
News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्व जर्नेल कार्कीले ३५ वर्षे सैनिक जीवनपछि बर्दिया राष्ट्रिय निकुञ्जमा संरक्षण कार्य गर्दै वन्यजन्तु र प्रकृति संरक्षणमा योगदान पुर्याए।
- उनले निकुञ्जमा चोरी-सिकारी नियन्त्रण गरी वन्यजन्तु संरक्षणमा सफलता हासिल गरी विश्व संरक्षण समुदायबाट प्रशंसा पाए।
- कोभिड संकटमा दुई पुस्तक लेखेर प्रकृति संरक्षणमा जनचेतना फैलाउने काम गर्दै बालबालिका र युवालाई संरक्षणमा सक्रिय हुन आह्वान गरे।
अग्लो टावर र उडिरहेको जहाजबाट हाम्फाल्ने अवसर पाएपछि नीलो आकाश र स्वच्छ हावासँग प्रेम गाढा भयो। आहा कति सुन्दर शान्त र अनन्त आकाश। हेलिकोप्टरबाट हाम्फालेर, नदीले बगाएका विपद् पीडितलाई उद्धार गरेर बचाउँदा ताली र तात्तातै तक्मा पाइयो। डलर पाउने शान्तिसेना पाइयो। आकाश मेरो ईश्वर भयो, किनभने आकाशले मलाई अवसरको माला लगाइदियो। डलरको खेतीभन्दा ठूलो मलाई गजेन्द्रमोक्ष तक्मा भयो। आफ्नो ज्यान दिएर पीडितको ज्यान बचाउने साहसीलाई दिने त्यो दुर्लभ तक्माले मलाई सैनिक पोशाकमा ३५ वर्ष हिरो बनायो। आजीवन गौरवान्वित हुनेछु म त्यो रत्नसँग ।
शहरको यो अवसर छाडेर ३५ वर्षको उमेरमा मेरो सरुवा बाटो, बत्ती, मोटर, फोन नभएको दूरदराजको बर्दिया राष्ट्रिय निकुञ्जमा भयो। विना ज्ञान र तालिम म आकाशबाट अनकन्टार जङ्गलभित्र पछारिएँ। माल्दिभ्सभन्दा तीन गुणा ठूलो र सिंगापुरभन्दा ठूलो ९६८ वर्ग कि.मि. मा फैलिएको त्यो निकुञ्ज मलाई स्वर्ग जस्तो सुन्दर लाग्यो। स्वर्ग नदेखेको भए पनि मलाई लाग्थ्यो हाम्रो निकुञ्जभन्दा राम्रो अर्को स्वर्ग हुनै सक्दैन। हाम्रो निकुञ्ज विश्वका २४ साना देशहरू भन्दा ठूलो छ भन्ने शानले रामराज्य पाएको गौरव महसुस भयो। मैले १ घण्टा समय नफाली निकुञ्जका कुना-कुना पैदल चहारें। हिंड्दै, पढ्दै, लेख्दै अघि बढ्दै गरें। एउटा संरक्षण पुस्तक तयार भयो। गाँस, बास, कपास ठूलो झोलामा बोकेर सातु र चिउराको भरमा हामीले रामराज्यलाई हेर्यौं। चुनौतीको पहाड देख्यौं ।
पूर्व-पश्चिम राजमार्गभित्र जङ्गलमा लहरै काठ काट्ने धरानहरू। टाढाको अनकण्टार बबई उपत्यकामा माटोले लिपेका सिकारीका अस्थायी छाप्राहरू। सुकुटी पोल्ने सुकाउने अँगेनो माथिका टाँडहरू। रूखको टोड्कामा बारुद भरेर तयारी हालतमा लुकाएका भरुवा बन्दुकहरू। भुईंमा गैंडा सिकारलाई विष भरेर राखेका फर्सी र कुभिन्डोहरू। चित्तललाई थापेका पासो र धरापहरू। नदीभरि माछा मार्ने महाजालहरू।
आँखाको तिरिमिरी। म पीडाले छट्पटिएँ। भोक प्यास निद्रा हरायो। मुटु छिया-छिया भयो। एउटा मनले भन्यो स्वर्ग होइन नर्क रहेछ निकुञ्ज। जुन दुर्लभ सम्पदाको रक्षा हुनुपर्ने उल्टो हत्या, सुकुटी र व्यापार ।
