News Summary
Generated by OK AI. Editorially reviewed.- सूर्य नेपाल गल्फ टुर २०२४–२५ को पहिलो दिन रवि खड्का ५–अन्डर स्कोरसहित शीर्ष स्थानमा रहन सफल भए।
- सुबाश तामाङ दोस्रो स्थानमा रहे भने, भुटानका निम दोर्जी र राहुल विश्वकर्माले संयुक्त रूपमा एमेच्योर शीर्ष स्थान हासिल गरे।
- प्रतियोगितामा १६ लाख रुपैयाँ पुरस्कार राशीको दाबेदारी रहेको छ र विजेताले ३ लाख पुरस्कार प्राप्त गर्नेछन्।
२ असार, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम तथा सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन रबि खड्का शीर्षस्थानमा रहन सफल भएका छन्।
५–अन्डर ६७ को स्कोरमा रविले डिफेन्डिङ च्याम्पियन सुबाश तामाङलाई १ स्ट्रोकले पछि परेका छन्। सुबाश ४–अन्डर ६८ को स्कोरमा दोस्रो स्थानमा रहे।
३–अन्डर ६९ को नतिजामा दुई एमेच्योर निम दोर्जी तामाङ र राहुल विश्वकर्मा तथा प्रो गल्फरद्वय भुवन नगरकोटी र धन बहादुर थापाले संयुक्त रूपमा तेस्रो स्थान बाँडे।
२–अन्डर ७० स्कोर गरेका निरज तामाङ र विष्णु प्रसाद शर्मा संयुक्त रूपमा सातौं स्थानमा छन्। १–अन्डर ७१ स्कोर गरेका दीपक मगर, राम कृष्ण श्रेष्ठ र एमेच्योर वाङ्चेन ढोन्डुपले नवौं स्थान बाँडे।
पूर्व नम्बर एक गल्फर रबिले छैटौं देखि नवौं होलसम्म लगातार चार बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाए। यसपछि ब्याक नाइनमा उनले १२औं र १७औं होलमा एक–एक सट बचाए। १३औं होलको बर्डीले ब्याक नाइन १–अन्डर ३५ मा पूरा गरे।
सुबाशले फ्रन्ट नाइन १–ओभर ३७ मा सकाए। छैटौं होलमा बर्डी प्रहार गरेपनि पाँचौं र सातौं होलमा एक–एक सट खेर फाले। उनले ब्याक नाइनमा भने उत्कृष्ट प्रदर्शन गरे। बोगी रहित ब्याक नाइन खेल्ने क्रममा १०औं, १२औं र १६औं होलमा बर्डी प्रहार गरे। ५–पारको १५औं होलमा इगलको सफलता हात पारे।
एमेच्योरतर्फ भुटानका निम दोर्जी र नेपालका राहुल संयुक्तरुपमा शीर्षस्थानमा रहे। उनीहरूले ३–अन्डर ६९ को स्कोरमा वाङ्चेनलाइ २ स्ट्रोकले पछि पारे।
निमले तेस्रो र सातौं होलमा इगल प्रहार गरे। छैटौं होलमा एक सट बचाए। पहिलो र आठौं होलमा बोगीको सामना गर्दा फ्रन्ट नाइन ३–अन्डर ३३ मा पुरा गरे। यसपछि ११औं र १४औं होलमा बर्डी तथा १५औं र १८औं होलमा बोगी खेपे। ब्याक नाइन इभन–पार ३६ खेले।
राहुलले फ्रन्ट नाइन १–अन्डर ३५ तथा ब्याक नाइन २–अन्डर ३४ मा सकाए। उनले कुल ५ बर्डी र दुई बोगी प्रहार गरे। वाङ्चेनले १–अन्डर ७१ स्कोर गरे। वाङ्चेनले सातौं होलमा चार सट खेर फाले। उनले ६ बर्डी प्रहार गर्दा एक बोगी खेपेका थिए।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित चार दिने प्रतियोगितामा ३७ जना प्रोफेसनल गल्फरले हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशीको लागि दाबेदारी प्रस्तुत गरिरहेका छन् ।
विजेताले उपाधि सहित ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। दोस्रो हुने खेलाडीले १ लाख ८५ हजार, तेस्रोले १ लाख २५ हजार, चौथोले १ लाख ५ हजार र पाँचौं हुनेले ९२ हजार रुपैयाँ हात पार्नेछन्। शीर्ष २१ भित्र रहने सबै खेलाडी नगद पुरस्कारको हकदार बन्नेछन्।
साथै प्रतियोगितामा १८ जना एमेच्योर खेलाडीहरू पनि प्रतिस्पर्धा गरिरहेका छन्।
चार दिने प्रतियोगितापछि असार ७ गते (शनिबार) प्रो–एम प्रतियोगिता हुनेछ। जहाँ २५ जना प्रोफेसनल र १०० जना कर्पोरेटस्तरका एमेच्योर खेलाडीले भाग लिनेछन्।
प्रतिक्रिया 4