+
+
Shares

रुपन्देही-३ : रास्वपाबाट उम्मेदवार बन्न आवेदन दिएका को–कस्ता ?

रास्वपाले प्राप्त नामहरुबाट उम्मेदवारको नाम छनोट गर्नेछ । भदौ १५ मा उम्मेदवारको सूची सार्वजनिक गर्ने रास्वपाले कार्यतालिका बनाएको छ ।

टोपराज शर्मा टोपराज शर्मा
२०८२ साउन २२ गते २१:५८
क्रमशः सुलभ खरेल, पार्थवेन्द्र उपााध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता (जेबी), कसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही–३ को उपनिर्वाचनका लागि ९ जनाको आवेदनबाट सुलभ खरेललाई पहिलो नम्बरमा राखेको छ।
  • उम्मेदवार छनोटका लागि प्रारम्भिक निर्वाचन, समावेशिता, पोलिटिकल प्रोक्सिमिटी र लिडरसिप एकेडेमीको नतिजा आधार मानिनेछ।
  • रास्वपाले भदौ १५ मा उम्मेदवारको सूची सार्वजनिक गर्ने र असोज २१ मा निर्वाचन आयोगले उम्मेदवारी दर्ता गर्ने कार्यतालिका तय गरेको छ।

२१ साउन, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ मा हुने उपनिर्वाचनमा रास्वपाबाट उम्मेवार हुन इच्छुकहरूको सूची सार्वजनिक गरेको छ । रास्वपाले ७ साउन २१ गतेसम्म आवदेन माग गरेको थियो । यस अवधिभित्र ९ जनाले आवेदन दिएको लुम्बिनी इञ्चार्ज विपिन आचार्यले जानकारी गराए ।

आवेदन दिएकामध्येबाट सुलभ खरेलको नाम पहिलो नम्बरमा राखिएको छ ।

१७ कात्तिकमा हुने उपनिर्वाचनका लागि सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका छन् ।

उम्मेदवार हुन इच्छुकका लागि रास्वपाले २५ हजार शुल्क तोकेको थियो ।

रास्वपाले प्राप्त नामहरुबाट उम्मेदवारको नाम छनोट गर्नेछ । भदौ १५ मा उम्मेदवारको सूची सार्वजनिक गर्ने रास्वपाले कार्यतालिका बनाएको छ ।

आवेदन दिएका को कस्ता ?

रास्वपाले पहिलो नम्बरमा नाम सार्वजनिक गरेका खरेल अमेरिका बस्दै आएका थिए । उनी रुपन्देही–३ बाट निर्वाचन लड्नकै लागि नेपाल आएको चर्चा छ ।

खरेल कानुनका विद्यार्थी हुन् । रवि लामिछानेमाथि लागेको सहकारी ठगीको मुद्दामा उनले अप्रत्यक्ष रुपमा कानुनका विषयहरूमा सहयोग गरेको रास्वपा स्रोत बताउँछन् ।

रास्वपाका नेताहरूसँग उनको उठबस पहिलैदेखि भए पनि पार्टीमा भने सक्रिय थिएनन् ।

त्यस्तै, महर्जन गत आम निर्वाचनमा समानुपातिक उम्मेदवार थिइन् । उनी रास्वपा केन्द्रीय सदस्य हुन् । भैरहवा माइती भई काठमाडौं बस्दै आएकी उनी अहिले उम्मेदवार बन्नकै लागि समानुपातिक सूची आफ्नो नाम हटाएकी हुन् । पार्टी सचिवालयले पनि उनले समानुपातिकको सूचीबाट नाम हटाउन दिएको निवेदन स्वीकृत गरिसकेको छ ।

अर्का निवेदक अर्याल रुपन्देही–३ का सभापति हुन् । उनी निर्वाचन क्षेत्रमा पार्टी संगठन निर्माणमा धेरै खटिने मध्येका अगुवाका रुपमा चिनिन्छन् । सामाजिक संघसंस्थामा पनि क्रियाशील अर्याल राजनीतिक तर्क क्षमता, प्रखर वक्ता मानिन्छन् । उनी मन्टेश्वरी स्कुलका सञ्चालक पनि हुन् ।