पैदल गस्तीमा तालिम, अध्ययन र लेखनले म सिपाहीलाई फरेष्ट रेञ्जरमा रूपान्तरण गर्यो। मैले जिज्ञासु र उत्साहित भएर रेञ्जरको काम सिकें। चुनौती एक अवसर अनेक। हामीले चुनौतीलाई अवसरमा बदल्ने अठोट र संकल्प गर्यौं। वन्यजन्तुको रक्षा कल्याण सम्मानमा समर्पित भयौं र सम्पूर्ण पासो, धराप, बन्दुक, बारुद हटाएर निकुञ्जलाई पवित्र सफा सुन्दर मन्दिर बनायौं ।
पवित्र उद्देश्यमा सबै एकाकार भए। साथ सहयोग गरे। निकुञ्जभित्र तपाईं र निकुञ्ज बाहिर बफरजोनमा हामी भनेर एक पत्र सुरक्षाकवच नेपाल प्रहरीले खापिदिएपछि फोर्स मल्टिप्लाई भयो। वन कार्यालय, जिल्ला प्रशासन कार्यालय, पर्यटनकर्मी र होटल व्यवसायी, शिक्षक-विद्यार्थी, किसान, स्थानीय समुदाय र युवा दस्ता साझा संरक्षण छातामुनि गोलबद्ध भए। चोरी-सिकारी र अवैध वन्यजन्तु अङ्ग व्यापारीप्रति अनुदार रह्यो न्यायालय। निकुञ्ज प्रशासन हामी संरक्षणकर्मी र संरक्षण साझेदार संघ-संस्था एकढिक्का भई उत्कृष्ट परिणाम दिन मरिमेटी लाग्यौं। परिणाम शून्य सिकार, शून्य अवैध घुसपैठ, शून्य वन्यजन्तु अपराध भयो। निकुञ्ज स्वर्गमा परिणत भयो। हाम्रो सपना साकार भयो।
आज म ऋणी छु ती संरक्षण साझेदार सहकर्मीहरूसँग। शक्तिशाली धार भएको कर्णाली गुट्मुटिएर वारपार समुद्र भएर आउँथ्यो वर्षायाममा। हामी दिन–रात कर्णालीमा र्याप्टिङ गरेर माछा, गोही, डल्फिन, ओत लगायतलाई सुरक्षा दिन्थ्यौं। ओत र डल्फिन हामीसँग खुशी भएर नजिक नजिक खेल्न आउँथे। आफ्नो आहार माछा र शान्ति पाएर ती खुशी अनि सुखी देखिन्थे। हामीलाई माया देखाउँथे र आशीर्वाद दिन्थे। ठूलो बाढीमा उच्च जोखिम लिएर हररात नदी गस्ती गर्दा समेत प्रकृतिको कृपाले कहिल्यै कुनै दुर्घटना भएन। मानवीय भौतिक क्षति भएन। किनभने हामीले ‘सेफ्टी फस्ट’ सिद्धान्त अङ्गीकार गरेका थियौं। निर्भयसाथ हामीले बाघ, गैंडा र हात्तीलाई नामले चिन्दथ्यौं। कुन जीव कुन पोष्टको जिम्मा भन्ने जिम्मेवारी बाँडफाँड गरेका थियौं।
एउटा बाघले ३ हप्तामा ३ जना मान्छे मार्यो। मैले बाघ मार्ने अप्रिय आदेश पाएँ। गुडिरहेको मोटरसाइकल विस्तारै खोल्सी तर्दै गर्दा काँसघारीमा लुकेर बसेको बाघले आक्रमण गरी राइडरलाई मार्दा हामी सबै स्तब्ध भयौं। बाघको हिम्मत बढेको र हिंसाको पराकाष्ठा भएको भन्ने निष्कर्ष निकाल्यौं। म बन्दुक लोड गरेर बाघ मार्न गएँ।
शरीर बाक्लो झाडीमा लुकाएर बाघ गर्जियो। त्यो ‘अघि नबढ’ भन्ने जनाउ थियो मलाई। एन्टिना जस्तो ठाडो पारेर घाँस माथि बाघले पुच्छर ठड्याएको थियो। पुच्छरले स्पष्टै भनिरहेको थियो ‘माफ पाउँ, म भविष्यमा गल्ती दोहोर्याउन्नँ!’
