News Summary
Generated by OK AI. Editorially reviewed.- ओमान क्रिकेटले टी–२० विश्वकप खेलाडीहरूलाई पुरस्कार रकम सन् २०२५ जुलाईसम्म वितरण गर्ने घोषणा गर्यो।
- खेलाडीहरूले सन् २०२४ अक्टोबरमा रकम नपाएको र दबाबपछि स्थिति गम्भीर बनेको थियो।
- खेलाडीहरूले प्रतियोगिता खेल्न अस्वीकार गरेपछि अधिकांशलाई ओमान छोड्न बाध्य बनाइएको थियो।
९ असार, काठमाडौं । ओमान क्रिकेट बोर्डले अन्ततः टी–२० विश्वकप टोलीका खेलाडीहरूलाई सो प्रतियोगिताबाट प्राप्त पुरस्कार रकम प्रदान गर्ने घोषणा गरेको छ।
सोमबार एक सार्वजनिक विज्ञप्तिमार्फत ओमान क्रिकेटले अमेरिकी डलर २ लाख २५ हजार बराबरको उक्त रकम सन् २०२५ जुलाईसम्ममा खेलाडी र सपोर्ट स्टाफलाई वितरण गरिने जनाएको छ।
यसअघि ओमान टोलीका खेलाडीहरूले सन् २०२४ जुनमा अमेरिका र क्यारिबियनमा सम्पन्न विश्वकपको एक वर्ष बितिसक्दा पनि पुरस्कार रकम नपाएको र माग गर्दा टिमबाटै निकालिएको खबर बाहिरिएको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग सहभागी बोर्डहरूले गरेको सहमतिअनुसार, बोर्डले आईसीसीबाट रकम प्राप्त गरेको २१ दिनभित्र खेलाडीलाई रकम वितरण गर्नुपर्ने नियम छ।
आईसीसीले ओमान क्रिकेटलाई समयमै रकम पठाएको पुष्टि गरे पनि ओमान क्रिकेटले वितरणमा भएको ढिलाइलाई ‘प्रक्रियागत’ भन्दै पछि सारिएको स्पष्ट पारेको छ।
खेलाडीहरूले प्रतियोगितापछि नै रकम नपाएको विषय उठाएका थिए। सन् २०२४ अक्टोबरमा इमर्जिङ टिम्स एशिया कपको दौरान खेलाडीहरूले सामूहिक रूपमा दबाब सिर्जना गर्ने निर्णय गरेपछि स्थिति थप गम्भीर बनेको थियो ।
खेलाडीहरूले प्रतियोगिता खेल्न नै अस्वीकार गरेर चेतावनी दिएपछि खेल सुरु हुनु एक दिनअघि नै टोलीबाट बाहिरै राखिएको थियो।
त्यसपछि १५ सदस्यीय टोलीका ११ खेलाडीहरूको केन्द्रीय सम्झौता निलम्बन गरेर अधिकांशलाई ओमान छाड्न बाध्य बनाइएको थियो।
खाडी मुलुकहरूमा रोजगारीमा आधारित आवासीय अनुमति रहने भएकाले रोजगारी गुमेपछि उनीहरूलाई देश छाड्नुपरेको थियो।
प्रतिक्रिया 4