सहकारी अभियान्ता ज्ञानु पौडेल भैरहवा निवासी हुन् । पौडेल लुम्बिनी विशिष्टीकृत सहकारीको अध्यक्ष, लुम्बिनी प्रदेशकै ठूलो जनउत्थान सहकारीकी पूर्वअध्यक्ष र केन्द्रीय वचत तथा ऋण सहकारी संघकी केन्द्रीय सदस्य हुन् ।

विगतमा नेकपा एमाले निकट उनी सामाजिक क्षेत्र बढी परिचित छन् ।

जिल्ला कोषाध्यक्ष क्षेत्री भैरहवा निवासी हुन् । उनीहरू दुवै सामाजिक क्षेत्र र महिलामाझ बढी परिचित छन् । डा. लेखजंग थापा न्यूरो सर्जन हुन् । उनको भैरहवामा आफ्नै क्लिनिक छ । पार्टी संगठनमा उनी सक्रिय छन् । थापा गत निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्य पदमा समानुपातिक उम्मेदवार थिए ।

गुप्ता २०७९ को चुनावमा पनि यही क्षेत्रबाट उम्मेदवार थिए । राप्रपाका दीपक बोहराले ३६ हजार ७ सय १७ मत ल्याएर निर्वाचित हुँदा गुप्ताले ५ हजार ७९६ मत ल्याएका थिए ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका कोरहीमाई स्थायी घर भएका उनले स्नातकोत्तरसम्म अध्ययन गरेका छन् ।

पार्थवेन्द्र रुपन्देही क्याम्पस भैरहवाका क्याम्पस प्रमुख थिए । उम्मेदवार बन्नका लागि उनले हिजो (बुधबार) मात्रै पदबाट राजीनामा दिएका छन् ।

उनी अघिल्लो चुनावमा विवेकशील साझा पार्टीबाट रुपन्देही ३ मै संघीय सांसदको उम्मेदवार थिए । उनी नेकपा एमालेका स्वर्गीय नेता धनपति उपाध्यायका छोरा र सिद्धार्थनगरकी उपमेयर उमा अधिकारीका पति हुन् । पार्थवेन्द्र अधिवक्ता पनि हुन्

रचना क्षेत्री पार्टीको जिल्ला कोषाध्यक्ष हुन् । उनी मन्टेश्वरी विद्यालय सञ्चालक हुन् । पुनमकुमारी अग्रवाल नेपालकै ठूलो प्रांगारिक मल उद्योगकी सञ्चालक हुन् ।

उम्मेदवार छनोट विधि

पार्टी सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इञ्चार्ज विपीनकुमार आचार्यका अनुसार उम्मेदवार छनोट विधि अन्तर्गत प्रारम्भिक निर्वाचन (प्राइमरी इलेक्सन) को नतिजाको ५० अंक, समावेशिताको ५ अंक, पोलिटिकल प्रोक्सिमिटीको २० अंक र लिडरसिप एकेडेमीको नतिजाको २५ अंकका आधारमा उम्मेदवारको अन्तिम टुंगो भदौ १५ गते लाग्ने छ ।

आचार्यका अनुसार, प्रारम्भिक सूचिमा परेका उम्मेदवारहरुका विषयमा साउन २३ गते बिहान १० बजेदेखि २४ गते सांझसम्म दावी विरोध र उजुरी गर्न सकिने कार्यतालिका छ ।

साउन २५ गते उम्मेदवारहरूबीच छलफल गराई आपसी सहमति जुटाउन प्रयास गरिने छ । उक्त छलफलबाट  कतिपय उम्मेदवारहरु ब्याक हुन सक्नेछन् । बाँकी रहेका उम्मेदवारको नामावली २६ गते निकालिने छ ।