मेरो हृदय पुच्छरसँग मौन संवाद गरिरहेको थियो। १०० वर्षमा पृथ्वीमा बाघको संख्या घटेर करिब ५ हजारमा सीमित छ। ९५ प्रतिशतको कहालीलाग्दो क्षति। म तिमीलाई कसरी किन केको लागि मारुँ। तर समुदाय आन्दोलित छ। आगो छ। मान्छेको खाँडो जागेको मानवप्रधान मानवकेन्द्रित कलियुगमा।
तिम्रो महत्व र महिमा म कसलाई सुनाउँ ? र बुझाउँ ? प्राकृतिक न्यायको कुरा गर्ने हो भने तिमीले गाउँ पसेर मान्छे मारेको होइन। तीन वटै दुर्घटना तिम्रो अधीनस्थ जङ्गलमा घटेको छ। गल्ती सरासर असावधानी र अटेर मान्छेको छ।
लाजले बाघले शरीर देखाएन। तर पुच्छर ठाडो पारेर अटुट हल्लाइरह्यो। पुच्छरमा आँखा र गोली लोड गरे झैं मलाई एन्टिनाको देखभाल दूरीमा राखिरह्यो। पुच्छर र मेरो हृदयको मनोसंवाद हुँदाहुँदै घाम महाकाली तरेर जिमकर्बेट नेशनलपार्क हुँदै नैनीतालमा डुबे। अँधेरो पृथ्वीमा हामफाल्यो। आवेगमा हावामा गोली हानेर बढाइँ गर्ने कुरा आएन। बाघले जीवनदान पायो।
हामीले बाघ मार्ने होइन, नियन्त्रण गरेर स्वास्थ्य स्थिति बुझ्न भएभरका हात्ती परिचालन गरेर सेतो भित्त (कपडा) लगायौं। ‘म्यान इटर’ बाघलाई नियन्त्रणमा लियौं। उनी औराही पोथी रहिछन्। प्रजनन क्षमता भएकी बयस्क मस्त स्वस्थ बघिनी। नियमित हर्कत अनुगमन गर्न घाँटीमा रेडियो कलर लगाएर हामीले उनलाई निकुञ्जभित्र स्वतन्त्र छाड्यौं। उनले दश दिनमा बँदेल मारेर स्वस्थता र शक्तिको प्रमाणपत्र पेश गरिन्। दुईवटा डमरु जन्माएर झन् ठूलो गुन लगाइन्। ‘ल हेर मेरो जीवनदानको ब्याज’ उनले मलाई धीत मर्ने गरी डमरु देखाइन्। सुरक्षा दूरी र अनुशासन कायम राखेर हामीले पछिसम्म मनोसंवाद गरिरह्यौं। उनले मलाई आँखा तरेर तर्साइनन्। बरु सधैं शिर झुकाएर हेरिन्। जीवनदान दिने बाघ गोठालो भनेर।
म मायाजालमा परें। मन्त्रमुग्ध भएर हेर्दथें। एउटा डमरु देखिन भने मुटुमा सोला हानेर छट्पटाउँथें। औराही मलाई पीडादायी पर्खाइपछि मात्र दोस्रो डमरु देखाउँथी।
कत्ति लज्जालु, अनुशासित, स्वाभिमानी, साहसी र दिव्य व्यक्तित्व औराहीको। साहसीको अर्थ आफ्नो अधीनस्थ क्षेत्रको रक्षामा समर्पित। हामीलाई ‘भूअखण्डता रक्षा गर नत्र मर’ भन्ने राष्ट्रियता जगाउने पाठ।
प्रजननको समय, डमरु साथमा भएको बेला र सिकारको समयमा हामीले दूरी कायम गरिदिनुपर्छ। टाढा हुनै पर्छ। घाइते र वृद्ध अवस्थाको बाघबाट छलिनुपर्छ। बाघले मान्छे खाँदैन भन्ने पाठ हामीले सिक्यौं।
औराहीको आशीर्वादले मैले युवा उमेरमा गोरखा दक्षिणबाहु तक्मा पाएँ। टिमवर्कको कुरा दर्शाएर पूरा टिमलाई राजाको बाहुलीबाट त्यो तक्मा दिलाएँ। चीफ वार्डेन शिवराज भट्टको नेतृत्वमा गैंडा विज्ञ डा. शान्तराज ज्ञवाली लगायत सकलदर्जाले सामूहिक रूपमा त्यो तक्मा ग्रहण गर्यौं।
