
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई राजीनामा दिन निर्देशन दिने निर्णय गरेको छ।
- कुलिङ अफ पिरियडमा भएको चलखेलमा खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने संसदीय समितिले ठहर गरेको थियो।
- सभापति देउवा पनि खतिवडालाई समिति सभापतिबाट पदमुक्त गर्नुपर्ने पक्षमा देखिनुभएको छ।
२३ साउन, काठमाडौं । नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई राजीनामा दिन निर्देशन दिने भएको छ ।
संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडमा भएको चलखेलमा समिति सभापति खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने संसदीय छानबिन विशेष समितिले ठहर गरेको थियो । कांग्रेस सहमहामन्त्री जीवन परियारको नेतृत्वमा गठित छानविन समितिले खतिवडा जिम्मेवार रहेको प्रतिवेदन पेश गरेको थियो ।
राज्य व्यवस्था समितिबाट पारित भएको विधेयकमा व्यवस्था गरिएको कुलिङ अफ पिरियडको व्यवस्था निष्कृय हुने गरी प्रतिनिधि सभाबाट पास भएपछि खतिवडा विवादमा परेका थिए । खतिवडाले पदबाट राजीनामा दिनुपर्ने विचार पार्टीभित्र र बाहिरबाट आइरहेको छ ।
कांग्रेस स्रोतका अनुसार खतिवडालाई राजीनामा दिनका लागि पार्टीले १/२ दिनमा निर्देशन दिने भएको छ । खतिवडालाई समिति सभापतिबाट राजीनामा दिने गरी निर्देशन दिनका लागि पार्टी शीर्ष नेतामा समेत सहमति बनेको सभापति देउवा निकट एक शीर्ष तहका नेताले जानकारी दिए । ‘पार्टीका उपल्लो तहका नेताहरुमा सहमति जस्तै बनिसकेको छ । सभापति शेरबहादुर देउवा पनि रामहरि खतिवडालाई समिति सभापतिबाट पदमुक्त गर्नुपर्ने पक्षमा देखिनु भएको छ,’ ती नेताले अनलाइनखबरसँग भने ।
प्रतिक्रिया 4