साउन २७ देखि भदौ ११ सम्म पार्टीले उम्मेदवारहरूको नेतृत्व क्षमता परीक्षण गर्नेछ ।

भदौ १२ गते बिहान ७ बजेदेखि १३ गते साँझ ७ बजेसम्म उम्मेदवार छनोटका लागि पार्टीको मोबाइल एपबाट अनलाइन भोटिङ (प्राइमरी इलेक्सन) हुने पार्टी सहमहामन्त्री आचार्यले जानकारी दिए ।

प्राइमरी इलेक्सनमा सम्बन्धित निर्वाचन क्षेत्रका पार्टी सदस्यको मतदानको ८० अंक, क्षेत्रभित्रका मतदाता रहेका पार्टीका तहगत समिति सदस्यको मतदानको १० अंक र केन्द्रीय समिति सदस्यको मतदानको १० अंकभार रहने छ ।

पार्टी सदस्यको मतदानमा साउन २६ सम्म पार्टी सदस्यता लिएकाले मात्र मतदानमा भाग लिन पाउने सहमहामन्त्री आचार्यले बताए ।

उम्मेदवारको सूची सार्वजनिक गर्दा भएको क्रम संख्याले एक नम्बरमा रहेकालाई बढी प्राथमिकता दिएको र अन्तिमको नामलाई कम प्राथमिकता दिएको अर्थमा बुझ्न नहुने पार्टीका सहमहामन्त्री आचार्यले बताए ।

‘उम्मेदवारको सूची सार्वजनिक गर्दा पहिलो नम्बरमा नाम उल्लेख  भएका र अन्तिममा नाम उल्लेख भएका आकांक्षीको हैसियत एउटै र बराबर हो,’ आचार्यले बताए, ‘प्राइमरी ईलेक्सन र अन्य मापदण्ड र नेतृत्व क्षमताको मूल्यांकनमा जो अगाडी आउनुहुन्छ अन्तिममा उहाँ नै उम्मेदवार हुने हो, त्यसैले आजको सिरियल नम्बर बारे कोही कन्फ्युज हुनुपर्दैन यो नितान्त टेक्निकल कुरा मात्र हो ।’

उम्मेदवार मन नपरे नयाँ प्रक्रिया

प्राइमरी इलेक्सनमा रास्वपाले छनोट भएका उम्मेदवारहरूमध्ये पार्टी सदस्य मतदातालाई कोही पनि मन नपरेको अवस्थामा त्यस विकल्पमा पनि मतदान गर्न पाइने र नयाँ उम्मेदवार ल्याउने विकल्प पनि खुला राखेको छ ।

जसअनुसार मतदानमा नन अफ द एबोभ (कुनै पनि उम्मेदवार मन परेन) भन्ने मत बढी मत आएमा सबै उम्मेदवारहरू स्वत: खारेज गरेर नयाँ प्रकृयाबाट उम्मेदवारको मतदान गराइने आचार्य बताउँछन् ।

पोलिटिकल प्रोक्सिमिटीको २० अंकमा पार्टीमा आबद्धताको मिति, पार्टी निर्माणमा निरन्तरता र सक्रियता, कार्यसम्पादन र निर्वाचन क्षेत्रमा सक्रियता, लोकतान्त्रिक मूल्य मान्यता, सुशासन, सामाजिक क्षेत्रमा योगदान आदि पक्षलाई मूल्यांकन गरिने छ ।

लिडरसिप एकेडेमीको नतिजाको २५ अंकमा राजनीतिक चेत र विचार, सदाचार र नैतिकता, शैक्षिक योग्यता, पेशागत अनुभव, नेतृत्व अनुभव, क्षेत्रको दीर्घकालीन विकासको भिजन (ब्लु प्रिन्ट) लाई मूल्यांकन गरिने सहमहामन्त्री आचार्यले बताए ।

राप्रपाबाट निर्वाचित दीपक बोहराको निधन भएपछि रूपन्देही–३ मा आगामी कात्तिक १७ गते उपचुनाव हुन लागेको हो ।

निर्वाचन आयोगले असोज २१ गते उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

इलाम र बाराको उपचुनावमा नराम्रो हार ब्यहोरेको रास्वपाले यहाँको उपचुनाव जितेर पार्टीको साखलाई फर्काउने रणनीतिका रुपमा लिएको छ ।

