News Summary
Generated by OK AI. Editorially reviewed.- गर्भावस्थाको चौथो महिनामा शारीरिक र मानसिक परिवर्तनहरू देखिन्छन् र जटिलता पहिचान आवश्यक हुन्छ।
- यस समयमा नियमित जाँच, पोषणयुक्त खानपान र चिकित्सकको परामर्श अनिवार्य छ।
- सामाजिक समर्थन र सावधानी अपनाएर गर्भावस्थालाई सुरक्षित र सुखद बनाउने सुझाव दिइन्छ।
गर्भावस्थाको चौथो महिना पुग्दासम्म पहिलाको जस्तो वाकवाक लाग्ने, खानेकुरा हेर्न मन नलाग्ने, रिँगटा चल्ने जस्ता दु:ख दिने लक्षण हराउन थाल्छन्।
यो समय भनेको पहिलो त्रैमासिक सकिएर दोस्रो सुरु हुने चरण हो। कमजोरी र खानपान असन्तुलनले खिस्रिक्क र मलिन अनुहार उज्यालो र उर्जाशील देखिन थाल्छ । अब खानेकुराको तलतल लाग्न थाल्छ।
बच्चाको अंगले रुप रेखा देखाउन थाल्छन्। बच्चाको आकार बढेसँगै आमाको पनि तौल बढ्ने क्रम सुरु हुन्छ।
आमामा देखिने परिवर्तन
पाठेघर र बच्चाको आकार बढ्छ, जसले पेट थोरै बढ्न थाल्छ। जुन आमाले महसुस गर्न सक्छिन् । हर्मोनल परिवर्तनले छाती पोल्ने, अपच हुनसक्छ। मुटुको धड्कन बढ्ने, तल्लो पेटमा दुखाइ, पिसाब कम लाग्ने र निद्रा भने अत्यधिक बढ्ने जस्ता लक्षण देखिन्छन्।
मानसिक स्थिति
यो समय दोस्रो त्रैमासिकको सुरुवात हो, जसले पहिलो त्रैमासिकको तुलनामा शारीरिक र मानसिक अवस्थामा केही राहत प्रदान हुनसक्छ।
वाकवाकी, रिँगटा कम हुँदा ऊर्जा र सकारात्मकता बढ्छ, जसले मन शान्त र खुसी बनाउँछ।
आमा बन्ने यात्राप्रति उत्साह र नयाँ जिम्मेवारीको कल्पनाले मनमा सकारात्मक भावना आउँछ।
चिन्ता र तनावले यो महिना पनि पिछा छोड्दैन। बच्चाको स्वास्थ्य, गर्भावस्थाको बाँकीको लामो समय, प्रसव प्रक्रिया वा आर्थिक तयारीबारे चिन्ता हुन सक्छ । यो विशेष गरी पहिलो गर्भावस्थामा बढी हुन्छ।
परिवार, काम र गर्भावस्थाको सन्तुलन मिलाउनुपर्ने दबाबले हल्का तनाव उत्पन्न हुनसक्छ । हर्मोनल परिवर्तन एस्ट्रोजेन र प्रोजेस्टेरोनको स्तरमा वृद्धिका कारण मूडमा उतारचढाव हुन सक्छ ।
कहिले खुसी त कहिले चिडचिडापन वा उदासी महसुस हुन सक्छ । यो समयमा साना कुराले पनि भावुक बनाउन सक्छ, जस्तै बच्चासँग सम्बन्धित कुरा वा परिवारको सानोतिनो कुराले पनि मन छुने हुनसक्छ ।
बच्चा पहिलोपटक अल्ट्रासाउन्डमा देखिनुले मानसिक शान्ति र सन्तुष्टि प्रदान गर्छ । बच्चाको लिंग, स्वास्थ्य र भविष्यबारे जिज्ञासा बढ्छ । यो समयमा धेरै महिलाले बच्चासँग कुरा गर्ने, सङ्गीत सुनाउने वा गर्भावस्थाबारे जानकारी लिने काम गर्छिन् ।
आफ्नो जीवनमा आउने परिवर्तनप्रति उत्सुकता र तयारीको भावना गर्भवतीमा हुन्छ ।
सम्भावित जटिलता
यो महिनामा सामान्यदेखि गम्भीर जटिलताहरू देखिन सक्छन् । जसको समयमै पहिचान र उपचार गर्नु आवश्यक हुन्छ ।
रक्तस्राव : पाठेघरको वृद्धिका कारण हल्का रक्तस्राव हुनसक्छ । रक्तस्राव बढ्दै गएमा गर्भपातको जोखिमको संकेत पनि हुनसक्छ।
पेट दुखाइ : पाठेघरको वृद्धि र लिगामेन्टहरूको तन्कावटले हल्का पेट दुखाइ सामान्य हो। तर, लगातार वा तीव्र दुखाइ गर्भपात वा मूत्रनली संक्रमणको संकेत हुन सक्छ।
मूत्रनली संक्रमण : गर्भावस्थामा पाठेघरको दबाबले मूत्राशयमा असर पार्न सक्छ, जसले मूत्र नली संक्रमणको जोखिम बढाउँछ।
रक्तअल्पता : रगतको कमीले यो समयमा थकान, कमजोरी र मुटुको धड्कन बढ्ने जस्ता समस्या देखिन सक्छन् । यो विशेष गरी आइरनको कमीले हुन्छ।
ग्यास्ट्रिक वा अपच : हर्मोनल परिवर्तन र पाठेघरको दबाबले पाचन प्रणालीमा असर पर्छ, जसले छाती पोल्ने वा अपच र आन्द्राको गतिविधि सुस्त भई कब्जियत हुनसक्छ।
गर्भपातको : चौथो महिनामा गर्भपातको जोखिम पहिलो त्रैमासिकको तुलनामा कम हुन्छ, तर नहोला भन्न सकिँदैन ।
उच्चरक्तचाप : पहिले नै रक्तचाप छ भने यो समय हर्मोनका कारण स्तर बढ्न सक्छ ।
बच्चाको विकासको गति
आकार र तौल : यो महिनाको अन्त्यसम्म बच्चा ४ देखि ५ इन्च लामो र ११० देखि १४० ग्रामको हुन्छ ।
अंगहरूको विकास : मांसपेशी, प्रजनन अंग, मस्तिष्क, हाड, आँखा र कान विकसित हुन्छन् । बच्चाले बाहिरी आवाज सुन्न सक्छ । यो समय सङ्गीत वा सकारात्मक कुरा सुनाउन उपयुक्त छ ।
हलचल : बच्चाको हातखुट्टाले मुट्ठी कस्ने र समात्ने जस्ता चालहरू सुरु हुन्छन ।
यात्रा गर्न मिल्छ ?
यदि गर्भावस्था सामान्य र कुनै जटिलता छैन भने चौथो महिनामा छोटो दूरीको यात्रा गर्न सकिन्छ । रक्तअल्पता, मधुमेह वा प्लासेन्टासँग सम्बन्धित समस्या छ भने यात्रा गर्नुअघि चिकित्सकसँग परामर्श लिनु अनिवार्य छ । बस वा कारमा छोटो दूरीको यात्रा सामान्यतया सुरक्षित हुन्छ । तर, सडकको अवस्था राम्रो हुनुपर्छ र लामो समयसम्म एकै ठाउँमा बस्नु हुँदैन ।
हवाई यात्राका लागि दोस्रो त्रैमासिकमा सुरक्षित मानिन्छ, तर वायुसेवाहरूले २८ हप्तापछिको गर्भावस्थामा चिकित्सकको अनुमति पत्र माग्न सक्छन् । लामो दूरीको बस वा मोटरबाइक यात्रा भने सिफारिस गरिंदैन, किनभने यो असहज र जोखिमपूर्ण हुन सक्छ ।
मोटरबाइक वा हल्लिने/खराब सडकमा यात्रा गर्नुहुँदैन, किनभने यसले पेटमा दबाब पर्न सक्छ र जटिलता आउन सक्छ । यदि गर्भवती महिलालाई रक्तस्राव, तीव्र पेट दुखाइ, उच्च रक्तचाप वा गर्भपातको हिस्ट्री छ भने यात्रा गर्नु जोखिमपूर्ण हुन सक्छ ।
लामो समयसम्म एकै ठाउँमा बस्दा रक्तसञ्चारमा समस्या (जस्तै डीप भेन थ्रोम्बोसिस) हुन सक्छ । त्यसैले, प्रत्येक १–२ घण्टामा हल्का हिँड्ने वा खुट्टा तन्काउने गर्नुपछ ।
के कस्ता परीक्षण गराउने ?
चौथो महिनामा नियमित स्वास्थ्य जाँच र परीक्षणहरू गर्नु आवश्यक हुन्छ । यो समयमा स्वास्थ्य जटिलता बढी देखिने हुँदा फलोअप छुटाउनुहुँदैन ।
एन्टी एनबी स्क्यान : यो पहिलो ३ महिनामा पहिलोपटक गरिने भिडियो एक्स रे हो । बच्चाको नाकको हड्डी (नेजल बोन) बनेको छ/छैन र घाँटीको पछाडि पानी जमेको छ/छैन हेर्ने गरिन्छ । यो जाँचले क्रोमोजोमल असामान्यता (जस्तै डाउन सिन्ड्रोम) वा मानसिक/शारीरिक अस्वस्थताको जोखिम पत्ता लगाउँछ ।
डुअल टेस्ट र क्वाड्रुपल टेस्ट : डाउन सिन्ड्रोम वा अन्य क्रोमोजोमल असामान्यता भएका बच्चा जन्मने जोखिम पत्ता लगाउन गरिन्छ ।
रुटिन रगत र पिसाब जाँच : हेमोग्लोबिन (एनीमियाको जाँच), थाइरोइडको अवस्था र अन्य असामान्यता पत्ता लगाउन गरिन्छ।
पिसाब जाँच : मुत्र संक्रमणको जोखिम पत्ता लगाउन ।
के खाने ?
खानामा पोषणयुक्त खानेकुरा बढी राखेर तीनपटक खानुपर्छ । र, तीनपटक खाजा खानुपर्छ ।
— रेसादार र मौसमी फलफूल, ड्राईफ्रुट्स, हरियो सागसब्जी, दाल गेडागुडी, डेरी उत्पादन, अण्डा, माछा र मासु मात्रा मिलाएर खाने ।
— पानी लगभग दिनमा दुई देखि तीन लिटरसम्म पिउनुपर्छ ।
— चिकित्सकको सल्लाहमा फोलिक एसिड, आइरन र क्याल्सियम खानुहोस् ।
—झोलिलो पदार्थ पिउनुपर्छ ।
के नखाने ?
— अत्यधिक चिया, कफीको सेवन नगर्ने ।
— धुम्रपान र मदिरापानबाट टाढै रहने ।
— नुन बढी भएको फास्ट फुड, प्याकेटको खानेकुरा नखाने ।
— काँचो मासु, नपाकेको अण्डा सेवन नगर्ने ।
चिकित्सकलाई तत्काल भेट्नुपर्ने अवस्था
निम्न लक्षणहरू देखिएमा तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुपर्छ ।
— छाती दुख्नु, ज्वरो आउनु र पिसाब छिटो छिटो आउनु ।
— लुगा भिँज्ने गरी अत्यधिक रक्तस्राव, सेतो पानी धेरै बग्नु,
— टाउको दुख्नु, आँखा धमिलो हुनु र वाकवाक लाग्नु ।
परिवारको साथ र सहयोग
हर्मोनल उत्तारचढावका कारण गर्भवती महिला अत्यधिक रिसाउने र झर्किने हुनसक्छ । कतिपय अवस्थामा त सही र गलत हो भनेर छुटाउन पनि नसक्ने हुनसक्छिन् । यस्तोमा उनलाई गाली होइन उसको भावना बुझेर सम्झाउने र सहज वातावरण सिर्जना सबै मिलेर गरिदिनुपर्छ ।
त्यस्तै, घरको हल्का कामकाज लगाउने र त्यसमा सहयोग गर्ने, थकाइ लाग्दा आराम गर्न दिने, तनावको कुरा नसुनाउने र चिकित्सकलाई भेट्न जाँदा एक्लै नपठाइकन जसको फुर्सद छ त्यही व्यक्ति जानुपर्छ । परिवारको सदस्यमा पनि श्रीमानले हरेक तवरबाट साथ, माया र हेरचाह दिनुपर्छ ।
(चिकित्सकको फलोअप कुनै पनि बेला छुटाउनु हुँदैन । किनकि, एउटा छुटेमा पनि जटिलता आएको थाहा नभई पछि समस्या हुनसक्छ ।)
ध्यान दिनुपर्ने कुरा
— देब्रे कोल्टे फर्केर सुत्नुपर्छ ।
— निद्रा पर्याप्त पुर्याउने कोसिस गर्ने ।
— ढाड सिधा पारेर बस्ने ।
— हल्का फुल्का व्यायाम, जस्तै १५ देखि २० मिनेटको हिँडनुपर्छ ।
— हल्का संगीत सुन्ने, पढ्ने वा बाहिर घुम्ने ।
— पोषिलो खानेकुरामा मात्र जोड दिने ।
— भारी सामान नउठाउने, झट्ट उठ्ने–बस्ने नगर्ने र बिस्तारै उठ्ने ।
— तोकिएको सप्लिमेन्ट र नियमित जाँचलाई निरन्तरता दिने ।
सावधानी
— भारी वस्तुहरू नउठाउने।
— पेटलाई टेकेर नसुत्ने ।
—कुनै पनि औषधि लिनुपुर्व चिकित्सको परामर्श लिने ।
— तनाव नलिने र तनावपूर्ण वातावरणमा नबस्ने ।
— सडक अवरुद्ध भएको स्थानमा नजाने ।
— लामो समयसम्म बसेर वा उभिएर काम नगर्ने ।
प्रतिक्रिया 4