+

चिन्ताले पार्छ शरीरमा यस्ता प्रभाव, कति घातक ?

२०८२ साउन  २८ गते १०:४० २०८२ साउन २८ गते १०:४०
Shares
चिन्ताले पार्छ शरीरमा यस्ता प्रभाव, कति घातक ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिन्ताले शरीरमा लामो समयसम्म रहँदा मानसिक र शारीरिक स्वास्थ्यमा गहिरो असर गर्छ र पुरुषको तुलनामा महिलामा बढी पाइन्छ।
  • चिन्ताले केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्दै तनाव हर्मोनहरू निष्कासन गराउँछ जसले टाउको दुख्ने, चक्कर लाग्ने र डिप्रेसन जस्ता लक्षणहरू देखाउँछ।
  • चिन्ताले मुटुको धड्कन बढाउँछ, छाती दुखाइ र उच्च रक्तचाप निम्त्याउँछ भने पाचन र रोग प्रतिरोधी प्रणालीलाई पनि कमजोर बनाउँछ।

सामान्यतया चिन्ता भन्नाले कुनै पनि विषय, घटना, परिस्थिति तथा अवस्थाप्रति लामो समयसम्म सोचमा रहिरहने डर मिश्रित आवस्था हो । हरेक व्यक्तिले चिन्ताको अनुभव गर्छन्, तर दीर्घकालीन चिन्ताले जीवनको गुणस्तरलाई प्रभावित गर्न सक्छ ।

चिन्ताको कारणले व्यवहारमा परिवर्तन त आउँछ नै, जसले गर्दा शारीरिक स्वास्थ्यमा पनि प्रभाव पर्न सक्छ। यस्तोमा चिन्ताले शरीरमा कस्तो प्रभाव पार्छ र यसले कस्ता–कस्ता समस्याहरू निम्त्याउन सक्छ ?

चिन्ताको शरीरमा प्रभाव

चिन्ताले शरीरमा प्रभाव पार्नुको कारण यो हाम्रो जीवनको हिस्सा बन्नु हो । उदाहरणका लागि, कुनै अन्तर्वार्ता वा प्रस्तुतिअघि चिन्ता महसुस हुन सक्छ ।  छोटो समयका लागि चिन्ताले मुटुको धड्कन र सास फेर्ने गति बढाउन सक्छ ।

रक्तप्रवाहलाई मस्तिष्कमा केन्द्रित गर्न सक्छ, जहाँ यसको आवश्यकता हुन्छ । यो कुनै परिस्थितिका लागि तयार गर्ने शारीरिक प्रतिक्रियाहरू हुन् ।  यदि यी धेरै तीव्र भए भने, टाउको हल्का हुने वा वान्ता हुने जस्ता लक्षणहरू पनि देखिन सक्छन् ।

चिन्ता धेरै बढ्दा र लामो समयसम्म रहँदा यसले मानसिक र शारीरिक स्वास्थ्यमा गहिरो असर गर्छ । चिन्ता विकार जीवनको कुनै पनि चरणमा हुन सक्छ, तर यो सामान्यतया मध्य उमेरमा सुरु हुन्छ । पुरुषको तुलनामा महिलाहरूमा चिन्ता विकार बढी पाइन्छ ।

तनावपूर्ण जीवन अनुभवले चिन्ता विकारको जोखिम बढाउन सक्छ र शरीरमा चिन्ताको प्रभाव झन् बढ्दै जान्छ । लक्षणहरू तुरुन्तै वा केही वर्षपछि देखिन सक्छन् ।  गम्भीर चिकित्सीय अवस्था वा मादक पदार्थको प्रयोगले पनि चिन्ता विकारको कारण बन्न सक्छ ।

केन्द्रीय स्नायु प्रणालीमा चिन्ताको प्रभाव

चिन्ताले शरीरमा प्रभाव पार्दा सबैभन्दा पहिले स्नायु प्रणालीलाई कसरी प्रभावित गर्छ भन्ने जान्नु जरुरी छ । लामो समयसम्म रहने चिन्ता र आतंकको आक्रमणले मस्तिष्कलाई नियमित रूपमा तनाव हर्मोनहरू निष्कासन गर्न प्रेरित गर्छ ।  यसले टाउको दुख्ने, चक्कर लाग्ने र डिप्रेसन जस्ता लक्षणहरू छिटो र धेरै देखिन थाल्छन् ।

जब हामी चिन्तित र तनावग्रस्त महसुस गर्छौं, मस्तिष्कले स्नायु प्रणालीलाई हर्मोन र रसायनहरूले भरिदिन्छ जुन खतराको जवाफ दिन डिजाइन गरिएका हुन्छन् । एड्रेनालिन र कोर्टिसोल यस्ता दुई उदाहरण हुन् ।

कहिलेकाहीँ तनावले कुनै काम गर्न सहयोगी हुन सक्छ, तर लामो समयसम्मको तनाव शारीरिक स्वास्थ्यका लागि हानिकारक हुन्छ । कोर्टिसोलको लामो समयसम्मको सम्पर्कले तौल बढ्न सक्छ । त्यसैले भनिन्छ  चिन्ताको शरीरमा प्रभाव नराम्रो हुन्छ ।

मुटुमा चिन्ताको प्रभाव

चिन्ताको प्रभाव केवल केन्द्रीय स्नायु प्रणालीमा मात्र सीमित छैन, यसले मुटुलाई पनि प्रभावित गर्छ ।  चिन्ता विकारले मुटुको धड्कन बढाउँछ ।  यसले छातीमा दुखाइ, धड्कनको अनियमितता पनि निम्त्याउन सक्छ । उच्च रक्तचाप र मुटु रोगको जोखिम पनि बढ्छ । यदि कसैलाई पहिलेदेखि नै मुटु रोग छ भने, चिन्ता विकारले कोरोनरी हार्ट डिजिजको जोखिम बढाउन सक्छ ।

