+

युकेका राजा चार्ल्सबाट डेभिड बेकहामले पाए ‘नाइटहूड’ सम्मान

२०८२ जेठ  ३१ गते १४:३७ २०८२ जेठ ३१ गते १४:३७
युकेका राजा चार्ल्सबाट डेभिड बेकहामले पाए ‘नाइटहूड’ सम्मान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंगल्यान्डका पूर्वकप्तान डेभिड बेकहामलाई राजा चार्ल्स तेस्रोको जन्मदिनको सम्मान कार्यक्रममा 'नाइटहूड'बाट सम्मानित गरिएको हो।
  • उनीले आफ्नो फुटबल करियर र परोपकार क्षेत्रमा गरेको योगदानको लागि यो पुरस्कार प्राप्त गरेका हुन्।
  • बेकहामले म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, एल ए गालेक्सी, एसी मिलान र पेरिस सेन्ट जर्मेनमा खेलेर अन्तर्राष्ट्रिय र क्लब स्तरमा सफलता प्राप्त गरेका छन्।

३१ जेठ, काठमाडौं । इंगल्यान्ड राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान एवम् स्टार खेलाडी डेभिड बेकहाम ‘नाइटहूड’बाट सम्मानित भएका छन् ।

राजा चार्ल्स तेश्रोको जन्मदिनको सम्मान कार्यक्रम अन्तरगत बेकहामको खेल जीवनको साथै परोपकारको क्षेत्रमा गरेको योगदानको लागि यो पुरस्कार प्रदान गरिएको हो ।

‘पूर्वी लन्डनमा देशभक्त अभिभावकको साथमा हुर्केको म एक दिन यस्तो सम्मान पाउँछु भनेर कल्पना समेत गरेको थिइनँ । यो मेरो लागि गर्वको कुरा हो’ बेकहामको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बेकहाम सन् २००३ मा ओबिइबाट सम्मानित भएका थिए । अनेकौं वर्षको प्रतीक्षापछि अब उनी ‘सर डेभिड बेकहाम’बाट पनि चर्चित हुनेछन् । यसअघि सर एलेक्स फर्ग्युसन, सर केनी डाल्गिशलगायतले पनि नाइटहूड सम्मान पाएका छन् ।

बेकहामको फुटबल यात्रा म्यानचेस्टर युनाइटेडमा सुरु भएको थियो । त्यहाँ उनले ३९४ खेल खेल्दा ८५ गोल गर्न सफल भए । पछि उनी रियल मड्रिड, एल ए गालेक्सी, एसी मिलान अनि पेरिस सेन्ट जर्मेनमा पनि खेले । इंगल्यान्डको लागि ११५ खेल खेले — जसमध्ये ५९ मा टोलीको नेतृत्व गरेका थिए ।

क्लब करियरमा १९ प्रमुख ट्रफी जितेका बेकहाम एकै साथ चार देशमा च्याम्पियन बन्ने पहिलो इंग्लिस खेलाडी थिए । बेकहामको खेल कौशल, विशेषगरी लामो पास अनि फ्रिकिक असाधारण मानिन्छ ।

संयुक्त राज्य अमेरिका जाँदा उनले त्यहाँको फुटबलको लोकप्रियतालाई अझै उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेले ।

खेलको साथसाथै परोपकारमा पनि सक्रिय बेकहाम सन् २००५ देखि यूनिसेफको सद्भावना दूत छन् । पछि उनले असाहाय बालबालिकाहरूको सहयोगको लागि ‘७ फन्’ स्थापना गरेका थिए । चेल्सी पेन्शनर्स, हेल्प फर हीरोज, ग्रेट ओर्मोन्ड स्ट्रीट अस्पताल, एज यूके अनि लन्डन एयर एम्बुलेंसजस्ता संस्थाहरूमा पनि उनको समर्थन छ

डेभिड बेकहाम सर डेभिड बेकहाम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय