+
+
Shares

गुन भुल्यौ पित्तलको : सारिकाको सांगीतिक उडान

प्रतिक्षा रिजाल प्रतिक्षा रिजाल
२०८२ असार २२ गते १२:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सारिका घिमिरेको नयाँ गीत ‘गुन भुल्यौ’ युट्युबमा झण्डै करोड भ्यूजसहित भाइरल भएको छ।
  • गीतले दर्शकको हृदयस्पर्श गरेको र उनले अघिल्ला सिर्जनालाई पनि खोजी गराइरहेको छ।
  • सारिकाले अब मौलिक, भावनात्मक र समाजसँग जोडिएका गीतहरू लेख्ने र कम्पोज गर्ने योजना बनाइराखेकी छन्।

गुन भुलेऊ पित्तलको
सुन पायौ होला

भुइँ छोड्यौ आकाशको
जुन पायौ होला

समाचार लेख्दासम्म यो मर्मस्पर्शी गीतको भ्यूज संख्या झण्डै करोड नजिक छ । आइतबारसम्म ९५ लाखभन्दा धेरैले यो गीतलाई युट्युबमा हेरेका छन् ।

सामाजिक संजालमा निकै चर्चामा रहेको यो गीतले सारिका घिमिरेलाई एकाएक चर्चामा ल्याइदिएको छ । यस्तो लाग्छ- यो गीत उनको करिअरको दोस्रो घुम्ती हो ।

गायन, मोडलिङ, अभिनय र सिर्जनाको यात्रामा डेढ दशक बिताएकी सारिकाको स्वर, शब्द र संगीतमा बुनिएको यो गीतमा जति मिठास छ, उत्तिकै सान्दर्भिक पनि । टिकटक र रिल्समा यसमाथि हजारौं भिडियो बनेका छन् ।

यद्यपि यो उनको पहिलो सांगीतिक सिर्जना भने होइन । यसअघि पनि उनले प्रशस्त गीतलाई दर्शकमाझ ल्याएकी छन् । अभिनय र मोडलिङमा पनि छवि बनाइन् । तर, अघिल्ला सांगीतिक सिर्जना त्यति हिट भएनन्, जति पछिल्लो गीतले उनलाई खुबै चर्चा दिलायो ।

गीत यति हिट भयो कि धेरैले उनलाई गीतकै कारण चिन्न थालेका छन् । ‘ए, त्यो गीतकी गायिका सारिका पो रहेछिन्’ भनेर प्रतिक्रिया दिने धेरै छन् । नयाँ गीत भाइरल भएसँगै, दर्शकले उनका अघिल्ला सिर्जना पनि खोज्दै हेर्न थालेका छन् ।

७ हजारभन्दा धेरै कमेन्ट प्राप्त छन् युट्युबमा । भ्यूज र कमेन्टको बाढी हेर्दा, गीतले दर्शकको हृदयस्पर्श गरेको बुझ्न कठिन छैन । दर्शकले प्रतिक्रियामा आफ्नो अनुभव र भोगाइलाई गीतसँग जोडेर हेरेका छन् ।

सारिकाले यसअघि गाएको ‘ऐँसेलुको पात’ गीत पनि चर्चित रह्यो । ५ वर्षअघि ल्याएको उक्त गीतलाई युट्युबमा ३० लाखभन्दा धेरैले हेरेका छन् ।

‘मैले सिर्जना गरेका गीतमा कति भ्यूज आयो, कति माया पाए, थोरै दर्शकले हेरे भनेर कहिल्यै निराश भइँन । सिर्जनालाई निरन्तरता दिँदै गएँ, त्यो नै आजको फल हो’ उनले अनलाइनबरसँग भनिन् ।

‘गुन भुल्यौ’ गीतमा उनको सिर्जनात्मक क्षमता झल्किन्छ । यो गीतको अडियो निकै सशक्त देखिन्छ । सस्तो लागतमा भिडियो पनि बनाइन् र आफैले अभिनय पनि गरिन् । न त ठूला कलाकार लिएर मोडलिङ गराइन् । भाइरल गीतले बजार पिटिरहेको बेला, सारिकाको यो गीतले बजार पिट्नु आफैमा अर्थपूर्ण छ ।

‘अघिल्लाजस्तै यो पनि मनले लेखिएको, संगीत गरिएको र गाइएको गीत हो । यसले जुन माया पायो, त्यो अद्भुत छ,’ उनले भनिन । गीतमा आउने ’गुन भुल्यौ पित्तलको, सुन पायौ होला’ भन्ने लाइन धेरैका लागि केवल गीत होइन, आफ्नै जीवनको प्रतिबिम्ब बन्यो’ उनले भनिन् ।

गीतका शब्दसँग दर्शकले आफ्नो विगत सम्झिएको उनी बताउँछिन् । ‘मलाई धेरैले भनेका छन् कि यो गीतले मन छोयो, आँखा रसायो, आफैंलाई भेटेजस्तो लाग्यो । यस्ता प्रतिक्रिया पाउँदा म शब्दमा बयान गर्न नसकिने प्रकारको अनुभव गरि रहेकी छु’ उनले भनिन् ।

यो गीत भाइरल हुनमा सामाजिक सञ्जाल, विशेषगरी टिकटकको भूमिका उल्लेख्य रह्यो । धेरैले टिकटकमा गीतको एक लाइनमा भिडियो बनाएका छन् । त्यसपछि पूरा गीत हेर्न युट्युब पुगे, सेयर गरे, कमेन्ट गरे र अन्ततः सारिकालाई पनि चिने ।

गीतको सफलतासँगै सारिकाको परिचय पनि विस्तार भएको छ । अब उनलाई गायिका होइन, सर्जकका रूपमा सम्मान गर्न थालिएको छ । दर्शकको विश्वासले उनले जिम्मेवारी महसुस गरिरहेकी छन् । अब उनी केवल गीत गाउने मात्र होइन, भावनालाई शब्द र संगीतको माध्यबाट समाजसामु पुर्‍याउने सशक्त आवाज बन्न चाहन्छिन् ।

आगामी योजनाबारे कुरा गर्दा उनी स्पष्ट देखिन्छिन् । अबका गीतलाई झनै मौलिक, भावनात्मक र समाजसँग जोडिएका बनाउने उनको ध्येय छ । नयाँ गीत लेख्ने र कम्पोज गर्ने काममा उनी लागिपरेकी छन् । आफू अब हरेक सिर्जनामा अझ बढी समय, ध्यान र भावना दिएर लागिपर्ने सारिका बताउँछिन् ।

लेखक
प्रतिक्षा रिजाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?