संरक्षणको इतिहासमा पहिलो पटक हाम्रो प्रोटेक्सन युनिट शिवदल वन्यजन्तु कोषको अब्राहम कन्जर्भेसन अवार्डबाट सम्मानित भयो। म औराहीप्रति कृतज्ञ भएँ। मलाई मेरो स्वर्गकी औराहीले दिएका ज्ञान, विद्या र पुरस्कारको फेहरिस्त लामो छ। बीस वर्ष बढी संरक्षण सेवाको अवसर औराहीको आशीर्वाद हो। कोभिड संकटमा एकैपटक दुई वटा पुस्तक लेखन र प्रकाशन गर्ने प्रेरणा र ऊर्जा औराही र ध्रुवे हात्तीबाट मिलेको हो। सपनामा उनीहरूले लखेटे र भने “कोभिड होस् नहोस्, एकदिन मृत्यु अवश्यम्भावी छ। हामीसँगको मनोसंवाद र तेरो साधना ज्ञान ध्यान अनुभव धुवाँमा उडेर आकाशगंगामा नहराओस्। प्रकृति, धर्ती, सन्ततिलाई अनुभव उपहार दिएर जान नबिर्सेस्।” मैले तूफान शैलीमा लेखन र प्रकाशन सकाएँ। औराही र ध्रुवेको आदेश अक्षरश: शिरोपर गरें।
द्वन्द्वकालले निकुञ्ज खाली भए। वन र वन्यजन्तुको अकल्पनीय क्षति भयो। शुक्लाफाँटा, बर्दिया र पर्सामा बाघ घटेर ८, १८ र ४ को संख्यामा झरेपछि बाघविज्ञले बाघलोप हुने भविष्यवाणी गरे। युद्धविराम भई शान्ति सम्झौता लागू भएपछि पनि दिनहुँ गैंडाको चोरी सिकार जारी रह्यो। निकुञ्जमा पल्केको कालले विश्व सम्पदा चितवन राष्ट्रिय निकुञ्जबाट जिउँदो गैंडाको खाग काटेर लगे। चितवनदेखि ट्रक चढेर टाढा बबई भ्याली पुगेका गैंडाहरू बीउ समेत नराखी समूल नष्ट भए। म धुरुधुरु रोएँ। जिउँदै मरें र पुकारें ‘पृथ्वीमा युद्ध नहोस्। युद्धले जीवजन्तु, जल, जङ्गल, जमिन जनलाई ध्वस्त बनाउँछ। मान्छेसँगै माटो मार्छ।’
खाली निकुञ्ज भरेर देखाउने ठूलो र चुनौतीपूर्ण जिम्मेवारी नेपाली सेनाले मलाई दियो। मैले चुनौती सगर्व स्वीकारें। ‘गर कि मर (डु अर डाई)’ मिसनमा हामी होमियौं। पहिलो काम समुदायप्रति हार्दिकता, नम्रता, उद्देश्यमा एकाग्रता, जिम्मेवारीमा लगनशीलता, पारदर्शिता र जवाफदेहिता प्रदर्शन गरेर तितरवितर टिमलाई जोड्यौं र पवित्र उद्देश्य एवम् महान् अभियानप्रति गोलबद्ध भयौं। निकुञ्जमा सूचनाप्रविधि र डग युनिट थप्यौं। अति योग्य र गतिशील फिल्ड कमाण्डर खटायौं। अतिरिक्त वा दोस्रो जिम्मेवारीलाई पहिलो र उच्च प्राथमिकताको जिम्मेवारीमा उकाल्यौं। स्थानीय समुदायले इमानदार भई ईख लिएर उद्देश्य प्राप्तिमा ऊर्जा खन्यायो। इन्टेलिजेन्सको पुल हालिदियो। चोरी सिकार नियन्त्रणमा युवा दस्तालाई ग्रेटवाल बनाएर
उभ्याइदियो। दिन दुगुना, रात चौगुना तीव्र गतिमा वन्यजन्तु बढे। अपूरणीय क्षति पुनर्भरण भएर निकुञ्ज भरिए। नचिताएको परिणाम हात लाग्दा लगातार धेरै वर्ष शून्य सिकार उपलब्धि हात लाग्यो। विश्व संरक्षण समुदायले चमत्कार मान्यो।
पछि हाम्रो खुशी खोस्न विश्व सम्पदा चितवन राष्ट्रिय निकुञ्जमा ध्रुवे हात्ती उदायो। मानवीय क्षति बढ्दै गएपछि हात्ती मार्ने आदेश आयो। मैले ध्रुवेलाई पुकारें। ‘औराही बघिनी जस्तै तिमी पनि सुध्रिदेऊ। आफू लामो आयु बाँच र मान्छेलाई पनि बाँच्न देऊ!’
नभन्दै मेरो प्रार्थना पूरा भयो। ध्रुवे अनुशासित, ज्ञानी र शान्त भयो। त्यसपछि असमान सम्झौताको बाँधले बाँधेको सप्तकोशीले पूर्वी बण्ड भत्काएर सुनसरी डुबाउँदै सीमा पारिको भारतलाई ठूलो धक्का दियो। धन्य कोशीटप्पुको प्रोटेक्शन युनिटले बन्दुक गोलीगट्ठा वास्ता नगरी नागरिकहरूको जीवित उद्धारमा ज्यानको बाजी लगाएर उत्रिए र जनधनको रक्षा गरिदिए। खेतमा पछारिएका डल्फिन उद्धारलाई हामीले राजधानीबाट हेलिकोप्टर उडायौं। मान्छे जस्तै तीक्ष्ण विवेक भएको दुर्लभ डल्फिनलाई उच्च प्राथमिकता साथ उद्धार गरी सप्तकोशीमा छाड्ने हाम्रो साझा उद्देश्यलाई सेनाले पूरा गरिदियो। हेलिकोप्टर होइन पानी ट्याङ्कीभित्र पौडिंदै पिकअप जीप चढेर डल्फिन सप्तकोशी घर फर्किए।
राष्ट्रिय निकुञ्जको पुनर्भरणमा लागिरहँदा २०७२ सालको महाभूकम्पले अन्नपूर्ण, मनास्लु, गौरीशंकर संरक्षण क्षेत्र र लाङ्टाङ, शिवपुरी-नागार्जुन, सगरमाथा राष्ट्रिय निकुञ्जलाई टक्टकाउँदै उफारेर ध्वस्त बनायो। हाम्रो उद्धार मानवकेन्द्रित हुँदा भीरबाट लडेर खोलामा पछारिएका झारल, घोरल, नाउर, कस्तूरीलाई हेलिकोप्टरको झ्यालबाट हेर्दै मैले माफ माग्नु पर्यो। चाहेर पनि उद्धार गर्ने समय र स्वीकृति थिएन।
महाभूकम्पको अर्को वर्ष ठूलो बाढी आयो। तराई डुबायो। वन्यजन्तु बगेर गए। हाम्रो वन्यजन्तु कूटनीतिले एक दर्जन गैंडा ट्रक चढेर भारतबाट चितवन मूलघर फर्के।
यी भए मेरो उतारचढाव संरक्षण यात्राका अविस्मरणीय स्मृतिहरू। आजीवन मलाई खुसी राख्ने उद्धार उपलब्धिहरू।
आज सात वर्ष पूरा भयो म अवकाश भएको। प्रकृतिलाई मठ–मन्दिरमा सजाएर प्रार्थना गर्न छाडेको छैन। बन्दुकको सट्टा कलम समातेर लेख–रचना, गीत–कविताबाट प्रकृतिको पूजा आराधना, प्रकृति रक्षा कल्याण सम्मानको कामलाई अविश्राम इमानदारसाथ अघि बढाइरहेको छु। न्यायालय पुगेर प्रकृतिलाई न्याय देऊ भनी भिख मागिरहेको छु। नीति निर्माताकोमा पुगेर प्रकृतिको महिमा र महत्व सुनाइरहेको छु। मेरो संरक्षण छाता संगठन निकुञ्ज विभाग र नेपाली सेनालाई ऊर्जा भरिरहेको छु। संरक्षण साझेदार संघ–संस्था र समुदायलाई हौस्याइरहेको छु। राजनीतिक दलहरूलाई प्रकृतिमैत्री घोषणापत्र तयार गरी लागू गर्न अनुनयविनय गरिरहेको छु।
