+

खाली पेटमा लिची खानु हानिकारक, भारत मुजफ्फरपुरको त्यो घटना

२०८२ जेठ  २८ गते १९:४४ २०८२ जेठ २८ गते १९:४४
खाली पेटमा लिची खानु हानिकारक, भारत मुजफ्फरपुरको त्यो घटना

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लिची फल नेपाल, भारत, चीन, थाइल्याण्डमा लोकप्रिय छ र स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ।
  • तर, खाली पेटमा खाँदा कुपोषित बालबालिकामा ज्वरो र मृत्युको खतरा बढ्ने अध्ययनले देखाएको छ।

लिची यतिबेलाको मौसमी फल हो । रसिलो र स्वादिलो यो फल नेपाल, भारत, चीन, थाइल्याण्ड लगायतका देशहरूमा निकै लोकप्रिय छ । गर्मीको मौसममा पाइने र रसिलो फल भएकाले धेरैको रुचिमा पर्छ यो।

लिचीमा स्वास्थ्यलाई फाइदा गर्ने भिटामिन सी, फाइबर, एन्टिअक्सिडेन्ट र अन्य पौष्टिक तत्वहरू पाइन्छ । तर, लिचीलाई खाली पेटमा खाँदा केही स्वास्थ्य समस्याहरू निम्त्याउन भनिन्छ ।

करिब एकदशक पहिला भारतको ग्रामीण क्षेत्रमा लिची खाएर बालबालिका बिरामी परेको भन्ने कुराले निकै चर्चा पाएको थियो । त्यसपछिका वर्षसम्म पनि यसबारे चर्चा भइरह्यो।

खासमा भएको के थियो ?

यो विहारको मुजफ्फरपुरसँग जोडिएको प्रसंग हो । मुजफ्फरपुर लिची उप्पादनका लागि प्रख्यात ठाउँ हो । त्यहाँका धेरै किसानको मुख्य आयस्रोत नै लिची हो । गर्मी मौसम सुरु हुनेबित्तिकै त्यहाँका बालबालिकामा अधिक ज्वरो आउने । बालबालिकाको मृत्यु हुने समस्या देखियो । खास के कारण भइरहेको छ भनेर चिकित्सकहरूले पनि पत्ता लगाउन सकेनन् ।

जापानिज इन्सेफलाइटिससँग मिल्ने लक्षण तीब्र मस्तिष्क ज्वरोको समस्या धेरै बच्चाहरूमा देखियो । यसलाई भारतको राष्ट्रिय रोग नियन्त्रण केन्द्र(एनसीडीसीले) भाइरल इन्सेफलाइटिसको नाम दिएको थियो ।

अस्पताल भर्ना गरिएकामध्ये धेरै बालबालिकाको मृत्यु भयो । यो सन् २०१४ को घटना थियो । धेरै बालबालिकाको मृत्यु भएपछि स्वास्थ्य सहायताका लागि केन्द्र सरकारलाई नै गुहार्नुपरेको थियो । यस खालको समस्या अघिल्ला वर्षहरूमा पनि थिए बालबालिकालाई बिरामी बनाउने अज्ञात रोगलाई इन्सेफलाइटिसकै शंका गरी उपचार गरियो तर त्यो भन्दा अवस्था फरक थियो ।

त्यसपछि यसको कारण खोज्दै जाँदा लिचीसम्म पुगेको थियो । उस्तै खालको स्वास्थ्य समस्या भएर धेरै बालबालिकाको मृत्यु भएपछि लिचीसँग जोडेर शंका गरियो ।

यसपछि लिचीसँग यसको सम्बन्धबारे विज्ञहरूको टोलीले यसबारे अध्ययन गरेको थियो । उक्त अध्ययनको रिपोर्ट २०१७ मा ‘द ल्यान्सेट ग्लोबल हेल्थ’मा प्रकाशित गरिएको छ ।

अध्ययनकर्ताले बालबालिकामा देखिएको उक्त स्वास्थ्य समस्यामा लिचीको सम्बन्ध रहेको निष्कर्ष निकालेका छन् । उनीहरूले यो स्वास्थ्य समस्यालाई एन्सेफ्यालोप्याथीको रुपमा उल्लेख गरेका छन् । यो रोग नसर्ने खालको र जैविक रसायनसँग सम्बन्धित रहेको प्रयोगशालाको रिपोर्टले देखायो ।