पार्टी सभापति रवि लामिछाने सहकारी ठगी अभियोगमा यही क्षेत्रको भैरहवा कारागारमा रहेकाकाले पनि रास्वपाले यहाँ हुने चुनावलाई प्रतिष्ठाको विषय बनाएको छ ।

लामिछाने स्वयंले ०८४ को निर्वाचनका लागि पूर्वसन्देश दिनेगरी नतिजा निकाल्न नेता–कार्यकर्तालाई निर्देशित गरिरहेका छन् ।

रास्वपा रुपन्देही ३ का सभापति मधु प्रसाद अर्यालले पुराना दलहरुमा चुनावको टिकट पैसामा किनबेच हुने परिपाटीकै कारण भ्रष्टाचार र बेथिति मौलाएको भनेर रास्वपाले उम्मेदवार छनोटको वैज्ञानिक विधि तय गरेकाले त्यो विधिको अक्षरश: पालनाबाट उम्मेदवार छनोट हुने बताउँछन् ।

‘अरु दलले लागू गर्न नसकेको वैज्ञानिक विधिबाट पार्टीले उम्मेदवार छनोट गर्दा मतदाता पनि सन्तुष्ट हुन्छन्, यसपटक विधिलाई पूर्णत पालना गरेर देखाउने हो’, अर्यालले भने, ‘विधिबाट सबैभन्दा धेरै अंक पाएर पहिलो हुनेलाई दोस्रो भएकाले प्रस्तावक बनेर निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गराउने परिपाटी रास्वपाले यसपटक कार्यान्वयन गर्छ ।’

पार्टीले सुरू गरेको हस्ताक्षर अभियान पनि चुनाव प्रचारसँगै जोडिएको छ ।

‘पार्टी सदस्यता अनलाइनबाटै लिन सकिने भएकाले लिएका हुन सक्छन् तर कुनै समितिमा रहेको हामीलाई जानकारी छैन’, ती नेताले भने, ‘अहिले चुनाव आएकाले क्रियाशिल देख्न सकिन्छ, उम्मेदवारको आकांक्षी पनि हुन पाउनुहुन्छ, यसलाई स्वभाविक मान्नुपर्छ।’

को– को बन्दैछन् उम्मेदवार ?

रुपन्देही–३ मा हालसम्म बुटवल मोतिपुरका लेखनाथ गैरे, भैरहवाका अजयकुमार गुप्ता र किरण विकले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । तर उनीहरुको चुनावी गतिविधि बाहिर देखिएको छैन । राष्ट्रिय जनमोर्चाले बद्रे आलमलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

उता काठमाडौंका मेयर बालेन शाहका परराष्ट्र तथा खाद्य सल्लाहकार सन्तोष गिरीले भदौ १३ गते औपचारिक समारोहबीच उम्मेदवारी घोषणा गर्ने बताएका छन् । तिलोत्तमा–६ का स्थायी बासिन्दा उनी दोस्रो चरणको घरदैलोमा व्यस्त छन् ।

संघीय लोकतान्त्रिक मोर्चाबाट नागरिक उन्मुक्ति पार्टीले धनिराम चौधरी, डा. सरोजसिंह चौधरी, राकेश कोइरी र अर्का एकजनालाई सिफारिस गरेको छ ।

चारजनामध्ये एकजनाको नाम गोप्य राख्ने पार्टीमा निर्णय भएको जिल्ला अध्यक्ष तुल्सी चौधरीले बताए ।

रुपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय सदस्यद्वय स्वाती थापा र बसन्तविक्रम शाही, रुपन्देही अध्यक्ष सागरप्रताप राणा, स्वर्गीय दीपक बोहराका छोराहरू गौरव बोहरा र प्रज्ज्वल बोहरा तथा जिल्ला नेता दिलिप मल्लिकको नाम सिफारिस गरेको छ ।

