+

लिग २ मा धेरै राम्रो भयो, वेस्ट इन्डिजसँग खेल्न उत्साहित छौं : कप्तान रोहित

२०८२ असार  ८ गते २०:४३ २०८२ असार ८ गते २०:४३
लिग २ मा धेरै राम्रो भयो, वेस्ट इन्डिजसँग खेल्न उत्साहित छौं : कप्तान रोहित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेट कप्तान रोहित पौडेलले स्कटल्याण्डको लिग २ क्रिकेट शृंखलामा राम्रो नतिजा आएको बताए ।
  • सबै खेलाडीले आफ्नो जिम्मेवारी पूरा गरेको उनको भनाइ थियो।
  • नेपाली टोली आगामी टी-२० विश्वकप तयारीका लागि जुलाइ र अगस्टमा तयारी क्याम्पमा सहभागी हुनेछ।

८ असार, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले भर्खरै स्कटल्याण्डमा सम्पन्न लिग २ क्रिकेटको शृंखला धेरै राम्रो भएको बताएका छन् ।

आइतबार स्वदश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै रोहितले समग्रमा यस टुर नै सफल भएको उल्लेख गरे ।

‘यो शृंखला निकै महत्वपूर्ण थियो, सबै खेलाडीहरूले आफ्नो जिम्मेवारी अनुसार खेले । समग्रमा राम्रो नतिजा आएको छ’ उनले भने, ‘युके टुरदेखि नै राम्रो भइरहेको थियो, लिग २ मा पनि त्यस्तै राम्रो भयो, नतिजाबाट सन्तुष्ट छौं।’

त्यस्तै नयाँ प्रशिक्षक आएपछि देखिएको परिवर्तनबारे प्रश्नमा उनले भने, ‘परिवर्तन छोटो समयमै पाउन त गाह्रै हुन्छ । त्यस्तो धेरै परिवर्तन भएको छैन । विस्तारै हुँदै जाने हो । सबैको मेहेनतको कारण सफल भएका छौं ।’

‘त्यस्तो कन्डिशनमा गएर खेलहरू जितेका छौं । लिग २ कै दुई उत्कृष्ट टिमहरूलाई हरायौं, आगामी सिरिजहरूका लागि पनि त्यसले मद्दत गर्छ’ उनले अगाडि थपे ।

केही खेलाडी चोटका कारण उपलब्ध नहुँदा ब्याकअपमा रहेका खेलाडीबाट पनि राम्रो प्रदर्शन भएको उनको भनाइ थियो ।

नेपालले लिग २ शृंखलापछि त्रिदेशीय टी-२० शृंखला पनि खेलेको थियो जहाँ नेदरल्याण्ड्ससँगको पहिलो खेलमा ऐतिहासिक ३ सुपर ओभर भएको थियो ।

त्यसबारे स्मरण गर्दै रोहितले त्यो हुन्छ भनेर कसैले नसोचेको बताए । ‘सोचेको थिएनौं ३ वटा सुपर ओभर हुन्छ भनेर । चेज गर्दा विकेट गएको भएर अलि दबाबमा आयौं तर त्यसपछि साझेदारी बन्यो अनि लास्टमा सुपर ओभरमा खेल गयो’ उनले भने, ‘सुपर ओभरमा त्यति सोच्ने समय हुँदैन । दुवै टिमबाट रन बनिरहेको थियो । तेस्रोमा चाहिँ सफल भइएन । त्यस्तो धेरै यही गर्नुपर्छ भनेर केही सोचेकै थिएनौं।’

त्यस्तै यसै शृंखलामा ओडिआई डेब्यू गरेका र पहिलो टी-२० खेललाई सुपर ओभरसम्म पुर्‍याएका नन्दन यादवले पनि कसैले सोच्दै नसोचेको कुरा भएर ३ वटा सुपर भएको उल्लेख गरे । ‘हामी आफैं आश्चर्यमा परेका थियौं ३ पटक सुपर ओभर हुँदा’ उनले भने ।

नेपालले अब आगामी अक्टोबरमा हुने आईसीसी टी-२० विश्वकप एसिया छनोटका लागि तयारी थाल्नेछ । त्यसका लागि आउँदो जुलाइमा श्रीलंकामा गएर तयारी क्याम्प हुने तय छ । अगस्टमा भारतका विभिन्न स्थानमा पकेट क्याम्प हुनेछ भने अगस्टमै अस्ट्रेलिया गएर पनि तयारी क्याम्पमा सहभागी हुनेछ ।

त्यसपछि सेप्टेम्बरमा नेपालले वेस्ट इन्डिजसँगको टी-२०आई खेल पनि खेल्दै छ । त्यसका लागि पनि धेरै उत्साहित रहेको कप्तान रोहितको भनाइ थियो । ‘एकदमै उत्साहित छौं । धेरै स्तरीय टिम हो वेस्ट इन्डिज र खेल्न पाउनु भनेको हाम्रो लागि आफैंमा एउटा ठुलो उपलब्धि पनि हो’ उनले भने ।

गत वर्ष वेस्ट इन्डिजको ए टोलीले नेपालमै आएर पाँच खेलको टी२० शृंखला खेलेको थियो । ‘हामीले खेलिसकेको ए टोलीभन्दा खासै फरक त नहोला, तर पनि २ पटक विश्वकप च्याम्पियन भएकाले क्वालिटी साइड हो, सिरिज राम्रो हुनेछ’ रोहितले भने ।

युके टुर र लिग २ का खेलहरूमा ब्याटिङमा पनि सुधारिएको प्रदर्शन भएको रोहितको भनाइ थियो । ‘ब्याटिङ हाम्रो राम्रो नै भएको हो । हामीले कुराहरू सहज बनाएर खेलिरहेका छौं । धेरै कम्प्लेक्स बनाएका छैनौं, सबैले आफ्नो भूमिका अनुसार खेलेका छन्’ उनले भने ।

प्रशिक्षक स्टुअर्ट लको शैलीबारे बोल्दै रोहितले ल धेरै सरल भएको उल्लेख गरे । ‘उहाँ एकदम स्ट्रेड फरवार्ड हुनुहुन्छ,  मैदानमा प्राप्त भएका अवसरहरू सदुपयोग गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ, धेरै जटिल पनि बनाउनुहुन्न अवस्थालाई’ उनले भने ।

प्रशिक्षक ल भने नेपाली टोलीसँग नेपाल फर्किएका छैनन् । उनी युके टुर हुने बेला पनि केही समय अघि नै युके गएका थिए । उनी केही समय त्यतै रहने बुझिएको छ ।

नेपाली क्रिकेट टोली रोहित पौडेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय