+
+
Shares

रवि लामिछानेका पक्षमा झन्डै २५ लाख हस्ताक्षर

साउन ५ गतेदेखि घरदैलो अभियान

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १ गते १७:२१

१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेका पक्षमा हालसम्म झन्डै २५ लाख हस्ताक्षर संकलन भएको जनाएको छ ।

बिहीबार पार्टी कार्यालय बनस्थलीमा पत्रकार सम्मेलन गरी रास्वपाले पार्टी सभापति लामिछानेविरुद्ध राज्यले प्रतिशोध साँधेको भन्दै चलाएको अभियानमा २४ लाख ५७ हजार ६१८ जनाले हस्ताक्षर गरेको जानकारी दिएको हो ।

७ असारबाट सुरु भएको अभियान अब गाउँतहसम्मै पुर्‍याउने रास्वपा नेता दीपक बोहराले जानकारी दिए । उनका अनुसार प्रदेश, जिल्ला र पालिकास्तरमा चलेको हस्ताक्षर अभियान साउन ५ गतेबाट जनस्तरसम्म पुर्‍याउन घरदैलो अभियान सञ्चालन गर्ने पार्टीको तयारी छ ।

संगठित सहकारी ठगी प्रकरणमा रास्वपा सभापति हाल भैरहवास्थित कारागारमा पुर्पक्षको सजाय काटिरहेका छन् ।

लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले राजनीतिकर्मी, कलाकार र जनताको हस्ताक्षर संकलन गर्दै आएको छ ।

अब नेपाल–भारत सीमा नाकाका मुख्य बिन्दु काकडभिट्टा, रक्सौल, जोगवनी,  बेलहिया, जमुनाह, गड्डाचौकीलगायत विभिन्न विमानस्थल, बसपार्क र बढी सार्वजनिक आवागमन हुने क्षेत्रमा ऐक्यबद्धता डेस्क सञ्चालन गर्ने नेता बोहराले जानकारी दिए ।

साथै उपचुनाव हुन लागेको रुपन्देही–३ का ३६ वटै वडामा बुथमार्फत अभियान सञ्चालन गर्ने रास्वपाले जनाएको छ ।

विदेशमा समेत लामिछानेका पक्षमा हस्ताक्षर अभियान सञ्चालन भइरहेको बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

रास्वपाका अनुसार बागमती प्रदेशमा सबभन्दा बढी ६ लाख ३९ हजार ८६ जनाले लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै अभियानमा हस्ताक्षर गरेका छन् ।

यस्तै गण्डकीमा ४ लाख, ३९ हजार ७२३, लुम्बिनीमा २ लाख ३६ हजार ५९५, कोशीमा १ लाख ६६ हजार ८६१, सुदूरपश्चिममा ९४ हजार ५३५, कर्णालीमा ४३ हजार ७७५, मधेशमा २० हजार ५०५ र केन्द्रीय कार्यालयमा ३३ हजार ३७० जनाले अभियानमा हस्ताक्षर गरेका छन् । यसबाहेक भर्चुअल र अन्य माध्यमबाट ७ लाख ९० हजार २३० जनाले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षरका अभियानका लागि हालसम्म ४६ लाख १२ हजार ६३७ रुपैयाँ सहयोग प्राप्त भएको रास्वपाले जनाएको छ । यस अवधिमा ५९ लाख ६७ खर्च भएको भन्दै पार्टीले घाटा व्यहोरिरहेको नेता बोहराको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?