उपचुनावमा नेपाली कांग्रेसबाट बालकृष्ण खाँण, प्रमोद यादव, रामचन्द्र ढकाल, रमेश खनाल लगायतको नाम चर्चामा छ । तर नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर थुनामा परी रिहा भएका खाँण उम्मेदवारी दर्ताको समयसम्म मुद्दाको किनारा लागे मात्रै उम्मेदवार बन्ने अन्यथा नबन्ने उनी निकटहरू बताउँछन् ।

एमालेबाट पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, व्यवसायी शशि पौडेल उम्मेदवार बन्ने चर्चा छ । माओवादी केन्द्रसहितका विपक्षी दलबाट उम्मेदवारका आकांक्षी अझै खुलेका छैनन् । तर एकीकृत समाजवादीका युवा नेता एवं अस्पताल व्यवसायी कमल भण्डारी उम्मेदवार बन्ने चर्चा छ ।

यस्तो छ विगतको नतिजा

रूपन्देही–३ मा १ लाख ३९ हजार ७६४ मतदाता छन् ।

२०७९ सालको चुनावमा ९० हजार मत खसेको थियो । जसमा समानुपातिकतर्फ नेपाली कांग्रेसले २० हजार २७८ मत पाएको थियो । एमालेले १६ हजार ९८६ मत पाउँदा रास्वपाले १४ हजार १५४ र राप्रपाले ९ हजार १८३ मत पाएको थियो ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ६ हजार र जसपा नेपालले ५ हजार मत पाएको थियो । लोसपाले ५ हजार, जनमत पार्टीले ३ हजार ७०० मत पाएका थिए ।

अहिले सातदलीय मोर्चामा हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टी, तमलोपा र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी समेत थपिएका छन् । जनमत पार्टी समेतको  मत जोड्दा रूपन्देही ३ मा संघीय  लोकतान्त्रिक मोर्चा सबैभन्दा ठूलो शक्ति देखिन्छ । तर जनमत मोर्चामा सहभागी नहुने संभावना बढ्दो छ ।

यो क्षेत्रमा माओवादी केन्द्रले २ हजार ६००, जनमुक्ति पार्टीले १ हजार ९००, हाम्रो नेपाली पार्टी (लौरो)ले १ हजार ३४७ र नेकपा एकीकृत समाजवादीले ७८१ मत पाएका थिए ।

२०७९ मा एमालेसँगको गठबन्धनबाट राप्रपाका दीपक बोहरा ३६ हजार ७१७ मत पाएर विजयी भएका थिए । उक्त चुनावमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण २ हजार ६८१ मतले पराजित भएका थिए । खाँणले ३४ हजार ३६ मत पाएका थिए । उक्त चुनावमा कांग्रेसले माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलसँग गठबन्धन गरेको थियो ।

यो क्षेत्रमा नेपाल–भारत सीमा क्षेत्र बेलहिया नाकादेखि बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९, शुद्धोधन गाउँपालिका र सिद्धार्थनगर नगरपालिकाका सबै वडा, सियारी गाउँपालिकाको वडा नम्बर १ देखि ३, ६ र ७, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, मायादेवी गाउँपालिकाको वडा नम्बर ७ र ८, तिलोत्तमा नगरपालिकाको वडा नम्बर १३ र १४ र बुटवल उपमहानगरपालिकाको वडा नम्बर १४ देखि १९ वडा समेटिएको छ ।

२०७४ सालमा नयाँ भूगोल समेटेर क्षेत्र नम्बर ३ बनेपछि एमालेका घनश्याम भुसाल र २०७९ मा पुन: राप्रपाका दीपक बोहरा एमालेको समर्थनमा विजयी भएका थिए ।

२०७४ सालमा नेपाली कांग्रेसले दीपक बोहरालाई उम्मेदवार बनाएर बालकृष्ण खाँणलाई समानुपातिक सांसद बनाएको थियो । घनश्याम भुसालले ३२ हजार ८६६ मत ल्याएर जिते भने बोहराले २७ हजार ४२२ मत ल्याएका थिए । त्यतिबेला एमाले र माओवादी केन्द्र मिलेर चुनाव लडेका थिए ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?