पाचन प्रणालीमा चिन्ताको प्रभाव

चिन्ताले हाम्रो पाचन प्रणालीलाई पनि नराम्ररी प्रभावित गर्छ ।  यसले पेट दुख्ने, वान्ता हुने, झाडापखाला र पाचनसँग सम्बन्धित अन्य समस्याहरू निम्त्याउँछ । भोक कम हुने जस्ता समस्याहरू पनि हुन सक्छन् ।  चिन्ता विकार र इर्रिटेबल बाउल सिन्ड्रोम  बीच पनि सम्बन्ध हुन सक्छ । इरिटेबल बाउल सिन्ड्रोमले वान्ता, झाडापखाला र कब्जियत निम्त्याउँछ ।

रोग प्रतिरोधी प्रणालीमा चिन्ताको प्रभाव

चिन्ताको प्रभावले रोग प्रतिरोधी प्रणाली कमजोर हुन सक्छ । छोटो अवधिमा, यसले मुटुको धड्कन र सास फेर्ने गति बढाउँछ, जसले मस्तिष्कमा धेरै अक्सिजन पुग्छ । यो तीव्र परिस्थितिका लागि उपयुक्त प्रतिक्रिया दिन तयार गर्छ ।

यसले हाम्रो रोग प्रतिरोधी प्रणालीलाई छोटो समयका लागि बलियो बनाउन सक्छ ।  कहिलेकाहीँ तनावबाट गुज्रिएपछि हाम्रो शरीर सामान्य अवस्थामा फर्किन्छ ।

तर यदि  बारम्बार चिन्तित र तनावग्रस्त महसुस हुन्छ वा यो लामो समयसम्म रहन्छ भने, शरीरलाई सामान्य अवस्थामा फर्कने संकेत प्राप्त हुँदैन । यसले रोग प्रतिरोधी प्रणालीलाई कमजोर बनाउँछ, जसले गर्दा भाइरल संक्रमण र बारम्बार हुने रोगहरूको चपेटमा पर्न सकिन्छ । साथै, यदि व्यक्ति चिन्ताबाट ग्रस्त छ भने, नियमित खोपहरूले पनि काम नगर्न सक्छ ।

श्वासप्रश्वास प्रणालीमा चिन्ताको प्रभाव

चिन्ताले श्वासप्रश्वास प्रणालीलाई पनि गम्भीर रूपमा प्रभावित गर्छ ।  चिन्ताले तीव्र सास फेर्ने गराउँछ ।  यदि क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी रोग छ भने, चिन्तासँग सम्बन्धित जटिलताहरूले अस्पताल भर्ना हुने जोखिम बढाउन सक्छ । चिन्ताले दमका लक्षणहरूलाई पनि झन् खराब बनाउन सक्छ ।

चिन्ताका अन्य प्रभावहरू

-मांसपेशीमा दुखाइ वा तनाव

-अनिद्रा

-सामाजिक दूरी

-घबराहट

-डिप्रेसन

-टाउको दुखाइ

चिन्ता विकारका प्रकारहरू

सामान्यीकृत चिन्ता विकार  :  यो विकारमा व्यक्ति कुनै तार्किक कारण बिना धेरै तनाव महसुस गर्छ ।

सामाजिक चिन्ता विकार  : यो विकारमा सामाजिक परिस्थितिहरू र अरूले मूल्यांकन गर्ने वा अपमानित हुने डर समावेश हुन्छ।

पोस्ट–ट्रमाटिक स्ट्रेस डिसअर्डर   : कुनै दुखद् घटनालाई देखेपछि वा अनुभव गरेपछि यो विकार विकास हुन्छ ।

अब्सेसिभ कम्पल्सिभ डिसअर्डर  : यो विकारमा प्रभावित व्यक्ति कुनै कुरालाई बारम्बार गर्ने इच्छा गर्छ, जस्तै हात धुने, गन्ने ।

प्यानिक डिसअर्डर  : यसमा प्यानिक अट्याक,  सहज चिन्ताको भावना, डर आदि हुन्छ ।

चिन्ता
डा. सुमनप्रसाद अधिकारी
लेखक
डा. सुमनप्रसाद अधिकारी
वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ

अध्ययन : एमबीबीएस, एमडी नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ९१२० हाल काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

चिन्ताले पार्छ शरीरमा यस्ता प्रभाव, कति घातक ?

चिन्ताले पार्छ शरीरमा यस्ता प्रभाव, कति घातक ?

अस्पतालमा दिइने सुईको आविष्कार कसरी भयो ? जानौं इतिहास

अस्पतालमा दिइने सुईको आविष्कार कसरी भयो ? जानौं इतिहास

कुन उमेरमा गर्भधारण गर्दा के-के हुन्छ फाइदा, बेफाइदा ?

कुन उमेरमा गर्भधारण गर्दा के-के हुन्छ फाइदा, बेफाइदा ?

अस्पतालैपिच्छे रहेका विकास समिति पुनर्संरचना गर्नुपर्छ

अस्पतालैपिच्छे रहेका विकास समिति पुनर्संरचना गर्नुपर्छ

मानसिक स्वास्थ्यका लागि अदृश्य औषधि

मानसिक स्वास्थ्यका लागि अदृश्य औषधि

सर्पले मस्तिष्कबाट जति नजिक टोक्यो त्यति छिटो शरीरमा विष फैलिन्छ

सर्पले मस्तिष्कबाट जति नजिक टोक्यो त्यति छिटो शरीरमा विष फैलिन्छ