स्कूल कलेजमा पुगेर भविष्यका ताराहरूलाई सचेत, सवाधान र सतर्क गराइरहेको छु— “उमेर काटेको नेतृत्वहरूले बाँकी उमेरको अल्पयोजनामा ध्यान सीमित गरे। भविष्य मेरो हो र ? भन्ने संकीर्ण दरिद्र र स्वार्थीभाव पाले। भावी सन्ततिको प्रकृति र धर्ती ध्वस्त पारे। तसर्थ, बालबालिका अब उठ्नु, जाग्नुपर्दछ र आफ्नो अंश दावी गर्नुपर्दछ। खबरदारी गरेर प्रकृति र धर्ती दोहन र विनाश अविलम्ब रोक्नुपर्दछ।”
प्रकृति र धर्तीको रक्षा कल्याण सम्मानमा जुट्न निकुञ्ज, वनका कर्मचारी र संरक्षणकर्मी हुन जरूरी छैन। यो हरेक सचेत नागरिकको नैतिक कर्तव्य हो। सबैभन्दा ठूलो धर्म हो। लामो आयु हुने बालबालिकाको भोग र अंश स्वभावत: धेरै छ। अबोध प्रकृति जस्तै चुपचाप सहने बालबालिका र युवा समूहले प्राकृतिक हकअधिकार खोज्न विलम्ब भइसकेको छ। प्रकृति सजीव र गतिशील भएको मान्ने विज्ञहरूले जलवायु विश्व न्यायालय मागे जस्तै विद्यार्थीले बाल अदालत माग्नुपर्ने समय आइसकेको छ।
सूचनाप्रविधि र प्राविधिक क्षेत्र, न्याय क्षेत्र, निजामती, राजनीतिक, अर्थनीति, कूटनीति, सुरक्षा निकाय, शिक्षा, स्वास्थ्य क्षेत्र, निजी क्षेत्र जहाँसुकै सेवारत रहेर प्रकृति संरक्षणमा योगदान पुर्याउन सकिन्छ। वातावारण संरक्षण लिखित, मौखिक आदेश निर्देशन र बजेटले गर्ने होइन, हृदयले स्वस्फूर्त गर्ने धार्मिक काम हो।
मैले प्रकृति ढिलो बुझें। प्रकृति संरक्षण उद्धारमा ढिलो हाजिर भएँ। जब बुझें, म डुबेर लागें। मैले मेरो मुटु र स्नायुभित्र प्रकृतिलाई सजाएँ। एकभक्ति भई पूजा गरिरहें। आजीवन गरिरहनेछु।
तर मेरो शुरुका पैंतीस वर्ष खेर गए। प्रकृति पूजामा मैले मेरो बाल्यकाल, विद्यालयकाल, युवाकाल लगाउन पाइनँ। मेरो प्रकृति पूजा आराधना अपूरो अधुरो रह्यो। यो कर्म धर्म पूरा होस् भनेर मैले मेरो पैंतीस वर्षे सैनिक जीवनमा दोब्बर काम गरें। बिदा, छुट्टी, घर, रात, आराम विश्राम नभनी काम गरें। किनभने माछा, मौरी, कमिला, झरना, नदी, प्राणवायु, जून घामले आराम गर्दैनन् भन्ने शाश्वत सत्यले म प्रभावित भएँ। जीवनमा अवकाश नलिने र एकपटक पाउने जुनीलाई प्रकृतिप्रति समर्पण गर्ने मेरो संकल्पले आज मलाई असीम सन्तुष्टि र सुखानुभूति दिएको छ।
तर पश्चात्ताप एउटै छ मेरा ऊर्जावान् पैंतीस वर्ष खेर गए। पुनर्जन्म भयो भने म एक वर्षको बाल्यकालदेखि प्रकृतिको पूजा, रक्षा, सेवामा समर्पित हुनेछु। धर्ती प्रकृतिमय बनाउनेछु। सफा सुन्दर राख्नेछु।
(पूर्व जर्नेल कार्की दह्रो–खरो संरक्षण अभियन्ता र जलवायु योद्धा हुन्।)
प्रतिक्रिया 4