लिची फल्ने मौसम र यो रोग फैलिने मौसममा समानता देखियो । त्यसपछि लिचीमा हुने रसायनबारे अध्ययन गरियो । लिचीको फलमा मिथाइलिन साइक्लोप्रोपाइल ग्लाइसिन(एमसीपीजी) रसायन रहेको पुष्टि गरे । यसलाई ‘हाइपोग्लाइसिन जी’ नामाकरण गरिएको थियो । यसले रगतमा ग्लुकोजको मात्रा घटाउन मद्दत गर्छ । रगतमा एक्कासी धेरै ग्लुकोजको मात्रा घट्दा मस्तिष्क सुन्निने र तीब्र रुपमा मस्तिष्कको ज्वरोको समस्या देखिन्छ । यसले बिरामी बेहोस् हुने र मृत्यु हुने समस्या निम्त्याउछ ।

विशेष गरी कुपोषण भएका बालबालिकाले खाली पेटमा लिची खाँदा यसले रगतमा ग्लुकोजको मात्रा ह्वात्तै घट्ने र एन्सेफ्यालोप्याथीको समस्या देखिने पाइएको अध्ययनको रिपोर्टमा उल्लेख गरिएको छ ।

लिची खेती गर्ने किसानहरू, प्रभावित बालबालिकाका अभिभावक, बिरामी परेका बालबालिकाका दाजुदिदी, प्रभावित परिवारका छिमेकी, लिची काट्ने परिवार र धेरै चिकित्सक र बाल रोग विशेषज्ञसमेतको अनुभवहरू अध्ययनमा समेटिएको उल्लेख छ ।

लिचीको सिजन भएपछि बालबालिकाहरू दिनभर लिचीको बगैंचातिर जाने, बोटबाट झुप्पा टिपेर भन्दा पनि भुइँमा झरेका लिचीका दाना टिपेर खाने, कतिपय बालबालिकाले दिनभर लिची खाएका कारण राति खाना नखाइकन सुत्ने गरेका दृष्टान्तहरू अध्ययनमा भेटिए ।

निष्कर्षमा लिचीलाई हानिरहित फलको रुपमा अध्ययनकर्ताहरूले घोषणा गरेका छन् । वयस्कहरू र राम्रोसँग पोषण पाएका बच्चाहरूका लागि विषाक्त नहुने निष्कर्ष निकालिएको छ । तर कुपोषण भएका बालबालिकाले खाली पेटमा लिची खानु भने हानिकारक हुने बताइएको छ ।

यसबारे स्थानीय, ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीलाई समेत सचेत गराउने अभियान चलाएपछि अर्को वर्ष बालबालिकाको मृत्यु कम भएको अध्ययनकर्ताले दावी गरेका छन् ।

तर भारतमा सन् २०१९ मा फेरि मुजफ्फरपुरमा क्षेत्रमै यस्तै खालको समस्या देखिएर ठूलो संख्यामा बालबालिकाको मृत्यु भयो । यसमा पनि लिचीलाई जोडेर थुप्रै चर्चा, बहस भए । त्यसपछिका वर्षमा पनि बालबालिकामा एक्यूट इनसेफ़िलाइटिस सिन्ड्रोमको समस्या देखिएको छ । लिची किसानहरूले बिनाप्रमाण यो फललाई बदनाम गरिएको गुनासो पनि गरिरहेका छन् ।

भातरीय मिडियाहरूका अनुसार यस विषयमा अहिले पनि अध्ययन भइरहेको छ ।

यही दृष्टान्तका आधारमा कुपोषण भएका बालबालिका, मधुमेहका रोगी, जसलाई रगतमा चिनीको स्तर नियन्त्रणमा राख्न गाह्रो हुने अवस्था छ उनीहरूलाई खाली पेटमा लिची नखान सुझाव दिइन्छ ।

विशेषगरी बालबालिको शरीरमा ग्लुकोजको भण्डारण कम हुन्छ र उनीहरूको मेटाबोलिजम वयस्कहरूको भन्दा फरक हुन्छ । यसकारण खाली पेटमा लिची खाँदा त्यसमा पाइने हाइपोग्लाइसिन ए ले असर गर्ने चिकित्सकहरूको भनाइ छ ।

खालीपेट बालबालिका भारत लिची
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय