
News Summary
Generated by OK AI. Editorially reviewed.- सुनिता डंगोलले बाजा नेपालको संगीत र आवाजको सारथी भएको बताइन्।
- उनले काठमाडौं महानगरपालिकाले परम्परागत सम्पदालाई संरक्षण गर्न अनुदान दिएको जानकारी दिइन्।
- उनले मूर्त र अमूर्त सम्पदाको संरक्षण र पुस्तान्तरणको आवश्यकतामा जोड दिइन्।
२० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बाजा नेपालको संगीत र लयका सारथी मात्रै नभइ जनताका आवाजहरु पनि रहेको बताएकी छिन् ।
शुक्रबार काठमाडौंमा अमूर्त सम्पदा संरक्षण तथा प्रवर्द्धनका लागि काठमाडौं महानगरपालिकाद्वारा परम्परागत टोल, गुथी, खल:हरूलाई आर्थिक अनुदान सहयोग गर्दै उनले यस्तो बताएकी हुन् ।
‘विशेषगरी काठमाडौं महानगरपालिकाभित्र रहेको नेवार समुदायहरूको बाजाहरुको त्यत्तिकै नै महत्त्वपूर्ण रहेको छ । बाजाहरू संगीत र लय मात्रै होइनन्, हाम्रा आवाजहरू पनि हुन् । बाजाहरू बजुन्जेलसम्म नेवार समुदायको सबैको आवाज रही रहन्छ,’ उपप्रमुख डंगोलले भनिन् ।
हरेक टोल, समुदाय, कुच, गुठीहरुमा फरक फरक खालका मूर्त र अमूर्त सम्पदाहरू रहेको उल्लेख गर्दै उनले मूर्त सम्पदाहरू शरीर जस्तै भएको बताइन् । मूर्त सम्पदाको सास, आत्मालाई अमूर्त सम्पदाले जीवित बनाउने उनको भनाइ थियो ।
‘हरेक टोल, समुदाय, कुच, गुठीहरुमा फरक फरक खालका सम्पदाहरु रहेका छन् । मूर्त र अमूर्त सम्पदाहरु रहेका छन् । मूर्त सम्पदाहरू हाम्रा शरीर जस्तै हुन् । मूर्त सम्पदाको सास, आत्मा जीवित अमूर्त सम्पदाले बनाउँछ,’ उनले भनिन्, ‘अमूर्त सम्पदाको निकै नै महत्त्वपूर्ण पाटो भनेको हाम्रो संगीत हो । सामाजिक, सांस्कृतिक, धार्मिक कार्यमा किन नहोस्, कुनै राजनीतिक अभियानमा नै किन नहोस् ।’
उपप्रमुख डंगोलले पुस्तौंदेखिका सीप र ज्ञानहरू पुस्तान्तरण गर्दै संस्कृतिहरूको संरक्षण गर्न जरुरी रहेको पनि बताइन् ।
प्रतिक्रिया 4