News Summary
Generated by OK AI. Editorially reviewed.- एसीसीको वार्षिक साधारणसभा बंगलादेशको ढाकामा सम्पन्न भएको छ।
- भारत र नेपालसहित १३ राष्ट्रका प्रतिनिधि भर्चुअल रूपमा सहभागी भएका थिए।
- एसीसीले जापानमा हुने एसियाली खेलकुद २०२६ मा क्रिकेट समावेश गर्ने निर्णय गरेको छ।
८ साउन, काठमाडौं । एसियाली क्रिकेट परिषद (एसीसी)को वार्षिक साधारणसभा बंगलादेशको ढाकामा सम्पन्न भएको छ । दुई दिन सञ्चालन भएको साधारण सभामा भारत र नेपालसहित १३ राष्ट्रका प्रतिनिधि भर्चुअल रूपमा सहभागी भएका थिए भने अन्य सदस्य राष्ट्रको उपस्थिति थियो ।
बैठकको अध्यक्षता पाकिस्तान क्रिकेट बोर्डका प्रमुख समेत रहेका एसीसीका अध्यक्ष मोहसिन नकवीले गरेका थिए । उनले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)लाई पहिलोपटक ढाकामा एजीएम आयोजना गर्न गरेको उत्कृष्ट समन्वय र आतिथ्यका लागि धन्यवाद दिएका थिए ।
बैठकबाट आगामी एसिया कपबारे ठोस निर्णय हुने अपेक्षा गरिएको थियो । पाकिस्तान क्रिकेट बोर्डका अनुसार एसिया कपबारे निर्णय गर्नका लागि भारतीय क्रिकेट बोर्डसँग छलफल चलिरहेको छ र चाँडै निर्णय सार्वजनिक गरिनेछ ।
एसिया कप आगामी सेप्टेम्बरमा हुने तय छ जहाँ भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, श्रीलंका, यूएई, ओमान र हङकङ सहभागी हुनेछन् ।
एसीसीको यस वार्षिक साधारणसभामा नेपाल क्रिकेट संघ (क्यान)का तर्फबाट अध्यक्ष चतुरबहादुर चन्द भर्चुअल रूपमा सहभागी भए । ‘नेपालसहित १३ राष्ट्र भर्चुअल रुपमा सहभागी भएका थिए’ चन्दले भने ।
भारत सुरुमा सहभागी नहुने भनिएपनि अन्तिममा भर्चुअल रूपमा सहभागी हुन तयार भएको थियो ।
बैठकबाट एसीसीको वार्षिक लेखापरीक्षण प्रतिवेदन, बजेट र २०२५–२०२६ को प्रतियोगिता तालिका पारित गरिएको छ । साथै, जापानमा हुने एसियाली खेलकुद २०२६ मा क्रिकेट समावेश हुने र पुरुषतर्फ १० तथा महिलातर्फ ८ टोलीले सहभागिता जनाउने निर्णय भएको छ। टोलीहरू र्याङ्किङको आधारमा चयन हुनेछन् ।
यसैगरी, एसीसीले तीन नयाँ सदस्य राष्ट्रलाई स्वागत गरेको छ। मंगोलिया, उज्बेकिस्तान र फिलिपिन्स एसीसी परिवारमा सामेल भएका छन्, जसले एसियामा क्रिकेटको पहुँच नयाँ क्षेत्रमा विस्तार गर्ने बताइएको छ ।
बैठकमा सदस्य राष्ट्रहरूले एसीसीको दीर्घकालीन योजनालाई समर्थन गर्दै एसियाली क्रिकेटको विकास र प्रवर्द्धनमा निरन्तर सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया 4