+
+
Shares

नक्कली डाक्टर श्याम टण्डनविरुद्ध फौजदारी अभियोग

सरकारी वकिल कार्यालय, काठमाडौंले टन्डनलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतमा अनुरोध गर्दै अभियोगपत्र पेस गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २ गते १५:००
एआई निर्मित नक्कली डाक्टर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारी वकिल कार्यालय, काठमाडौंले श्याम टण्डनविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बंगलादेशमा एमबीबीएस अध्ययन गरेको आरोपमा फौजदारी अभियोग दायर गरेको छ।
  • प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कीर्ते प्रमाणपत्र प्रयोग गरी बंगलादेशमा एमबीबीएस अध्ययन गरेको पुष्टि भएपछि अनुसन्धान अघि बढाएको थियो।
  • टण्डनलाई मुलुकी अपराधसंहिता २०७४ को दफा २७६ अन्तर्गत ७ वर्षसम्म कैद र ७० हजार जरिवाना माग गर्दै पक्राउ गर्न पुर्जी जारी गर्न अदालतमा अनुरोध गरिएको छ।

२ साउन, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी विदेशमा एमबीबीएस अध्ययन गरेका श्याम टण्डनविरुद्ध सरकारी वकिलको कार्यालय, काठमाडौंले फौजदारी अभियोग दायर गरेको छ ।

रुपन्देहीको शुद्धोधन गाउँपालिका-३ का ३६ वर्षीय टण्डनले उच्च माध्यमिक तहको प्रमाणपत्र कीर्ते गरी बंगलादेशमा एमबीबीएस अध्ययन गरेका थिए ।

प्रमाणपत्र नक्कली भएको पुष्टि भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान अघि बढाएको थियो ।

बंगलादेशमा एमबीबीएस अध्ययन गर्न टण्डनले नेपाल मेडिकल काउन्सिलबाट एलिजिबिलिटी (अनुमति प्रमाणपत्र) प्राप्त गरेका थिए । सो प्रमाणपत्र लिनका लागि उनले उच्च माध्यमिक शिक्षा बोर्डबाट जारी भएको ट्रान्सक्रिप्ट कीर्ते गरी पेस गरेका थिए ।

बंगालादेशमा एमबीबीएस अध्ययन गर्ने प्रयोजनका लागि २०६६ सालमा कक्षा ११ र १२ पास भएको शैक्षिक प्रमाणपत्रमा कक्षा १२ मा पाएको नम्बर परिवर्तन गरेका थिए । विषयगत अंकहरू हेरफेर गरी प्रमाणपत्र बनाइएको देखिएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, भक्तपुरबाट प्राप्त जानकारीअनुसार टण्डनले कक्षा १२ मा अंग्रेजी विषयमा ५२ अंक पाएकोमा ८५ अंक बनाइएको थियो । यस्तै, भौतिकशास्त्रमा ३१ अंकलाई ६८ बनाइएको, रसायनशास्त्रमा २० अंकलाई ६९ र जीव विज्ञानमा ३८ अंकलाई ४१ अंक बनाइएको देखिएको छ ।

उनले रजिस्ट्रेसन नम्बर ६५४९२००८७ भएको प्रमाणपत्र कीर्ते गरेका थिए ।

बोर्डद्वारा ‘नक्कली’ ठहर

राष्ट्रिय परीक्षा बोर्डले टण्डनको प्रमाणपत्र नक्कली रहेको उल्लेख गर्दै सीआईबीलाई आधिकारिक पत्र पठाएको थियो । प्रमाणपत्रका आधारमा टण्डनले सन् २००९ मा एमबीबीएस अध्ययनका लागि नेपाल मेडिकल काउन्सिलबाट एलिजिबिलिटी सर्टिफिकेट लिएका थिए ।

काउन्सिलमा कीर्ते प्रमाणपत्र पेस गरी सरकारी निकायको अभिलेखमा झुटा विवरण राखिएको पाइएपछि सीआईबीले उनलाई मुलुकी अपराध संहिताअनुसार कीर्ते कागजातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको हो ।

टण्डनले प्राप्त गरेको वास्तविक र थपघट गरेको नम्बरको विवरण ।

गुल्मी र रुपन्देहीस्थित टण्डनको स्थायी र अस्थायी बसोबास गरेको घरमा प्रहरीले खानतलासी गर्दा कीर्ते प्रमाणसँग जोडिने भौतिक प्रमाण भने फेला परेन । यद्यपि, अनुसन्धानमा प्राप्त कागजातहरू पर्याप्त प्रमाणस्वरूप प्रस्तुत गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

हाल फरार रहेका टण्डनविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को दफा २७६ (कीर्ते) र मुलुकी ऐन २०२० अन्तर्गतका विभिन्न दफाबमोजिम मुद्दा दर्ता गरिएको छ । टण्डनलाई सरकारी लिखित कीर्ते गर्नेलाई ७ वर्षसम्म कैद र ७० हजार जरिवानाको माग गरिएको छ ।

सरकारी वकिल कार्यालय, काठमाडौंले उनलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतबाट पुर्जी जारी गर्न अनुरोध गर्दै अभियोगपत्र पेस गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?