+
+
Shares

सेयर बजारमा हाइड्रोपावर सेक्टरले बनायो नयाँ रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते १७:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बिहीबार सेयर बजारमा हाइड्रोपावर समूह २ प्रतिशतले बढेर ३९४१ अंकमा पुगेको छ, जुन हालसम्मकै उच्च विन्दु हो।
  • हाइड्रोपावर समूहमा ९२ कम्पनी सूचीकृत छन् र यसले नेप्से वृद्धिभन्दा बढी वृद्धि देखाएको छ।
  • ब्याजदर घट्दा वित्तीय लागत कम भई कम्पनीहरुको नाफा सुधार भइरहेको छ र चौथो त्रैमासिक वित्तीय विवरण राम्रो आउने अपेक्षा छ।

८ साउन, काठमाडौं । बिहीबार सेयर बजारमा सबैभन्दा धेरै बढेको सेक्टर हो- हाइड्रोपावर । नेप्से परिसूचक जम्मा ०.१२ प्रतिशत बढ्दा यो समूह २ प्रतिशत बढ्यो ।

विगतमा पनि धेरै पटक नेप्सेको वृद्धिभन्दा यस समूहको वृद्धि उच्च रहँदै आएको छ । हाइड्रोपावर समूह बिहीबार हालसम्मकै उच्च अंकमा पुगेको छ ।

यो समूह ३ हजार ९४१ अंकमा पुगेको छ । करिब ४ वर्षअघि अर्थात् २ भदौ २०७८ को रेकर्ड तोडिएको छ । नेप्सेले सो दिनको रेकर्ड अझै तोड्न सकेको छैन । सो दिन नेप्से परिसूचकले ३१९८ अंकको रेकर्ड बनाएको छ । अहिले २९८२ अंकमा छ । यसअघि बुधबार मात्रै अन्य समूहले पनि रेकर्ड तोडेको थियो ।

हाइड्रोपावर समूहका केही कम्पनी हालसम्मकै उच्च विन्दुमा पुगेका छन् । कालिका पावर, राधि विद्युत्, बुटवल पावर र ङादी ग्रुपको सेयर मूल्य हालसम्मकै उच्च भएको छ । बजारमा रहेका १२ समूहमध्ये हाइड्रोपावरमा सबैभन्दा धेरै ९२ कम्पनी सूचीकृत छन् ।

हाइड्रोपावरमा नयाँ कम्पनी थपिने क्रम बढ्नु र लगानीकर्ता पनि आशावादी भएकाले यो सेक्टरले उचाइ लिएको जानकार बताउँछन् । ‘एकातिर ब्याज घट्दा हाइड्रोपावरको वित्तीय विवरण सुधारिँदै गएको छ, यसले गर्दा चौथो त्रैमासिक वित्तीय विवरण राम्रो आउने अपेक्षाले पनि आकर्षण बढेको हो’ लगानीकर्ता सुवासचन्द्र ढुंगानाले भने ।

बैंकलाई तिर्नुपर्ने ब्याज घट्दा वित्तीय लागत घट्न गई कम्पनीहरुको नाफामा सुधार भइरहेको छ । चौथो त्रैमासमा हाइड्रोपावर कम्पनीको रिपोर्ट तुलनात्मक रुपमा राम्रो आउने गरेको उनले बताए । रकम असुली तथा बिजनेस घटबढको झन्झट हाइड्रोपावरमा छैन ।

उत्पादन भएको विद्युत् सम्झौताअनुसार नै बिक्री हुने र आम्दानी तत्कालै हुने भएकाले यस सेक्टरका कम्पनीको कमाइप्रति लगानीकर्तामा शंका रहँदैन । आम्दानी भइसकेपछि पैसा नउठ्ने झन्झट पनि रहँदैन ।

पछिल्लो समय ठूलो पूँजीका हाइड्रोपावर कम्पनीहरू नै धेरै कारोबार हुनेमा परिरहेका छन् । त्यस्ता कम्पनीको कारोबार रकमसँगै मूल्य समेत बढ्दै गएको छ ।

बजारमा हाइड्रोपावरको अर्को विशेषता भनेको सानोदेखि ठूलो पूँजीका कम्पनी छन् । जम्मा १३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजीदेखि ८ अर्ब ७२ करोड रुपैयाँसम्मका कम्पनी यसमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?