
News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ मा व्यावसायिक मौरीपालनमा सुलसुलेको सङ्क्रमण देखिएपछि ८० प्रतिशत मौरी मरेका छन्।
- मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अमगाईंले सुलसुलेले मौरीको श्वासनलीमा असर पुर्याउने र पक्षघात जस्तै लक्षण देखिने बताए।
- चितवनमा करिब ५५० मौरीपालकले १६ हजार ५०० भन्दा बढी घारमा मौरीपालन गर्दै वार्षिक ५७० मेट्रिकटन मह उत्पादन गर्दै आएका छन्।
२३ साउन, चितवन। पूर्वी चितवनमा व्यावसायिक मौरीपालन गरेको ठाउँमा माइट (सुलसुले)को सङ्क्रमण देखिएपछि मौरी मर्न थालेका छन् । रत्ननगर नगरपालिका–५ का किसान दीपक रिमालले पाल्नुभएको एपिस मेलिफेरा जातका मौरीमा सुलसुलेको सङ्क्रमण देखिएको हो ।
रिमालका अनुसार विगत पाँच दिनदेखि मौरीमा समस्या देखिन थालेको हो । उनले भने ‘मौरी उड्न खोज्छन् तर उड्न नसकेपछि भुइँमा झरी उत्तानो परेर मर्ने गरेका छन्।’ अहिलेसम्म चारवटा घारका ८० प्रतिशत मौरी मरिसकेका जनाउँदै उनले मौरी कमजोर भएर काम्ने र मर्ने क्रम बढेको बताए ।
मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अमगाईंका अनुसार रिमालको फार्ममा रहेका चारवटा घारमा सुलसुलेको सङ्क्रमण देखिएको हो । उनले ती घारमा देखिएको सुलसुले एकराइन प्रजातिको भएको बताउँदै उनले भने, ‘एकराइनको सङ्क्रमणले मौरीको श्वासनलीमा असर गर्दछ।’
यसको सङ्क्रमणबाट मौरी उड्न नसक्ने, कमजोर भएर पखेटालाई ‘के’ आकारको फिजाएर बस्ने गर्दछ । यो सुलसुलेले मौरीको भित्री भागको रस चुसेर कमजोर बनाउने उहाँले जानकारी दिए । उनले भनरे, ‘यो सुलसुलेले पक्षघातको लक्षण उस्तै देखिने भएकाले छुट्याउन कठिन हुने छ।’
जिल्लामा यो समस्या हरेक वर्ष देखिने गरेको जनाउँदै मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख अमगाईंले मौरीमा सुलसुलेको सङ्क्रमण र लक्षण देखिने वित्तिकै औषधिको प्रयोग गर्नुपर्ने बताए । यो सङ्क्रमण नाङ्गो आँखाले देख्न नसकिने भएकाले अरु मौरीमा सर्न नदिनका लागि सङ्क्रमित मौरीलाई छुट्टै आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने उनले उल्लेख गरे ।
हाल चितवनमा करिब ५५० मौरीपालक कृषकहरूले १६ हजार ५०० भन्दा बढी घारमा मौरीपालन गर्दै आएका छन् । यहाँका किसानले दाङ, प्यूठान, सल्यान, बर्दिया, कपिलवस्तु रुपन्देही, नवलपरासी, रौतहट, मकवानपुर, सर्लाही, महोत्तरीलगायत जिल्लामा मौरी चराउन लैजाने प्रमुख अमगाईंले बताए ।
उनका अनुसार जिल्लामा वार्षिक रूपमा ५७० मेट्रिकटन मह उत्पादन हुँदै आएको छ । यहाँ एपिस मेलिफेरा र एपिस सेरेना गरी दुई जातका मौरीको व्यावसायिक पालन हुँदै आएको उहाँले जानकारी दिए ।
प्रतिक्रिया 4