार्फत देखाउँछन्ः कसरी प्राचीन समयमा उपत्यकामा मानिस बिरामी पर्दा तान्त्रिक गुभाजुहरूसँग चिना लिएर ग्रहदशा हेर्न जान्थे।

प्रदर्शनीले नयाँ पुस्तालाई समेत आफ्नो पहिचान र संस्कृतिप्रति गहिरो सम्बन्ध जगाउने अवसर दिएको छ

त्यस्तै, नेवारी समुदायमा तेलमा भिजाइएको राँको बालेर रातिको उज्यालोमा शव यात्रा गरिन्थ्यो, जसलाई उनले कलात्मक ढंगमा प्रस्तुत गरेका छन्।

एक चित्रमा उनले राजकुमार सिद्धार्थको जीवनको द्विविधा चित्रण गरेका छन्ः एकातर्फ निद्रामग्न सुन्दरी पत्नी र न्यानो दरबार जीवन, अर्कातर्फ सांसारिक दुःखबाट मुक्ति पाउने इच्छा ।

यो चित्रले धर्म, मोह र मोक्षको गहिरो द्वन्द्व उजागर गर्छ।

त्यसबेलाको कैलाशकुट कस्तो थियो भन्ने दृश्य पनि हरिप्रसाद शर्माका चित्रहरूमा देख्न सकिन्छ, जहाँ अंशु बर्माको जीवनशैली र सत्ता सञ्चालन शैलीलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ।

यस्तै, जंगबहादुर राणाले कोतपर्व कसरी मच्चाए, र युरोप भ्रमणका क्रममा युवतीसँग संसर्ग गर्न कति धन खर्चिए भन्ने प्रसंगलाई समेत उनले क्यानभासमा उतारेका छन्। यी चित्रहरू केवल ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण मात्र होइनन्, ती दृश्यहरूमार्फत कलाकारले त्यो समयको सत्ता, संस्कार र निजी जीवनका तहहरू उद्घाटित गरेका छन्।

शर्माका चित्रहरूमा सम्राट अशोकले लुम्बिनी भ्रमणका क्रममा गरेका गतिविधिदेखि लिएर पृथ्वीनारायण शाहले काठमाडौं विजय गरेपछि कसरी जीवित देवी कुमारीबाट आशीर्वाद लिएका थिए भन्ने प्रसंगसम्म देखिन्छ।

त्यतिबेला भाषा नै नबुझ्ने काठमाडौंका जनतासँग पृथ्वीनारायणले संवाद कसरी गरे भन्ने रोचक ऐतिहासिक पाटोलाई पनि उनले चित्रमार्फत पुनः जीवन दिएका छन्।

अक्षत बागमती-पवित्र र ऐतिहासिक नदीका रूपमा बगिरहेको बागमतीको चित्रणदेखि लिएर, नेवार समुदाय कसरी भोज खाँथे, उत्सव मनाउँथे, र व्यापारका लागि तिब्बतसम्म यात्रा गर्दा के-के भोग्थे भन्ने जीवित चित्रहरू उनको प्रदर्शनीमा समावेश छन्।

यी चित्रहरूले इतिहासका सुस्केरा मात्र होइन, एक युगको संवेदनालाई रंग र रेखामार्फत बोल्न सिकाएका छन्।

शर्माले २०५९ सालदेखि निरन्तर तयार पारेका चित्रहरूको यो एकमुष्ठ प्रदर्शनी हो। जीवनभर सँगालिएका प्रेरणा, सम्झना र अनुभवलाई क्यानभासमा उतार्दै उनले एउटा सांस्कृतिक दस्तावेज तयार गरेका छन्।

शनिबार प्रदर्शनी हेर्न शिक्षामन्त्री रघुजी पन्त, नेपाली कांग्रेसका महामन्त्री गगन थापा लगायत पनि नेपाल आर्ट काउन्सिल पुगेका थिए। केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समेत यी चित्रहरूको अवलोकन गरेका थिए ।

प्रदर्शनीले न केवल इतिहासप्रेमीहरूलाई, नयाँ पुस्तालाई समेत आफ्नो पहिचान र संस्कृतिप्रति गहिरो सम्बन्ध जगाउने अवसर दिएको छ।

पाटन क्याम्पसमा अर्थशास्त्र अध्यापन गराउँदै आएका विष्णुप्रसाद शर्माका अनुसार, विगतमा उनका बुबा हरिप्रसाद प्रायः इतिहासका राजा, रजौटा र शक्तिशाली पात्रहरूको मात्र चित्र बनाउने गर्थे ।

‘तर पछि मैले उहाँसँग इतिहासमा सिंहासनमा बसेकाको मात्र होइन, समाजमै बाँच्ने सर्वसाधारणको पनि चित्र बनाउनुपर्छ भनेँ’, विष्णुप्रसाद सम्झन्छन्, ‘त्यसपछि उहाँले समाजका विभिन्न तह र परिवेश झल्किने चित्रहरू बनाउन थाल्नुभयो ।’

विष्णुप्रसाद आफैं चित्र बनाउन जान्दैनन्, तर उनको सोच र बुबाको शिल्प यी चित्रकलाहरूमा घुलमिल भएको छ । ‘मैले बुबालाई त्यसबेलाको जनजीवन, संस्कार, र सामाजिकीकरणसमेत क्यानभासमा उतार्न सुझाएँ,’ उनी भन्छन्, ‘अहिले देखिने धेरै चित्रहरू त्यो साझा छलफल र दृष्टिकोणको परिणाम हुन् । नेपालको इतिहास चित्रकलामार्फत जोगाउने अभियानमा सानो योगदान दिन पाउँदा मलाई गर्व लाग्छ ।’

हरिप्रसाद शर्माका केही चित्रहरू यति प्रभावशाली छन् कि हाल सरकारले विदेशी पाहुनालाई प्रदान गरिने विशेष ‘सोभिनियर’को रूपमा समेत तिनको संकलन प्रयोग गर्न थालेको छ ।

ऐतिहासिक दस्तावेज अध्ययन गरेर चित्रकला 

हरिप्रसाद शर्मा ललितपुरको एक परम्परागत परिवारमा जन्मिएका हुन्। कलाको मोह उनलाई बाल्यकालदेखि नै थियो।

औपचारिक रूपमा उनी कुनै कला विद्यालयमा नपढे पनि, जीवनकै अनुभव, अध्ययन र निरन्तर अभ्यासमार्फत उनले आफूलाई एउटा कुशल चित्रकारका रूपमा स्थापित गरे।

२०२० सालतिर उनले स्थानीय सामुदायिक मठमन्दिरहरूमा वालपेन्टिङ गर्दै कलाको यात्रा सुरु गरे। पछि आएर पुरातात्विक संरचनाको संरक्षण तथा ऐतिहासिक विषयमा चित्र बनाउनेतर्फ झुकाव बढ्दै गयो।

उनले पुराना तस्वीर, शिलालेख, कागजात र जनश्रुतिहरूको अध्ययन गरेर चित्र कोर्दै आएका छन् ।

विगतमा उनले सरकारी नोकरी समेत गरेका थिए । घरेलु कार्यालय, राष्ट्रिय संग्रहालय र नेपाल वायुसेवा निगममा काम गरेको अनुभव उनीसँग छ । २०२२ सालमा निगल प्रवेश गरेका उनले २०४८ सालमा अवकाश लिएका थिए । त्यसपछि शर्मा पूर्णकालीन कलाकार बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?